शव व्यवस्थापनमा सेनालाई चुनौति

0
935

पार्थ मण्डल
भद्रपुर, दोस्रो लहर नयाँ भेरियन्टको कोरोना भाइरसका कारण झापा जिल्लामा पछिल्लोपटक दिनहुँ सङ्क्रमितको मृत्यु भइरहेको छ ।
जिल्ला तथा जिल्लाबाहिरका सङ्क्रमितको मृत्यु भएपछि सङ्क्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाको शव व्यवस्थापन टिम दिनरात खटिरहेको छ । सेनालाई शव व्यवस्थापनमा समस्यासँगै चुनौतिको पनि त्यत्तिकै सामना गर्नु परिरहेको छ ।
शव व्यवस्थापन गर्न जाने सेनाको टिमलाई सहयोग वा खर्च दिनुपर्छ भन्दै झापामा बिचौलियाहरू सक्रिय बनेपछि नेपाली सेनाले त्यसको पनि सामना गर्नु परिरहेको श्री नयाँ श्रीनाथ गण चारआलीका कर्णेल अमर जङ्ग थापाले बताए । बिचौलियाका घटना ः श्री नयाँ श्रीनाथ गण चारआलीका कर्णेल थापाका अनुसार महिना दिनअघि बिर्तामोडमा एक संक्रमित व्यक्ति मृत्य पश्चात् सेनाको टिमले शव व्यवस्थापन ग¥यो ।

सेनाले शव व्यवस्थापन गरेपछि सङ्क्रमितका परिवारजनबाट त्यहाँका केही बिचौलियाले १२ हजार लिएको जानकारी प्राप्त भयो । ‘उक्त घटना सेनालाई जानकारी भएपछि हामीले संक्रमित परिवारसँग रकम लिएको घटना बारे बुझ्न खोज्यौँ, तर सङ्क्रमितको परिवारले बिचौलियाको नाम भन्न चाहेनन्’– उनले भने । त्यस्तै दमकमा पनि एक सङ्क्रमितको मृत्यु भएपछि तिनका परिवारजन शव व्यवस्थापनका लागि सेनाको सम्पर्कमा आयो ।

मृतकका परिवारले सेनालाई फोन गर्दै भनेका रहेछन्– ‘तपाँईहरु शव व्यवस्थापन गर्न आउँदा पैसा दिनुपर्छ रे ? कति पैसा दिनुपर्छ ? हामीलाई त यहाँका केही मान्छेले सेनालाई पैसा दिएनन् भने शव व्यवस्थापन गर्न आउँदैन भनेको रहेछ ।’ यी भनाइलाई पुष्टि गर्दै कर्णेल थापाले भने– ‘बिचौलियाहरूले सेनालाई बदनाम गराउन खोजिरहेको छ, हामीले शव व्यवस्थापन गर्दा पैसा त टाढाको कुरा एक कप चिया पनि पीडित परिवारबाट खाँदैनौँ ।’

‘केही दिनअघि कनकाई नगरपालिकामा पनि एक संक्रमित व्यक्तिको मृत्यु पश्चात् उनका परिवारजनले पनि तपाईँहरूलाई कति खर्च दिनुपर्छ भन्दै सम्पर्क गरेको रहेछ’– कर्णेल थापाले भने– ‘सेनालाई यसरी फोन आउँदो रहेछ, भनेपछि बिचौलियाहरू जिल्लामा कति सक्रिय रहेछन्, हामीले पनि यस विषयमा आन्तरिक छानबिनसँगै अनुसन्धान थालेका छौँ ।’ सेनाले शव व्यवस्थापनको नाममा कसैसँग आशा र अपेक्षा राख्दैन । कसैले सेनाको नाममा पैसा माग्यो भने तत्काल सेना वा प्रहरीलाई सम्पर्क गर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् ।

यस्तो छ सेनालाई चुनौति

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँदाको पीडा जति आफन्तजनलाई छ, त्यति नै भोगाइ र पीडा सहेर नेपाली सेना अहिले सङ्क्रमितको शव व्यवस्थापन कार्यमा जुटेको छ । कोरोनाबाट मृत्यु भएका पुरुष वा महिलालाई सेनाको शव व्यवस्थापन टिमले कानूनी, व्यवहारिक र धार्मिक रुपमा सम्मानका साथ सङ्क्रमितको शवलाई दाहसंस्कार गर्दै आइरहेको छ । सङ्क्रमितको शव व्यवस्थापन सहज र सजिलो कतिपय मानिसलाई लाग्न सक्छ । तर, सेनाले ४० डिग्री घाम होस् वा चट्याङ, हावाहुरीसँगै अविरल वर्षा किन नहोस् जस्तोसुकै मौसमको सामनाका बिच जिल्लामा दैनिक शव व्यवस्थापन गर्दै आइरहेको श्री नयाँ श्रीनाथ गण चाराआलीका कर्णेल थापाले बताए ।
सेनाले जिल्लाको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मका १५ वटै स्थानीय तहहरूमा पुगेर शव व्यवस्थापन गर्दै आइरहेको कर्णेल थापाको भनाइ छ । शव व्यवस्थापन कार्यमा पालिकाहरूसँग सेनाको समन्वय नहुने, शव वाहन ढिला गरी उपलब्ध हुने जस्ता कारणले मृतक परिवार र आफन्तजनहरूको गुनासाहरू सेनाले खेप्नु परेको उनले सुनाए ।
सेनाले शव व्यवस्थापनमा दक्ष जनशक्ति खटाउने गरेको छ । ‘सेनालाई स्वास्थ्य सम्बन्धी सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउँछ, शवलाई गाड्ने वा जलाउनेदेखि शवलाई कहाँ पु¥याउने, त्यसका लागि शव बाहन, एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित पालिकाहरूले गर्नुपर्ने हुन्छ’– उनले भने– ‘साथै मृतकको पीसीआर रिपोर्ट, अस्पतालको मृत्यु परिचयपत्र, आफन्तको मञ्जुरीनामा लगायतको काम गर्नुपर्ने हुन्छ ।’
त्यसका लागि सेनाले गणमा चार जनाको छुट्टै टिम नै गठन गरी सहकार्य गर्दै आइरहेको बताउँदै उनले भने– ‘कहिले काहीँ सेनाको टिमसँग सहकार्य नहुन पालिकाहरूले समन्वय नगर्ने, जसका कारण सेनाको टिम तयारी अवस्थामा रहे पनि समयमा शव व्यवस्थापन गर्न नसक्ने चुनौति देखिएको छ ।’
सेनाद्वारा १६१ शव व्यवस्थापन
झापाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणका शव व्यवस्थापन टिमले यो जिम्मा पाएदेखि मङ्गलवारसम्म जिल्लामा १ सय ६१ जना सङ्क्रमितको शव व्यवस्थापन गरिसकेको छ । पहिलो लहरमा सेनाले जिल्लामा २२ महिला र ७० पुरुषको शव व्यवस्थापन गरेको थियो ।
त्यसमा २० जनालाई जमिनमा गाडेको र ७२ जनालाई जलाएको थियो । आफन्तद्वारा ३७ जनाको शव व्यवस्थापन गरिएको कर्णेल थापाले बताए । अहिले दोस्रो लहरमा सेनाले २१ महिला र ४५ पुरुषको शव व्यवस्थापन गरिसकेको छ ।
त्यसमा ३ जनालाई जमिनमा गाडेको र ६३ जनालाई जलाएको छ । आफन्तद्वारा १३ शव व्यवस्थापन गरिएको छ । सेनाले गरेको शव व्यवस्थापनमा जिल्लाभित्रका नभई बाहिर जिल्लाबाट उपचार गराउन आएका संक्रमतिको शव पनि व्यवस्थापन गर्दै आइरहेको उनले बताए । अस्पतालमा काम गर्ने चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मी नै किन नहोस् जो कोही पनि कोरोनाबाट जोगिन सकेका छैनन । ‘तर नेपाली सेनाले गरेको सुरक्षित शव व्यवस्थापनमा हालसम्म कोही पनि सेना संक्रमित हुनुपरेको छैन’– उनले भने । सेनाले जिल्लामा शव व्यवस्थापनका लागि ६ वटा डेड बडी म्यानेजमेन्ट टिम गठन गरेको छ । एउटा टिममा तीन जना सेना खटिने गरी दुई सिफ्टमा काम गरिरहेको छ । जिल्लामा पहिलो चरणमा १२९ र हाल दोस्रो चरणमा ९१ गरी जम्मा २२० जना सङ्क्रमितको बुधवारसम्म मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here