गौतम बुद्धले दिएको शिक्षाको महत्व

0
2130

 


राष्ट्रिय विभूतिको रुपमा सम्मानित गौतम बुद्धलाई भगवान मान्ने र उनको मूर्ति बनाएर पूजा गर्ने करोडौं अनुयायी छन् । उनले जीवनमा सबैभन्दा बढी बिरोध गरेको विषय हिंसा र मूर्ति पूजा हो । तर, आज संसारमा उनकै सबैभन्दा अग्ला र धेरै मूर्तिहरु छन् । अर्कातिर बुद्धलाई एक महान दार्शनिक र लोभ, मोह, अहंकार, काम र क्रोधको मायारुपी संसारदेखिमाथि उठेका महामानवका रुपमा बुझ्नेहरुको ठूलो पंक्ति पनि छ ।

हुन त सुकरात, प्लेटो, एरिस्टोटल आदि दार्शनिकलाई देवत्वकरण गरिएन, तर बुद्धलाई देवत्वकरण र मूर्तिकरण गरिएकाले उनका शिक्षालाई सृजनशील रुपमा नभएर अन्धानुकरण गर्ने परम्पराको शुरुवात भयो र आज धर्मको रुपमा बुद्ध धर्म संसारभरि स्थापित छ । संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा बैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) बैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२देखि सार्वजनिक बिदा दिइँदै आएको छ । शाक्य मुनि गौतम बुद्धले यति धेरै ख्याति कमाए, उनलाई जादुमयी भगवानको रुपमा मान्नेहरु उनी एक सरल, निष्कपट, सत्यवादी मानव हुन् भन्ने सच्चाइलाई सजिलै ग्रहण गर्दैनन् । उनको प्रसिद्धिकै कारण उनको जन्मस्थानका बारेमा विवाद सृजना गरेर धार्मिक पर्यटनका लागि गलत भ्रम छरिँदै गरेको यथार्थकाबीच २ हजार ६ सय ६५ वर्षअघि लुम्बिनीमा जन्मेका यी महापुरुषलाई नेपालले राष्ट्रिय विभूतिको सम्मान दिएको र उनलाई नेपालमै जन्मेका अनेकौं मञ्चबाट पुष्ट्याइँ गर्ने कार्य भइरहेको छ । खासमा बुद्ध ध्यानशील तथा एकान्तप्रेमी दार्शनिक हुन् । उनको दर्शन आफ्ना अनुयायीलाई दिएको शिक्षामा आधारित छ ।

त्यही शिक्षा साढे दुई हजार वर्षमा भारतीय उपमहाद्वीप हुँदै मध्य, पूर्वी र दक्षिण–पूर्वी जम्बु महाद्वीपसम्म धर्मका रूपमा फैलियो र विश्वको चौथो ठूलो धर्म बन्न पुगेको छ अहिले । बुद्ध दर्शनमा रहेका प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, पेशागत हकहित, समानता, समता र मानवीय मूल्य आधुनिक विश्वले स्वीकार गरेको छ । बौद्ध धर्ममा पञ्चशीलको ज्यादै ठूलो महत्व रहन्छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वारको रुपमा लिइन्छ । यस अनुसार बुद्धको मार्गमा हिंड्नको लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति÷पत्नी बाहेक अरुसँग नलाग्ने ( भिक्षुहरुले चाहिँ कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ । पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने विधि लेखिएको छैन । साथै, यी नियमहरु पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित गर्ने (वा नर्कमा जाने) पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रुपमा छोडिएको छ । गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्यमुनि गौतम बुद्ध पनि भनिन्छ । बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान छैन ।

उनको महान् सन्देश हो, आफ्नो उज्यालो आफैँ बन र आफँैमा मानवता खोज । शान्तिको खोजमा छट्पटाइरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक पनि छ । संयुक्त राष्ट्र संघले समेत बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ । यसलाई शान्ति, मैत्री र करुणाको सन्देश दिने सामाजिक र मौलिक दर्शनका रूपमा प्रेरक दर्शनको मान्यताप्राप्त छ विश्वमा । नेपालमा बुद्ध धर्मको अटुट परम्परा रहेको छ र बौद्ध ग्रन्थको भण्डारका रूपमा नेपाल विश्वमै परिचित छ । बौद्ध धर्म, दर्शन, साहित्य, कला, संस्कृति र इतिहासको अध्ययन, अध्यापन, अनुसन्धान र अभ्यासको बढोत्तरी आवश्यक छ नेपालमा । नेपाल परम्परागत बौद्ध शिक्षा, बौद्ध कला, संस्कृति आदिमा विविधताका साथ धनी छ । आज हामी नेपालीले मनन गर्ने कुरा के हो भने बुद्धका असल मार्गमा हिँडेर मुलुकमा शान्ति र समृद्धि कायम गर्न आवश्यक छ । विश्वमा १ अर्ब ५० करोडभन्दा बढी बौद्धमार्गी छन् । तिनीहरूको एक प्रतिशत मात्र बुद्धको जन्मथलो आइपुगे पनि मुलुककै समृद्धिको ढोका खुल्ने स्थिति छ । बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत छ ।

लुम्बिनीसहित भारतका कुशीनगर, बोधगया र वाराणसी (सारनाथ)लाई चारधाम मान्छन् बौद्धमार्गी । बुद्ध दर्शन नेपाल र नेपालीको समृद्धिको कारक बन्न सक्नेछ । बुद्धका दर्शन विश्वशान्तिका लागि मार्गदर्शक हुन सक्छन् । हतियारमोहका कारण शक्तिराष्ट्रहरु युद्धको भीमकाय तयारीमा लागेका छन् । वास्तवमा अमेरिका लगायत शक्तिराष्ट्रहरु क्रोध, लोभ, अहंकार लगायतका नकारात्मकताको शिकार भएका हुन् । उनीहरु विश्वशान्तिको बाधक बनिरहेका छन् । बौद्ध दर्शनको अझै बढी प्रचारप्रसार हुन सके विश्वमा शान्ति स्थापना गर्न अझ सहज हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here