पार्थ माण्ल,झापा।

३३ वर्षीय कमल गणेश भारतीय नागरिक हुन् । उनी भारतीय भए पनि नेपाली भाषा प्रष्ट बोल्छन् । किनभने उनी नेपाली विद्यालयमा पढाइसँगै यहाँकै साथीभाइसँग हुर्किएका हुन् । झापाको कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको नयाँ हाट बस्तीमा परिवारसँग बसोबास गर्दै आइरहेका गणेश सिलाईको काम गर्छन् ।
नेपाल–भारतको सीमा पिलर ११२ नजिकै उनको फुसले बनेको छाप्रो जस्तो एउटा घर छ । उनको घर भारतीय भूमिमा पर्छ । भारतीय भए पनि उनी नेपालमै व्यवसाय सञ्चालन गर्दै परिवार पाल्दै आएका छन् । उनको पसल कचनकवल–६स्थित बनियानी बजारमा रहेको छ । उनले बनियानी बजारमा कपडा सिलाउने पसल खोलेका छन् । तर, विडम्बना उनी भारतीय भएकाले अहिले पसल जान पाइरहेका छैनन् ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण भारतसँगै नेपालमा तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै सुरक्षाकर्मीले सीमा नाकामा कडाइसँगै आवतजावतमा पूर्ण रुपमा बन्देज लगाएको छ । सुरक्षाकर्मीले भारतीयलाई नेपाली भूमि प्रवेश निषेध गरेसँगै गणेश अहिले थप समस्या परेका छन् ।
‘कोरोनाका कारण अघिल्लो बर्षपनि यस्तै समस्या भोग्नु प¥यो’– गणेशले भने– ‘अहिले फेरि त्यस्तै समस्या आइ पर्यो, अब के गर्ने हो थाहा छैन ।’ ‘कोरोनाले मरिने भन्ने डर एकातिर छ भने अर्कातिर रोजीरोटीको सवाल पनि छ’– उनले भने– ‘अब जसोतसो घरमै बसेर खेतीपाती वा अन्य काम गर्नुपर्ला ।’ नेपालका सशस्त्र र नेपाल प्रहरीले गाउँका कसैलाई पनि नेपाली भूमि नछिर्नु भन्दै आएको बताउँदै उनले भने– ‘कोरोनाबाट बच्न र अरूलाई पनि बचाउने हाम्रै दायित्व हो, सरकारले कोरोना महामारी रोक्न लगाएको लकडाउन र सीमा नाका बन्द जस्ता आदेश मान्नै प¥यो ।’
त्यही गाउँका ७४ वर्षीय उपेन्द्र साह सजिलै मेची नदी तरेर भारतीय बजार किनमेलका लागि सधैँ जान्छन् । कोरोना संक्रमणको रोकथामका कारण देखाउँदै उनलाई कसैले छेकेको छैन । दशगजामै घर भएका साह पनि भारतीय नागरिक हुन् । उनलाई भारतीय बजारभन्दा नेपालका बजार पुग्न सजिलो हुन्छ । तर, उनी अहिले नेपाल छिर्न पाएका छैनन् । अघिल्लो वर्ष जस्तो फेरि गाउँवासीलाई सुरक्षाकर्मीले नेपाल छिर्न रोक लगायो– साहले भने– ‘अहिले सरकारी नाम दियो कोरोना भाइरस । पहिला यही रोगलाई हैजा र मर्की भनिन्थ्यो ।’ ‘यो एउटा महामारी हो आफूलाई थाह छ, यसबाट बच्न हामी सीमावासी पनि सजग छौँ– उनले भने । यहाँ करिब ३० देखि ३५ घर भारतीय नागरिकको बसोबास रहेको स्थानीय ४५ वर्षीय बिनोद साहले बताए । उनका अनुसार गाउँमा दुईवटा पसल छन् । ती पसल भारतीय भूमिमा पर्छन् ।
सीमा पिलर पारी नेपाली बस्ती रहेकोले त्यहाँका बासिन्दा पनि अति आवश्यक खाद्यान्न लगायतका सामग्री खरिद गर्नु परेमा बाटो पारि भारत आउने गरेको उनले बताए । कोरोना महामारीका कारण अहिले ती पसलमा नेपाली नागरिकलाई सुरक्षाकर्मीले आउन दिइरहेको छैन– उनले भने । ११२÷२ नम्बर पिलर उत्तर नेपालमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय पानालाल राजवंशीलाई कोरोना भाइरस संक्रमणको बारे प्रष्ट थाहा छैन । उनी दशगजा नजिकै बस्छन् । घरबाट निस्किनासाथ उनी भारत पुग्छन् । उनीसहित त्यहाँ बसोबास गर्ने नेपाली नागरिक घर बाहिर निस्किएपनि भारत नजान सुरक्षाकर्मीले आग्रह गर्दै आएका छन् ।
दशगजा नजिकै बस्ती हुँदा सुरक्षाकर्मीलाई चुनौति
सीमा पिलर ११२ नजिकै कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नयाँ हाट बस्ती छ । बस्तीको बीच–बीचमा चार वटा मझौला सीमा पिलर छन् । उत्तरपट्टि नेपाली बस्ती र दक्षिणीपट्टि भारतीय बस्ती । पूर्वपट्टि बस्तीसँगै बगिरहेको मेची नदी । दुवै बस्तीलाई जोड्ने दशगजामै कच्ची सडक । सोही कच्ची सडक दुवै देशका जनताले बर्षोदेखि प्रयोग गर्दै आइरहेका छन् । सामान्य अवस्थामा सडक प्रयोग गर्नु ठीकै हो । तर, अहिले त्यही सडक यहाँका सुरक्षाकर्मीका लागि समस्यासँगै चुनौति बनिएको छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृहदेखि स्थानीय प्रशासनले भारतसँग जोडिएको खुला सीमा नाका कडाइसँगै आवतजावतमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । नाका बन्द गराउने निर्णयसँगै त्यहाँ रहेका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट र पाठामारी प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मी दिनरात १२२ नम्बर पिलर नजिकै सुरक्षा दिइरहेका छन् । तर, सुरक्षाकर्मीलाई सीमामा आवतजावत रोक्न समस्या भइरहेको छ । ११२ पिलर नजिकै भारतीय बस्ती रहेकोले त्यहाँका नागरिक अहिले पनि भारतीय बजार ओहोरदोहोर गरिरहेका छन् । उनीहरूलाई रोक्ने अधिकार नै नेपाली सुरक्षाकर्मीलाई छैन । उनीहरू सहज रुपमा मेची नदीबाटै हिँड्डुल गरिरहेका देखिन्छन् ।
‘सो बस्तीमा बसोबास गर्ने अधिकांश व्यक्ति नातागोतामै पर्छन्’– स्थानीय रत्नकुमार बुढाथोकीले भने– ‘भारत घरमा भएका व्यक्तिको सीमापारि नेपालमै दाजुभाइ, काका भतिज जस्ता आफन्तहरू छन्, त्यही भएर उनीहरूलाई रोक्न सुरक्षाकर्मीलाई दशगजामै समस्या हुने गरेको छ ।’ ‘भारततर्फ बस्नेहरू सजिलै भारत पुगेर आउँछन् । बस्तीमा आएपछि कतिखेर नेपाल छिरेर आफन्त भेट्छन् यहाँका सुरक्षाकर्मीले थाहा समेत पाउँदैनन्– उनले भने ।
उता केचना र घेरावारी पनि उस्तै समस्या रहेको छ । बस्ती नजिकै भारतीय बजार रहेकोले नेपाली र भारतीय दुवैलाई रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई चुनौति थपिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक भक्त थापाका अनुसार बोर्डरमै सुरक्षाकर्मी तैनाथ राखेका छांै, अहिले कसैलाई पनि नेपाल प्रवेश गर्न दिइरहेका छैनौँ ।
‘खुला नाका भएकोले सुरक्षाकर्मीलाई चुनौति छ– प्रहरी निरीक्षक थापाले भने– ‘सुरक्षाकर्मीहरूलाई आलोपालो गराउने बेला लुकिछिपी नेपाल प्रवेश गरिहाल्छन्, गाउँमा छिरेपछि उनीहरूलाई भेट्टाउनै गाह्रो हुन्छ ।’ त्यही भएर हामीले गाउँघरमा कोरोना महामारीको बारेमा जनचेतनासँगै भारतबाट आउने कसैलाई पनि गाउँमा त्यतिकै प्रवेश नगराउन अनुरोध गरिरहेका छौँ– उनले भने ।
कोरोनाले सीमा बजार चौपट
झापासँग जोडिएको पश्चिम बङ्गाल र विहारका सीमावर्ती भारतीय बजारमा सीमा नजिकै बसोबास गर्ने यहाँका नेपालीहरू घरायसीदेखि आवश्यक सरसामान खरिद गर्न जाने गरेका छन् । तर, पछिल्लो एक वर्षयता कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि नेपालीहरू भारतीय बजार जान छाडेका छन् ।
सीमावर्ती भारतीय बजारमा त्यहाँका नागरिकको पसल मात्र नभई नेपालमा बसोबास गर्नेहरूले पनि भारतमै गएर पसल तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए । काँकरभिट्टा पारि पानीटंकी बजार, भद्रपुरमा गलगलिया बजार, पाठामारी पारि ठाकुरगञ्ज बजार, केचना पारि कादोगाउँ बजार, टाघनडुब्बा पारि डिगलबैंक बजार र गौरीगञ्ज पारि फूलबारीया बजार रहेको छ । ती बजारहरूमा किनमेलका लागि नेपालीहरू जाने गरेका छन् । तर, पछिल्लो एक वर्षयता सीमापारिका अधिकांश बजारमा कारोबार चौपट बनेको छ । सरकारले काँकरभिट्टा नाका केही समय अघि केही खुकुलो गरेपछि नेपालीहरू किनमेलका लागि भारत जान थालेका थिए । अहिले फेरि दोस्रो लहरको कोरोनाका कारण काँकरभिट्टामा कडाइ गरेपछि नेपालीहरू जान छाडेका छन् ।
पानीट्यांकी बजारमा ४० प्रतिशत नेपाली नागरिकको लगानीमा व्यापार व्यवसाय सञ्चालन गरिरहेको भद्रपुरका व्यवसायी रवि गोयलले बता । उनको पानीट्यांकी बजारमै कार तथा जिपलाई आवश्यक पर्ने मोटरपाट्र्सको होलसेल पसल छ । सीमा नाकामा कडाइ भएपछि उनी अहिले पानीटंकीमै बसोबास गर्न थालेका छन् । ‘पानीट्यांकीसहित छेउमै रहेको नक्सालवारी बजार पनि नेपाली ग्राहककै भरमा चलिरहेको छ– व्यवसायी गोयलले भने– ‘कोरोनाका कारण विगत एक वर्षयता कतिपय व्यवसायीको उठिबास नै लागिसकेको छ, नेपाली ग्राहक आउन छाडेपछि उनीहरू पलायन हुनु प¥यो ।’ नेपाल भन्दा धेरै सस्तोमा सरसामान पाउने आशामा नेपालीहरू आउँदा दैनिक पानीट्यांकी बजारमा हाटबजार जस्तै भीड लाग्ने गथ्यो, तर अहिले बजार सुनसान छ– उनले भने ।
यता भद्रपुरका व्यवसायी शम्भु गुप्ताले गलगलिया बजारमा कपडाको पसल सञ्चालन गरेको दुई वर्ष भयो । एक वर्ष व्यापार त राम्रै चल्यो, तर विगत १३ महिनादेखि उनको पसल बन्द छ । गत चैत ११ गतेदेखि बन्द भएको भद्रपुर नाका हालसम्म नखुल्दा व्यवसायी गुप्ता पसलको भाडा मात्र तिरिरहेका छन् । ‘मासिक भारु ४२ सय रुपैयाँ भाडा मात्रै तिरिरहेको छु’– उनले भने– ‘कोरोनाले सीमा व्यापार चौपट नै बन्यो, बोर्डर ठप्प हुँदा नेपालीहरू गलगलिया जान छाडेपछि त्यहाँका अन्य व्यापार व्यवसाय पनि ठप्प छन् ।’
गुप्तासँगै भद्रपुरका मनिष महतो, मोहन महतोले पनि गलगलियामा कपडाकै पसल सञ्चालनमा ल्याएका थिए । उनीहरू पनि अहिले पसलको मासिक भाडा मात्र तिरिरहेका छन् ।
यस्तै अवस्था रह्यो भने पसल बन्द गरेर भद्रपुरमै आएर व्यवसाय गर्नुको विकल्प नरहेको व्यवसायी मनिष महतोले बताए । उता कादोगाउँ, ठाकुरगञ्ज, डिगलबैंक, फुलबारीया बजारको हालत पनि त्यस्तै छ । त्यहाँको व्यापार व्यवसाय पनि कोरोनाले चौपट बनाइसकेको स्थानीयहरू बताउँछन् ।
नेपालमा आश्रित भारतीय मजदुरको रोजीरोटी बन्द
नेपालमा आश्रित भारतीय मजदुर पनि कोरोना भाइरसको महामारीले समस्या मा परेका छन् । अहिले उनीहरूको रोजीरोटी नै बन्द भएको छ ।
झापाका विभिन्न नाकाबाट कामकाज गर्न नेपाल आउने भारतीय नागरिक सीमा नाका सिल भएसँगै प्रवेश गर्न पाएका छैनन् । उनीहरूलाई भारतीय एसएसबी र सशस्त्र प्रहरीले सीमा नाकामै रोक लगाएको छ ।
जिल्लाको काँकरभिट्टा, भद्रपुर हुँदै गौरीगञ्ज नाकाबाट दैनिक तीनदेखि चार हजारसम्म भारतीय मजदुर झापाका विभिन्न पालिकामा आउने गरेका थिए ।भारतीय मजदुरले निर्माण कार्य, पलाई उद्योग, अन्य व्यापार व्यवसाय लगायत कामकाजका लागि दैनिक आउने र फर्किने गरेका थिए । भारतीय मजदुर आउन छाडेपछि अहिले जिल्लाका अधिकांश विकास निर्माण लगायतका कामकाजमा समेत प्रभावित बनेको छ ।
नेपालमा मजदुर अभाव कारण यहाँका निर्माण व्ययवासीले पनि भारतीय मजदुरकै भर पर्ने गरेका छन् । निर्माण व्यवसायी पुष्प निरौलाका अनुसार जिल्लाका अधिकांश विकास निर्माण लगायत अन्य कामकाजमा भारतीय मजदुरको प्रयोग गरिन्छ ।
जिल्लाका युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जाने गरेकाले यहाँ मजदुरको अभाव छ । भारतीय मजदुर आउन छाडेपछि अहिले विकास निर्माण कार्यले पनि गति लिन नसकेको उनको भनाई छ । ‘कतिपय स्थानमा अहिले पनि भारतीय मजदुरले काम गरिरहेको छ, तर तिनीहरूलाई यहाँका व्ययवासीले खाना बस्ने लगायतको व्यवस्थापन गरिदिएको छ’– उनले भने । कोरोनाले भारतीय मजदुरको रोजीरोटी नै बन्द गरिदिएको अर्को युवा निर्माण व्यवसायी मनोज दासले बताए । यहाँका मजदुर भन्दा भारतका मजदुरको कामको फिनिसिङ राम्रो भएको बताउँदै उनले भने– ‘उनीहरूको ज्याला पनि कम्ती, काम गराई पनि राम्रो, यहाँ त मजदुर नै भेटिँदैनन् ।’
उता भारतीय मजदुर विकास दासले भने, कोरोनाले बेरोजगारी नै बनाएकोमा दुखेसो पोखेका छन् । दैनिक नेपाल आएर भवन बनाउने काममा मजदुरी गर्दै आइरहेका दासले भने, ‘कोरोनाले अघिल्लो बर्षपनि चार÷पाँच महिना घरमा बस्नु पर्यो, अहिले फेरि कोरोना आउँदा दुई महिनादेखि घरमै थुनिएका छौँ ।’
दैनिक नेपाली ६ सयमा ज्यालादारी काम गर्दै आइरहेको बताउँदै उनले भने, ‘अहिले नेपाल जान नपाउँदा घरपरिवार पाल्नै धौधौ भइरहेको छ ।’ उनको घर सीमा क्षेत्र भारतीय बजार गलगलिया नजिकै छ । उनी जस्तै अहिले अधिकांश भारतीय मजदुरको घर सीमासँग जोडिएको भारतीय बजारमा नजिकै पर्छ । अहिले सबैको अवस्था दयनीय छ । परिवार पाल्न उनीहरू अहिले खेतीपातीको काम गरिरहेका छन् ।
पर्यटन र होटेल व्यवसायी संकटमा
पहिलो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते देशभरै लकडाउन लगाएको थियो । साथै सरकारले देशभरका सबै सीमा नाका समेत ठप्प पारेका थिए । देशमा बिस्तारै संक्रमणदर घट्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउँदै हटायो । सरकारले लकडाउन हटाए पनि सीमा नाका खुलाएनन् । जिल्लाकै मुख्य नाका काँकरभिट्टाबाट मालवाहक गाडीमा आयात निर्यात हुने सरसामान र मानिसलाई पैदल आवतजावतका लागि मात्र खुला गर्यो ।
जिल्लाका दोस्रो ठुलो नाका भद्रपुरसहित अन्य नाका खुलाएकै थिएन । काँकरभिट्टा नाका पूर्ण रुपमा खुलाउनु पर्ने माग गर्दै गत मङ्सिरदेखि त्यहाँका व्यवसायी आन्दोलित बने । आन्दोलनको नेतृत्व होटेल व्यवसायी संघ मेचीनगर र ट्राभल्स सङ्घ झापाले गरेका थिए । उनीहरूले पटक–पटक सीमा क्षेत्रमा नाकाबन्दी चाहिँदैन, बन्द नाका खुला गर, व्यवसायी बन्दीमा जनता मरे आर्थिक मन्दीमा, लगायतका नारा लेखिएका प्ले कार्डसहित मौन जुलुस, र्याली, धर्ना जस्ता कार्यक्रम गरिरहे ।
लामो समयदेखि सरकारले सीमा नाका बन्द गरेका कारणले बाह्य तथा आन्तरिक पर्यटकको आवागमन ठप्प भएकोले सीमा क्षेत्रका व्यवसायी पलायन हुने अवस्था आएको भन्दै होटेल तथा ट्राभल्स व्यवसायी आन्दोलित बनेका थिए । आन्दोलनपछि नाका सहज हुनै लागेको अवस्थामा अहिले फेरि देशभर दोस्रो लहरको कोरोना महामारी देखा प¥यो । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाले अहिले देश ठप्प बनेको छ । सीमा नाका पहिलेकै अवस्थामा पुगेको छ ।
मालवाहक सवारीसाधनमा मात्रै आयात निर्यात मात्र खुला भएका कारण सीमा नाका व्यवसायी अहिले फेरि मारमा परेका छन् । जिल्लामा वैशाख १९ देखि प्रशासन कार्यालय झापाले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा जेठ मसान्तसम्म लागु हुने जनाइएको छ । पहिलो लहरको कोरोना संक्रमणदर शून्यमा आएपछि जिल्लाका ट्राभल्स व्यवसायीहरू फेरि उठ्ने अवस्थामा पुगेको थियो । सीमा नाकाबाट भारतीय पर्यटन आउन थालेपछि व्यवयासीहरु पुरानै लयमा फर्किन थालिसकेको बताउँदै ट्राभल्स संघझापाका अध्यक्ष नेत्र कार्कीले भने– ‘अहिलेको नयाँ भेरियन्टको कोरोना सङ्क्रमणका कारण व्यवसायी थप सङ्कटमा परेको छ, अब फेरि जुरमुराउन व्यवसायीलाई निक्कै चुनौतिको सामना गर्नुपर्ने हुन्छ ।’ जिल्ला ८० बढी ट्राभल्स व्यवसायी छन् । ‘पहिलो लहरको कोरोनाका कारण आधा दर्जन जति व्यवसायीले यो पेसा छाडिसके, अहिलेको अवस्था हेर्दा फेरि कति व्यवसायीले पेसा छाडने हो ?’– उनले भने । ‘पर्यटन व्यवसायीका लागि तीनै तहका सरकारले चासो देखाउनु पर्ने हो’– उनले भने– ‘व्यवसायीका लागि राज्यले राहत प्याकेज लागू गर्नुपर्ने छ ।’
काँकरभिट्टामा १५ वटा ट्राभल्स रहेको छ । अहिले उनीहरूलाई भाडा तिर्न पनि सकस भइरहेको छ । ‘घरधनीले भाडा माग्ने, व्ययवासीको पसल र कारोबार भने ठप्प छ, कसरी भाडा तिर्ने र कर्मचारी पाल्ने व्यवसायीहरू समस्या छन्’– उनले थपे । त्यस्तै होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठका अनुसार होटेल व्यवसायी कोरोनासँगै भोकले मर्ने स्थिति पुगिसकेको बताए । ‘राज्यले होटेल व्यवसायका लागि केही नसोचिँदा हामी मारमा परेका छौँ’– उनले भने– ‘कोरोनाले नाका ठप्प हुँदा होटेल सञ्चालकले घरधनीलाई भाडा र बैङ्कको ऋण तिर्न नसक्ने अवस्थामा यहाँका व्यवसायी पुगेको छ ।’






























