चलचित्रका प्राविधिकहरुलाई सहयोग गर्न स्वस्तिमाले शुरु गरिन् अभियान

२३ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

काठमाडौं,

विगत डेढ वर्षदेखि कोरोना महामारीले हरेक क्षेत्रलाई निकै असर गरेको छ। जसमध्येको एक हो फिल्म क्षेत्र। एकातिर फिल्म क्षेत्रको काम बन्द छ। अर्कोतिर बनेका फिल्म समेत रिलिज हुन सकेका छैनन्।

कोरोनाले गर्दा फिल्मको पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ। उनीहरुले एक वर्षदेखिको भाडा तिर्न सकेका छैनन्। साथै दैनिक जीवन चलाउन समेत गाह्रो छ। जुन खबर सुनेपछि देश विदेशमा रहेका कलाकारहरुले सहयोगी हात अघि बढाउन थालेका छन्।

प्राविधिकहरुको अवस्था निकै नै कमजोर रहेको जानकारी पाएपछि अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान शुरु गरेकी छिन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै सहयोग अभियान शुरु गरेको जानकारी दिएकी छिन्।

‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं। यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन। अहिले चलचित्र पनि निर्माण भइरहेका छैनन्। जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन्। प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु,’ उनले भनिन्।

स्वस्तिमाले सबै प्राविधिकहरुमा यस्तो समस्या नभएपनि स्पट ब्वाइहरु बढी समस्यामा रहेको सुनाइन्। आफू प्राविधिकहरुसँग नजिक रहेको भन्दै यस्तो बेलामा सबैले सानो सहयोग गर्दा पनि ठूलो हुने उनले उल्लेख गरेकी छिन्।

निषेधाज्ञाको समयसम्म सजिलो मात्र बनाउन सकेको खण्डमा पनि प्राविधिकहरुलाई ठूलो राहत हुने स्वस्तिमाको भनाई छ। भिडियो हेरिरहेका सबैलाई सकेको जति सहयोग गरेर अभियानमा जोडिन समेत उनले आग्रह गरेकी छिन्।

साथै सबैलाई शारीरिक र मानसिक रुपले समेत स्वस्थ रहन समेत उनले सुझाब दिएकी छिन्। गत वर्ष पनि एक टिमसँग मिलेर सय जना प्राविधिकहरुलाई सहयोग उनले जानकारी दिइन्।

यसअघि कलाकारहरु करिश्मा मानन्धर, विजय लामा, सुमिना घिमिरे, निर्मल शर्मा, जीवन लुइटेल, राजबल्लभ कोईरालालगायतले चलचित्र प्राविधिकहरुलाई सहयोग गरिसकेका छन्।-पहिलोपोस्टबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here