ती गान्धी र यी गान्धी

३१ जेष्ठ २०७८, सोमबार मा प्रकाशित
  • 736
  •  
  •  
  •  
  •  
  •  
    736
    Shares

 

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि सत्ता पक्षका सांसद र नेताहरुले उनलाई हदैसम्मको कारवाहीको माग गरेको विषयले बजार तातेके छ । ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको वैद्य अभिव्यक्तिलाई लिएर एमाले तरङ्गित बनेको छ ।

यस अभिव्यक्तिले एमाले खेमा मात्र होइन आम नेपाली जनतालाई इतिहासका गर्भमा रहेका केही रहस्यमयी घटनाहरुलाई पनि सम्झाइरहेको छ । कांग्रेस सांसदको यस अभिव्यक्तिको सर्वत्र विरोध समेत भइरहेको छ । वैद्यले माहात्मा गान्धीको उदाहरण दिदै केपी ओलीका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । सन् १९४८ जनवरी ३० मा माहात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेको थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो चरणमा चालेका राजनीतिक कदम र निर्णयहरुको बारेमा राजनीतिक व्याख्या विश्लेषणहरु आफ्नो हिसाबले गर्ने विज्ञहरुको बिचमा वैद्यको अभिव्यक्तिले भारतका ती गान्धी र नेपालका यी गान्धीबिच तादम्यता र सम्बन्ध पक्कै पनि खोजीरहेका छन् ।

भारतका ती गान्धी :

३० जनवरी, १९४८ मा भारतको राजधानी दिल्लीस्थित आफ्नो आश्रममा साँझ प्रार्थना गर्न निस्किंदै गर्दा हिन्दू अतिवादी नाथुराम गोड्सेले चलाएको गोलीबाट मोहनदास करमचन्द गान्धीको निधन भयो । अहिंसालाई जीवन–दर्शनको रूपमा अँगालेका र कर्मले ‘महात्मा’ उपनाम पाएका गान्धी स्वयम् हिंसाकै शिकार भई मृत्युवरण गर्नु ठूलो विडम्बना थियो । अहिंसा र सद्भाव, गान्धीको जीवनका सार थिए । तर, राजनीतिमा निरपेक्ष अहिंसा र सद्भाव कति सम्भव भन्नेमा दार्शनिक रूपमै गम्भीर मतभेद छन् ।

किनभने, जब हामी राज्यको अवधारणामा जान्छौं, यो आफैंमा हिंसाको साधन हो । सेना, प्रहरी, बन्दूक, संविधान, ऐन, कानून, नियम, अड्डा–अदालत— सबै बल प्रयोगका साधन हुन्, राज्यलाई बल प्रयोग गर्ने वैधानिकता प्राप्त छ । हिंसाको जन्म बल प्रयोगबाटै हुने हो । तर, यो बल प्रयोगलाई आधुनिक शासन प्रणालीले शिष्ट, सभ्य, मर्यादित र सीमायुक्त बनाएको छ । त्यसैले गान्धीको ‘रामराज्य’ को भौतिक रूपमा सम्भव नदेखिए पनि यसले एउटा आदर्शका रूपमा भने आफूलाई उभ्याएको छ । अर्थात् कल्पना नै सही, गान्धीले एउटा आदर्श राज्यको मानक छाडेर गएका छन् । गान्धीका अनेक मत छन्, जोसँग सहमत हुन सकिन्न । तर, पनि उनी बीसौं शताब्दीका एक महान् व्यक्तित्व हुन्, जसले भारत जस्तो विविधता, जटिलता र संवेदनशीलता भएको मुलुकबाट अंग्रेजलाई रक्तपातविहीन आन्दोलनका माध्यमबाट हटाउने नेतृत्व गरे ।

कुनै एक जाति, धर्म, समुदाय वा भौगोलिक अवस्था नरहेको भारतमा करोडौं मानिसलाई एकसाथ परिचालन गर्न सक्ने असाधारण नेताका रूपमा गान्धीलाई सम्भवतः कसैले प्रतिस्थापन गर्न सक्ने छैन । वस्तुले चेतनाको निर्माण गर्दछ भनेझैं युगको ठोस अवस्था र त्यसलाई व्यवहारमा लागू गर्ने आवश्यकताले नै नेता जन्माउँछ । भारतमा आधिपत्य जमाएको अंग्रेजलाई लखेट्न जुन नेतृत्वको आवश्यकता थियो र परिस्थितिले जे माग गरेको थियो, त्यसैका लागि गान्धीको उदय भएको थियो ।

स्वतन्त्रता त अरू तरिकाबाट पनि प्राप्त हुन्थ्यो होला । तर, गान्धीले जुन प्रकारले शान्तिपूर्ण रूपमा भारतीयहरूलाई आन्दोलनका लागि जगाए, त्यसले विश्वमै नयाँ सन्देश र बाटो देखायो। अंग्रेजका विरुद्ध ‘पूर्ण स्वराज’ को माग गर्दै गान्धी नेतृत्वको सत्याग्रह र अवज्ञाको अहिंसात्मक आन्दोलन कुनै तोप–गोलाभन्दा कम शक्तिशाली सावित भएन । परिणामतः कुनै समय संसारमा ‘घाम नअस्ताउने’ भनेर कहलिएको बेलायती साम्राज्यका साथै फ्रेन्च, डच, पोर्चुगिज आदि विशाल साम्राज्य आज इतिहास बनेका छन् ।

संयुक्त राष्ट्रसंघले उनको जन्म दिन २ अक्टोबरलाई ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ का रूपमा स्वीकार गरेर गान्धीको महत्वलाई विश्वसामु थप उजागर गरेको छ । यसले गान्धीलाई विश्वव्यापी नेताका रूपमा स्थापित गर्नुका साथै आजको पुस्तामा स्मरणीय बनाइरहन मद्दत पनि गरेको छ ।

गान्धीलाई एकातिर भारतबाट अंग्रेज धपाउनु थियो भने अर्कातिर हिन्दू–मुस्लिम सौहार्दता कायम राख्नु थियो । हुनसक्छ यही उद्देश्य हासिल गर्न बीचको बाटो खोज्ने क्रममा उनलाई अहिंसात्मक आन्दोलनले तानेको हुनुपर्छ ।

नेपालका यी गान्धी :

१४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । नवौँ महाधिवेशनमा रोगीलाई पार्टी अध्यक्ष बनाउनु हुँदैन भनेर चर्को प्रचारबाजी गरियो । तर पनि माधवकुमार नेपाललाई ४५ भन्दा धेरै मतले पराजित गर्दै उनै पार्टी अध्यक्ष बने, त्यसपछि पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए ।

रोगीलाई दुई दिनका लागि अध्यक्ष बनाउनु हुन्न भन्नेहरु अहिले दुला पसेका छन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले नाकाबन्दी लगाइसकेको थियो । तर, उनी भारतसँग झुकेनन्, अन्ततस् उनकै कार्यकालमा नाकाबन्दी पनि खुल्यो । नाकाबन्दीको समयमा प्रधानमन्त्री बनेका ओलीले मुलुकमा रेल र पानी जाहज कुदाउने, लोडसेडिङ अन्त्य गर्ने, घरघरमा ग्यासको पाइप पु¥याउने र हावाबाट बिजुली निकाल्ने जस्ता योजना अघि सारे । उनले ती योजना ल्याउँदा आलोचकहरुले उनलाई हाँसको पात्र बनाए, मजाक गरेको भन्दै खिल्ली समेत उडाए ।

तर उनै ओलीले अघि सारेको योजनाको चर्को आलोचना गर्ने नेपाली कांग्रेसले पनि आफ्नो चुनावी घोषणापत्रमा रेलको फोटो नछापी चित्त बुझाएन । ओलीले सारेका योजनासहित कांग्रेसले पनि रेल कुदाउने र लोडसेडिङ अन्त्य गर्नेसहितका विषय समेटेर कांग्रेसले पनि घोषणा पत्र ल्याएपछि आलोचक मुख थुन्न बाध्य भए । भारतीय नाकाबन्दीसँग जुध्दै पहिलो कार्यकाल बिताएका ओलीलाई जनताले पनि साथ दिए । खाना पकाउने ग्यासको हाहाकार भएका बेला ओली नेतृत्वको सरकारले दाउरा बाँडेर भए पनि जनताको चुल्हो निभ्न दिएन ।

तर त्यसबीचमा पेट्रोलियम पदार्थको चरम अभाव भयो । सर्वसाधारण नागरिक केही लिटर तेलका लागि रातदिन लाइन बसे तर ओलीको राष्ट्रवादी लाइनलाई साथ दिँदै कष्ट सहिरहे । ओलीलाई साथ दिएका सर्वसाधरणले भारतको चर्को विरोध गरे यो ओलीका लागि ठूलो सफलता थियो ।

नेतालाई गाली गर्ने युवापुस्ताको पनि ओलीले त्यो बेला मन जिते । २०७२ असोज ३ गते नयाँ संविधानको घोषणा गर्दा नेपालले इतिहासकै ठुलो चुनौतीको सामना गर्नुपरेको थियो । नेपाल आफैँले संविधान जारी गर्ने कुराले भारत रुस्ट भइसकेको थियो । तर, ओलीसहितका केही नेताको अडानकै कारण संविधान घोषणा भयो ।

संविधान घोषणा गर्दा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । कोइरालासँगै ओली तत्काल संविधान जारी गर्ने पक्षमा थिए । संविधान जारी गर्न दबाब दिएकै कारण उनले मधेस र भारत विरोधीको बिल्ला पनि भिर्नु प¥यो ।

भारतले तत्काल संविधान जारी नगर्न भन्दै हस्तक्षेप नै गर्न खोज्यो । तर नेपालले यो कुराको नजरआन्दाज गर्दै संविधान जारी ग¥यो । संविधान घोषणा गर्ने समयमा सबैभन्दा बढी सक्रिय नेताका रुपमा थिए ओली । माओवादीका कटु आलोचकरुपमा स्थापित ओलीले माओवादी केन्द्रसँगै पार्टी एकता गरे । उखान टुक्का मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतालाई प्रहार गर्न सीपालु उनैको नेतृत्वमा माओवादी पनि आइपुगेको छ ।

नाकाबन्दीताका भारतविरोधीका रुपमा आरोप खेपेका ओलीसँग भेट्न प्रधानमन्त्री नहुँदै विदेशमन्त्री सुष्मा स्वराज आइपुगिन् । मधेसवादी दललाई समेत ओली सरकारलाई सहयोग गरेर अघि बढ्न सुझाउँदै उनी फर्किइन् । मधेस आन्दोलनका बेला ओली विरोधी देखिका मधेसवादी दलले समेत अहिले उनलाई समर्थन गरेर सरकार बनाउन साथ दिएका छन् ।

आफुलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने ओलीको स्वभावका कारण पार्टीमा उनीको शक्ति बढेको छ । सात प्रदेशमध्ये एमालेले पाएका ४ प्रदेशमा उनीनिकट मुख्यमन्त्री छन् । यसरी राजनेताको छवी बनाउँदै अघि बढेका के पी ओलीले वर्तमान सरकार टिकाउन चालेका कदमहरु र संसद विघठन गरी अध्यादेश मार्फत लागु गरिएका कतिपय प्रावधानले आफैँलाई समस्यामा पार्ने कार्य गरेको भन्ने प्रशस्त टिप्पणी हुन थालेको छ । राजेन्द्र महतो सहित आधा भन्दा धेरै संख्यामा मधेशवादी दलहरुको नेतृत्वमा मन्त्री परिषद् गठन हुनु र नारिकाता जस्तो संवेदनशिल विषयमा अध्यादेश जारी गर्नुले उब्जेका धेरै शंका उपशंकाहरुको कारण आएका अभिव्यक्ति हुन भन्दा फरक नपर्ला ।

यसरी भारतका ती गान्धीको कार्य र स्वभावसँग वैद्य लगायतले बनाएका नेपाली गान्धीको कार्य र स्वभावमा कति मेल खान्छ हेर्न र बुझ्न सकिन्छ । विरोध र समर्थन त संसारमा सबैको हुन्छन् भर्खर मात्र फ्रान्सका युवा राष्ट्रपतिले पनि जनताको थप्पड खानु परेको थियो । तसर्थ सबैको हेर्ने नजरियाको कमाल नै मु्ख्य हो भन्ने निष्कर्ष सहित यो आलेख टुङ्ग्याए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here