नरेन्द्र ढकाल,
झापा।

झापाको बिर्तामोड–१ का महेन्द्र दास गत जेठ १९ गतेबाट बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित कोभिड आइसोलेसन सेन्टरमा उपचाररत् छन् ।
संक्रमण भएपछि उपचारका लागि दास त्यहाँ भर्ना भएका हुन् । कोरोनाको संक्रमणका कारण अस्वस्थ रहेका दास उपचारपछि अहिले ठीक भएको बताउँछन् ।

नगरले सञ्चालनमा ल्याएको अस्पतालमा धेरै सेवा, सुविधा पाएको उनको भनाइ छ । समयमा खाना तथा खाजाका साथै स्वास्थ्य अवस्थामा समस्या भएमा प्रत्यक्ष डाक्टर र नर्सको निगरानी हुने भन्दै उनले भने– शुरुवातमै नगरद्वारा सञ्चालित अस्पतालमा आएको भए म अस्ती निको भइसक्ने थिएँ । नगरले सञ्चालनमा ल्याएको अस्पतालमा इन्टरनेटदेखि लुगा धुन मेसिनसम्मको सुविधा भएको भन्दै उनले खुशी ब्यक्त गरे ।

त्यस्तै बिर्तामोड–४की पूजा राजवंशी कोरोना संक्रमित भएपछि गत जेठ २७ गतेबाट नगरद्वारा सञ्चालित कोभिड आइसोलेसन सेन्टरमै उपचार गर्दै थिइन् । स्वास्थ्यकर्मी समेत रहेकी पूजाले स्वास्थ्यमा समस्या आएपछि नगरद्वारा सञ्चालित अस्पतालमा उपचारका लागि आएको बताइन् । शुरुवातमा अत्यधिक डर लागे पनि उपचारका लागि अस्पताल आएसंगै आत्मबल दह्रो भएको उनले बताइन् । चिकित्सक र नर्सको २४सै घण्टा निगरानी तथा उचित खानपिनका कारण आफ्नो स्वास्थ्यमा छिट्टै सुधार आउन सफल भएको उनले बताइन् । उनले नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड आइसोलेसनका कारण धेरै नगरबासीले उपचार भएको भन्दै नगरपालिकालाई धन्यवाद दिइन् ।

त्यस्तै विगत १० दिन उपचाररत् बिर्तामोड–१की कौशिला भण्डारी नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड आइसोलेसन सेन्टरप्रति सन्तुष्ट रहेकी छन् । कोरोना संक्रमण भएपछि उपचाररत् रहेकै समयमा घरमा वृद्ध अवस्थामा रहेका आफ्ना बुबाको निधन भएपछि केही असहज भए पनि आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै उनी खुशी छिन् । उनले चिकित्सक, नर्स तथा जनप्रतिनिधिलाई धन्यवाद दिएकी छन् ।
कोराना संक्रमणको दोस्रो लहर बढी रहेका बेला संक्रमितहरु होम आइसोलेसन, सरकारीस्तरबाट सञ्चालित आइसोलेसन तथा अस्पतालमा रहेर उपचाररत् छन् । यसै अवस्थामा बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका संक्रमितको उपचारमा सहजता होस् भन्ने उद्देश्यले गत वैशाख महिनाबाट बिर्तामोड आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । ५० शय्याको अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।
उनले भने– कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर ५० बेडको अस्पताल सञ्चालनमा ल्याएका हौं । अक्सिजनसहित नगरका डाक्टर र नर्सहरुले सेवा दिइरहेको र सकेसम्म सबै सेवा सुविधा दिन आफूहरु लागेको नगरप्रमुख शिवाकोटीले बताए ।

उनले कोरोनाको महामारी नसकिएसम्म आइसोलेसन सेन्टर सञ्चालनमा रहने बताए । नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनमा विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक संघ–संस्था लगायत विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । नगरपालिकाद्वारा सञ्चालनरत् रहेको कोभिड सेन्टरमा हाल १८ जना कोरोना संक्रमित उपचाररत् छन् । हालसम्म २७ जना पूर्णरुपमा निको भई घरफर्किसकेका छन् ।
नगरपालिकाले २८ करोड रुपैयाँको लागतमा नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको र छिट्टै निर्माण सम्पन्न गरेर सेवा सुचारु गर्ने योजनामा आफू रहेको नगरप्रमुख शिवाकोटीले बताए । भेन्टिलेटर, आसीयु र डायलासिस सेन्टर सहितको अस्पताल निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
१२ घण्टा संक्रमितको उपचारमा
बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खटिएकी कनकाई नगरपालिका–३की कञ्चन चुडाल बिरामी निको भएर जाँदा खुशी लाग्ने गरेको बताउँछिन् ।
१२ घण्टा पीपीई लगाएर बिरामीको उपचारमा खट्ने गरेको भन्दै नर्स चुडाल भन्छिन्– बिरामी अस्वस्थ्य हुदाँ चिन्ता लाग्छ तर, निको भएर घर फर्किँदा ज्यादै खुशी लाग्ने गरेको छ । पीपीई लगाउँदा गर्मी भए पनि पनि कोरोना संक्रमितको स्वास्थ्यमा सुधार हुँदा सबै दुःख भुल्ने गरेको उनले बताइन् । चिकित्सक र नर्सले पालो गरेर बिरामीको सेवामा खट्ने गरेका छन् ।

यसैबीच बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा बुझन नगरप्रमुख ध्रुबकुमार शिवकाटी र उपप्रमुख पवित्रा महतरा(प्रसाई)सहित चिकित्सक र कर्मचारीको टोली प्रत्येक वडामा पुगेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए ।






























