हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली

२५ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

तनहुँ, 

जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् ।

छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिनुभयो । “अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “हावाहुरीले विद्युत्का पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।”

विद्युत् लाइन नहुँदा अनलाइनबाट पढ्ने र परीक्षा दिने त्यसक्षेत्रका बालबालिकासमेत प्रभावित हुने देखिएको उहाँले बताउनुभयो । सोही वडास्थित हिमाली प्राथमिक विद्यालयको शौचालय र स्नानगृहमा क्षति पुगेको छ । शुक्लागण्डकी–८ स्थित पाटनचोकमा चार घरको छानो उडाएको जानकारी पाएको लम्सालले जानकारी दिनुभयो ।

हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिनुभयो ।

सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उहाँले बताउनुभयो ।

हावाहुरीले घरको छानो उडायो

सिन्धुली– सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ ।

छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो । यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करेन्ट लागेर गीता पाण्डे सामान्य घाइते हुनुभएको थियो ।

जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ । वर्षाले क्षति पु¥याएका विवरण प्राप्त हुन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here