इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विज्ञ टोली देश दौडाहमा

0
573

प्रदेश नम्बर १ को इलाम र झापामा कार्यक्रम सम्पन्न गर्यो

लक्ष्मी उप्रेती
मेचीनगर, 

कोभिड १९ महामारीका बखत यसको नियन्त्रण र रोकथामका लागि स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष अभिमुखीकरण कार्यक्रमसहित देश दौडाहमा निस्केको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रदेश नम्बर १ को इलाम र झापामा कार्यक्रम सम्पन्न गरेको छ ।

देशमा कोभिड १९ ले महामारीको रुप लिन थालेपछि अन्तर्राष्ट्रिय अप्रवासन संगठन नेपालको आर्थिक सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले अहिले कोभिड –१९ का लागि सरकारले तोकेको प्रवेश बिन्दुहरुमा चेतनामुलक कार्यक्रम लिएर पुगेको छ ।

सरकारले कोभिड –१९ का लागि इलामको पशुपतिनगर झापाको काँकरभिट्टा, मोरङको रानी, महोत्तरीको भिट्टामोड,रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकालाई प्रवेश बिन्दुका रुपमा तोकेको छ ।

अभियानका बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डक्टर अमृत पोखरेल प्रवेश विन्दु र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ पृष्ठभूमिका बारेमा जानकारी गराउदैं संक्रामक रोग तथा सबै प्रकारका स्वास्थ्यजन्य खतरालाई विश्वव्यापी रुपमा देखापर्नु पूर्व नै नियन्त्रण गरि अन्तर्राष्ट्रिय यातायात, व्यापार तथा जीविकोपार्जनमा पर्ने प्रभावलाई न्यूनिकरण गर्नु यो नियमावलीको मुख्य उद्देश्य रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अन्तर्राष्ट्रिय कानुनी दस्ताबेज भएको र यसमा १ सय ९६ सदस्य राष्ट्रहरु आवद्द रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रवेश विन्दुमा अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली सुदृढीकरणको लागि प्रवेश विन्दुको महत्वका बारेमा समेत उहाँले जानकारी दिनुभयो । यात्रु तथा नागरिकहरुको स्वास्थ्य सुरक्षा गर्ने, रोगहरुलाई रोक्ने र घटाउँने, विमानस्थल, बन्दरगाहा तथा स्थल सीमा प्रवेश विन्दुलाई सुचारु राख्ने, हवाइजहाज, पानीजहाज र स्थल वाहनलाई स्वच्छ र संक्रमणमुक्त राख्न सहयोग गर्ने, रोगहरु पत्ता लगाउने, त्यस रोगलाई स्रोतमै सिमीत गरी नियन्त्रण गर्ने, आपतकालिन प्रतिकार्य गर्ने र जनस्वास्थ्यका प्राप्त सुझावलाई कार्यान्वयन गर्दै यात्रा तथा व्यापारमा अनावश्यक प्रतिवन्धलाई सीमित गर्ने प्रवेश विन्दुको महत्व रहेको उहाँको भनाई थियो ।

यस्ता कार्यक्रमहरुले महामारीलाई रोकथाम गर्ने विश्वासका साथ अन्तर्राष्ट्रिय अप्रवासन संगठन नेपालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य र समन्वय गरी प्रवेश विन्दुहरुमा कार्यक्रम गरेको अन्तर्राष्ट्रिय अप्रवासन संगठन नेपालको कन्स्लटेण्ड सुबन थापाको भनाई छ । उहाँले यस अभियानले सकरात्मक सन्देश प्रवाह गर्ने र सहि परिणाम दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस्ता अभियानबाट आफूले सिकेको र बुझेको कुरालाई व्यवहारमा उतार्न समेत सवैलाई अग्रह गर्नुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनस्वास्थ्य निरीक्षक कौशलचन्द्र सुवेदीले कोभिड १९ का लक्षण यसबाट बच्ने उपायलगायतका बारेमा जानकारी दिनुभयो । सुवेदीले अभियानका क्रममा विभिन्न ६ वटा विषयगत विधामा प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

कोभिड १९ को महामारीका बखत यसबाट कसरी बच्ने , नियन्त्रण र रोकथाम कसरी गर्ने, कोभिड १९ विरुद्घको खोप , कोभिड १९ केसको परिभाषा आईसोलेसन र क्वारेन्टाइनको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।

विश्व र नेपालको हालको कोभिड १९ को अवस्थाका बारेमा समेत उहाँले जानकारी गराउनुभयो । हाल सम्म नेपालमा कोभिड १९ बाट ४ लाख ६१ हजार ५ सय ६३ जना निको भईसकेको, ५ लाख ७१ हजार १ सय ११ जना संक्रमित भएको तथ्याङ्क प्रस्तुत गदैं संक्रमितको तुलनामा निको हुनेको दर ८० दशमलव ८ प्रतिशत, १ लाख १ हजार ९ सय ९३ जना संक्रिय संक्रमित रहेको बताइएको छ ।

हालसम्म ७ हजार ५ सय ५५ जनाको कोभिड १९ का कारण मृत्यु भएको र मृत्यु दर १ दशमलव ३ प्रतिशत रहेको उहाँले बताउनुभयो । ३० लाख ८८ हजार ३ सय ७६ जनाको आरटी र पिसिआर परीक्षण गरिएको तथा प्रवेशविन्दुमा ३७ हजार ८ सय ३९ जनाको एन्टी जेन परीक्षण गरिएकोउहाँको भनाई छ । हालसम्म नेपालमा २१ लाख १३ हजार ८० जनाले कोभिड १९ विरुद्घको खोप लिइएको जानकारी गराईएको छ ।

यस्ता तालिम र अभिमूखिकरणले नाकामा कोभिड १९ नियन्त्रण र रोकथामका लागि खटिने सुरक्षाकर्मीसहित अन्य जनशक्तिको क्षमताको विकास हुने काँरकिट्टा स्वास्थ्य केन्द्रका अहेव विष्णुप्रसाद घिमिेको भनाई छ । कार्यक्रम निक्कै उपलब्धिमुलक भएको र यसले थप ज्ञान बृद्घि हुने काँकरभिट्टा हेल्थडेक्समा कार्यरत कर्मचारी हरिचरण सापकोटाको भनाई छ ।

प्रवेश विन्दुमा कोभिड १९ स्क्रीनिङ्ग र परीक्षणका बारेमा आइओएम कन्सलटेण्ट ओमप्रकाश पौडेलले स्क्रीनिङ्ग के हो ? यसका विधिहरु, किन र कसरी गरिन्छ, आइआर थर्माेमिटर प्रयोग, एन्टीजेन परीक्षण, स्क्रीनिङ्ग प्रक्रियामा विभिन्न निकायको भूमिकाका बारेमा उहाँले जानकारी दिनुभयो । उहाँले संक्रमण रोकथाम तथा नियन्त्रण यसका उद्घेश्यहरु, उपायहरुलगायतका विषयमा प्रशिक्षणमुलक ढंगले प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका देशकै अनुहार भएकाले जहिले पनि अनुहार सुन्दर सफा स्वच्छ हुनुपर्नेमा जोड दिएका थिए । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर नगररपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सीमा क्षेत्रमा क्रियाशील सशस्त्र प्रहरी बल नेपाल बोडर आउटपोस्ट काँकरभिट्टाका सशस्त्र प्रहरी नायव निरीक्षक नारायणप्रसाद गौतमलगायतले उद्घाटन र समापन समारोहमा विचार राख्दैं अभिमूखीकरण कार्यक्र निक्कै उपलब्धिमुलक र फाइदाजनक रहेको प्रतिक्रिया दिनुभयो ।

सुरक्षाकर्मी, स्वासथ्यकर्मी, सञ्चारकर्मीसहित प्लान्ट, पशु र खाद्य क्वारेन्टाइन, भन्सार, विभिन्न सरकारी र गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु सहभागी कार्यक्रममा अन्तरक्रिया समेत भएको थियो । झापाको मेचीनगर—६ काँकरभिट्टामा सम्पन्न कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here