झापा ।

कोरोना संक्रमणको महामारीका बिच फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई राष्ट्रिय युवा परिषद झापाले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
परिषदले शनिबार इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । शिवसताक्षि नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा तथा परिषदका अध्यक्ष मदन बुढाथोकीले इलाका प्रहरी कार्यालयका प्रमुख धुब्रबहादुर श्रेष्ठलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा अग्रभागमा रहेर आफ्नो निष्ठा र कर्तव्य पालना गर्ने प्रहरीहरुको जीवनरक्षाका लागि सानो भएपनि सहयोग गरिएको कार्यक्रममा परिषदका अध्यक्ष बुढाथोकीले बताए ।
यस अघि पनि परिषदले बिभिन्न सामाजिक कार्य गर्दै आएको स्मरण गर्दै कार्यक्रममा अध्यक्ष बुढाथोकीले सामाजिक उत्तरदायित्व तथा मानविय नाताले संकटको यस घडिमा सबै संग हातेमालो गर्दै अगाडि बढ्ने बचनवद्धता समेत प्रकट गरे ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आर्थिक सहयोग समेत रहेको बुढाथोकीले जानकारी दिए । वितरण गरिएका स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर , भिटामिन, औषधी लगायत छन् ।
युवा परिषद शिवसताक्षि नगर कमिटिकी कार्यकारी उपाध्यक्ष निशा लिम्बूले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नगर प्रमुख शेर्मा, इलाकाका प्रहरी प्रमुख श्रेष्ठले परिषदले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्दै परिषदको प्रशंसा गरेका थिए ।
कार्यक्रममा युवा परिषद झापाका निर्वतमान अध्यक्ष छवि चुंडाल, नगरपालिका वोर्ड सदस्य जितेन्द्र शाह, मदन भण्डारी स्पोट्स एकेडेमी शिवसत्ताक्षि नगरका सचिव सागर राई, नगर खेलकुद समितिका अध्यक्ष फुर्वा लामा , सामाजिक अभियान्ताहरु शैरभ न्यौपाने, मदन ओली, नारायण दाहाल लगायतको उपस्थिती रहेको थियो ।
साथै परिषद नगर कार्यकारी उपाध्यक्ष लिम्बूले परिषदलाई सहयोग गर्ने हाम्रो अभियान, सुरुवाती कोठा, इक्यान झापा तथा कोभिड रेस्पोन्स टिम सहित अन्य सामाजिक कार्यमा रातदिन खटिएर मानव सेवामा समर्पित सामाजिक अभियानको टिमलाई धन्यवाद समेत प्रकट गरेकी थिइन् ।































