तेस्रो राष्ट्रिय महिला अधिकार दिवस आज

0
2170

काठमाडौं,

आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा ‘महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार २०७६ सालदेखि दिवस मनाउन सुरु गरिएको हो।

आमा वा बुवामध्ये एकजनाको नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ। यी विषयलाई सरकारले उपलब्धिका रुपमा लिएपनि त्यसको कार्यन्वयन भने अत्यन्तै न्यून रहेको छ। सरकारले दिवस मनाउने निर्णय गरेपछि पहिलो वर्ष औपचारिक कार्यक्रम गरि मनाए पनि गत वर्ष पनि कोरोना भाइरसका कारण कार्यक्रम भर्चुअलमै सीमित बनेको थियो।

यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानताको नीति प्रभावकारी कार्यान्वयनबाट मात्रै महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य हुने बताएकी छन्। लामो समयदेखि समाजमा विद्यमान पितृसत्तात्मक एवं पुरातन सोचका कारण महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा पछाडि पारिएकोले सांस्कृतिक रूपान्तरणका लागि सबैले निरन्तर प्रयास जारी राख्नु पर्ने सन्देशमा उल्लेख छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै लामो समयदेखिको असमानताको समाजिक अभ्यासबाट मुक्त हुन संवैधानिक र कानुनी प्रबन्धले मात्रै पर्याप्त नहुनेमा जोड दिएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले लैंगिक समानता र महिला शशक्तिकरणलाई संस्थागत गर्न तथा लैंगिक हिंसा न्युनीकरणका लागि धेरै नीतिगत तथा कानुनी ब्यवस्था भएको भएपनि महिला अधिकारका प्राप्ति पुर्णरुपमा स्थापित हुन अझै धेरै मेहनत गर्नुपर्नेमा जोड दिएकी छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here