‘असन्तुष्ट’ ब्राजिल फुटबल टिमको प्रष्टोक्ति : कोपा अमेरिकामा सहभागिता जनाउने

0
641

काठमाण्डौं ।

कोभिड महामारीका बिच कोपा अमेरिका ब्राजिलमा स्थानान्तरण गरेपछि असन्तुष्ट ब्राजिलको फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने बताएको छ।

अघिल्लो वर्ष कोभिडका कारण स्थगित भएको प्रतियोगिता यस वर्ष कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजनामा गर्ने भनिएकोमा राजनीति र कोभिडलाई कारण देखाउँदै ब्राजिलमा प्रतियोगिता स्थानान्तरण गरिएको थियो।

कोलम्बियाबाट चर्किएको सरकार बिरोधी आन्दोलन र अर्जेन्टिनाबाट बढ्दो कोभिड महामारीको दोस्रो लहरका कारण प्रतियोगिता स्थगित भएको थियो। यद्यपि, कोभिड महामारीको सबैभन्दा बढी मारमा पर्ने देश मध्येको ब्राजिलमा प्रतियोगिता स्थानान्तरण गरिएपछि ब्राजिलमै विरोध सुरु भएको थियो। त्यसबाहेक अन्य देशले पनि सुरक्षा चासो दिँदै ब्राजिलमा सहभागिता जनाउन आनाकानी गरिरहेका छन्। केही स्टार खेलाडीहरुले त यसको खुलेरै विरोध पनि गरिरहेका छन्।

ब्राजिलमा १ करोड ७० लाख भन्दा बढी कोभिडको केसहरु देखिइसकेको छ भने ४ लाख ७६ हजार भन्दा बढीको निधन भइसकेको छ। त्यस्तै, भ्याक्सिनेसनको सन्दर्भमा पनि ब्राजिल पछाडि नै छ। यस्तो महामारीको बिच प्रतियोगिता गराउँदै कोभिडको संक्रमण अझ तीब्र गतिमा बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

यसैबिच ब्राजिलका खेलाडीहरुले एक विज्ञप्ति निकाल्दै दक्षिण अमेरिकी फुटबल फेडेरेसनको ब्राजिलमा प्रतियोगिता गराउने निर्णयप्रति आफूहरु असन्तुष्ट भए पनि प्रतियोगितामा सहभागिता भने जनाउने बताएका छन्।

प्रतियोगिता आयोजनाको मुद्दामा ब्राजिलको सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। मंगलवार अदालतले १० देश सम्मिलित प्रतियोगिताको आयोजना रद्ध गर्न भनेर दुई पक्षबाट आएको अनुरोधमा बिहीवार फैसला गर्ने जनाएको छ। त्यहाँका प्रधानन्यायाधीश लुइस फक्सले केसको ‘असाधारण प्रकृति’ लाई हेर्दै ११ सदस्यीय कोर्टले भर्चुअल सेसनमार्फत् मुद्दा हेर्ने निर्णय लिएका थिए।

त्यस्तै, पछिल्ला दिनमा केही स्थानीय मिडियाले ब्राजिलका खेलाडी कोभिडलाई लिएर भन्दा पनि उनीहरुसँग समझदारीबिना ब्राजिलमा प्रतियोगिता ल्याएकोमा ब्राजिल फुटबल कन्फिडरेसनका अध्यक्ष रोजरियो काबोक्लोको आलोचनामा उत्रिएको दाबी गरेका थिए।

त्यस्तै, आइतवार ब्राजिल फुटबल कन्फेडरेसनका अध्यक्ष काबोक्लोलाई उनको अफिसबाट सेक्सुअल ह्यारिसमेन्टको आरोपमा निलम्बन गरिएको छ। यद्यपि, उनले यसलाई अस्वीकार गर्दै आएका छन्।

पछिल्लो समयमा प्रतियोगिता विभाजनकारी र राजनीतिक मुद्दा बनेको छ। त्यस्तै, महामारीका क्रममा विज्ञहरुलाई पटकपटक अवहेलना गर्दै आएका राष्ट्रपति जैरबोल्सोनर प्रतियोगिता आयोजनाको ‘क्रेडिट’ लिने होडमा छन्।

आइतवार ब्रासिलियास्थित गैरिन्चा स्टेडियममा ब्राजिल र भेनेजुएलाले उद्घाटन खेल खेल्ने खेलतालिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here