बाह्रदशीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

0
899

विनोद सापकोटा,
झापा।

प्रतिनिधिसभा विघटनको विरोधमा झापाको बाह्रदशी गाउँपालिकामा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको बाह्रदशी गाउँ समिति सभापति मिलन बस्नेतको नेतृत्वका विद्यार्थीहरुले गाउँपालिकाको ठूलो बजार राजगढमा पुतला दहन गरेका हुन् । यस अघि राजगढ बजार परिक्रमा गर्दै विद्यार्थीले राको सहितको जुलुस निकालेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम विरुद्ध विद्यार्थीहरु सडकमा आएका हुन् । राष्ट्रपति भण्डारी को पछिल्लो कदम विरुद्ध झापामा पहिलो पटक बाह्रदशी गाउँपालिका का विद्यार्थीहरु सडकमा आएका हुन् ।

विद्यार्थीले उक्त कदम सच्याउन राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् । दलगत स्वार्थमा प्रधानमन्त्री केपी शर्मा ओली लागेर संविधानको चीरहरण गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी सङ्घका बाह्रदशी गाउँ सभापति बस्नेतले निहित स्वार्थकालागि राष्ट्रपति भण्डारीले नागरिकतासम्बन्धी जारी गरेको अध्यादेश पनि नेपाल र नेपालीको हितमा नरहेको पनि बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले गएको शुक्रबार मध्यराति संसद् विघटन गरेकी थिइन् ।

भण्डारी र ओलीको कदमको विरोधमा कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here