झापामा ‘विपद्को सारथी’ बन्दै द्वन्द्व रुपान्तरण केन्द्र

0
893

मेचीनगर ।


प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले झापाका तीनवटा नगरपालिकालाई ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर स्थानीय सरकारलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले बताइन् । उनका अनुसार झापाको मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

मेचीनगर नगरपालिकालाई उक्त स्वास्थ्य सामग्री विहीवार कार्यालयमै पुगेर हस्तान्तरण गरिएको राष्ट्रिय स्रोतव्यक्ति थापाले बताइन् । मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कनकाईमा पनि त्यसरी नै उपलब्ध गराइएको र अर्जुनधारामा शुक्रवार (भोलि) हस्तान्तरण गर्ने कार्यक्रम छ ।

तीनवटै नगरपालिकालाई बराबरी परिमाणमा स्वास्थ्य सामग्री दिइएको छ । संस्थाको ८ औँ स्थापना दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले ८ औँ स्थापना दिवस मनाएको छ ।

स्थानीय सरकारलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा पल्स अक्सिमिटर ५ थान, पीपीई ४० थान, थर्मल गन १ थान, फ्रेस सिल्ड ४० थान, स्टिमर ५ थान, सर्जिकल मास्क २५ सय, सेनिटाइजर १० थान, गमबुट ५ जोर, थर्ममिटर १० थान, झुल १० थान र साबुन ५० थान रहेको छ ।

यस्तै, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले झापाका विभिन्न पालिकाका विपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले झापा गाउँपालिकाका २३ घरपरिवार, मेचीनगरका २० र बाह्रदशी गाउँपालिकाका ७ परिवारलाई खाद्यान्न सहयोग गरिएको स्रोतव्यक्ति थापाले जानकारी दिइन् । उनले अन्य तवरबाट पनि विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिदै आएको बताइन् ।

खाद्यान्न सामग्री प्रतिपरिवार चामल २५ केजी, २ केजी तेल, २ केजी दाल, २ पोका नून, ५ थान साबुन, १ बोतल सेनिटाइजर र ५० वटा सर्जिकल मास्कका दरले उपलब्ध गराइएको छ ।
महामारीका बेला स्थानीय सरकार र विपन्न परिवारलाई गरेको सहयोगले उक्त संस्था विपद्को सारथी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here