मेचीनगर, 
नेपाल स्काउटले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन सुरु गरेको छ । यसअघि कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।
प्रदेश नम्बर १ को झापामा पहिलो पटक शनिबार नेपाल स्काउट प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले संस्थागतरुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका भद्रपुर ६— निवासी ८४ वर्षीय कोरोना संक्रमण पुरुषको शव ब्यवस्थापन गरेको छ । शव व्यवस्थापनका लागि तयार स्काउट सदस्यहरुले विशेष तालिम नै प्राप्त गरेका छन् ।
संक्रमितहरुको शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा हिलेले तालिम दिएको थियो । तालिमप्राप्त स्काउटरहरु शिवानी देवान, विवेक चौलागाईँ, दीपक बागदास र प्रज्वल कडरियालले नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका निर्देशनमा शवको व्यवस्थापन गरेको हो ।
स्काउट प्रदेश नम्बर १ कार्यालयले बेलबारी, रंगेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएको थियो ।
शव ब्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने ब्यवस्थापन गरिएको छ । केही दिनअघि विराटनगरबाट शव व्यवस्थापन आरम्भ गरेको स्काउट विशेष टोलीले शनिाबर झापामा पनि शव व्यवस्थापन गरेर स्काउट शव व्यवस्थापनमा उत्रिएको सन्देश दिएको हो नेपाल स्काउट मेचीनगर संयोजक रीता थापा लुइटेलले बताउनुभयो ।
कोभिड–१९ संक्रमितहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो । कोरोना संक्रमितकै मात्र शव व्यवस्थापन नेपाली सेनाले गर्ने गरेकोमा अब नेपाल स्काउटले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन सुरु गरेको वस्नेतको भनाई छ । कोभिड– १९को संक्रमणबाट मृत्यु हुने संख्या बढेसँगै शव व्यवस्थापनमा पनि चुनौती थपिएको थियो । शव व्यवस्थापनमा सहजीकरण गर्न लागि स्काउटले संक्रमितको शव व्यवस्थापन गर्न शुरू गरेको स्काउटले जनाएको छ ।
देशमा भइपरिआउने जुनसुकै प्रकोपका लागि उद्धार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिले विपद व्यवस्थापन सहजीकरणका लागि स्पेशल टास्क फोर्स गठन गरेको छ । जसको संयोजक अजित लामा हुनुहुन्छ ।
स्काउटले कोरोना माहामारीसँगै कोभिड विरुद्ध जनचेतनामूलक अभियान, चिकित्सकीय परामर्श सेवा, हेल्प डेस्क, डिसइन्फेक्ट कार्य र शवदहमा निःशुल्क पानी वितरण जस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ ।






























