व्यवसायिक तरकारी खेती गर्नेलाई सहयोग

0
911

विनोद सापकोटा,
झापा ।

शिवसताक्षी नगरपालिकाको वडा नम्बर ५ सबैभन्दा बढी व्यवसायिक तरकारी खेती हुने वडा हो । आदिबासी जनजाती समुदायका मानिसको अधिक बसोबास रहेको यो वडाका अधिकांश किसानको आम्दानीको मुख्य श्रोत तरकारी खेती नै हो ।

खेती नहुने किसानले साहुका जग्गा ठेक्का र लिजमा जग्गा लिएर तरकारी खेती गर्छन भने खेती हुने किसानले आफै गर्छन । नगरमा यसरी नै व्यवसायीक तरकारी खेती हुने अन्य ४ र ६ नम्बर वडा पनि हो । यहाँका स्थानीयले पुस्तौ देखी तरकारी खेती गर्देै आएका छन् ।

५ नम्बर वडाकी नदिया राजबंशीले धान, मकै, तोरी, गौं लगायतका बालिको खेती नगरेको वर्षौ भयो । तरकारी खेतीले उनलाई राम्रो आम्दानी दिएपछि धान, मकै, गौँ लगायतका बालिको खेती उनले नगरेकी हुन् । उनले भनिन् ‘भात खान त थोरै खेतीमा तरकारी बाली लगायो भने खान पुगिहाल्छ नी ।’

उनको ७ कठा जग्गा छ । त्यै जग्गाामा उनले तरकारी खेती गरेर बार्षीक २ लाख बढी आम्दानी गर्छिन । उनका अनुसार धानखेती गर्दा प्रतिकठ्ठा ६ मनका दरले धान फल्यो भने ४२ मन हुन्छ । बजारमा त्यसको मुल्य प्रतिमन १२ सय नै भयो भनेपनि ५० हजार ४ सय मात्र हुन्छ ।

तर, यतिधान फलाउन किसानले जोत्न, मल बीउ, पानी र मजदुरको ज्याला गरेर २० हजार बार्षीक खर्च गर्नुपर्छ । राजबंशीले भनिन् ‘वर्ष भरी श्रम गर्दा ५ जना परिवारको गुजारा चलाएर पनि २ लाख तरकारी खेतीबाटै आम्दानी गर्न सकिने त म आफै उदाहरण हुँ ।’

उनले फुलकोभी, बन्दाकोबी, खोर्सानी, टमाटर, आलुु, प्याज, लसुन, रायो, भिण्डी, भेन्टा लगायतका तरकारीको खेती गर्ने गरेकी छन् । ‘तरकारी सिजन अनुसारको खेती हो । बेमौसममा पनि तरकारी खेती मनग्ये हुने गरेको छ,’ उनले भनिन् ।

डेढ दशकदेखि तरकारी खेती गर्दे आएका अर्का ऋषीदेब शाहले खाद्यान्नबाली भन्दापनि तरकारी बालिबाटै मनग्य आम्दानी गर्न सकिने बताए । किसानले उत्पादन गरेका तरकारीेले जिल्लामा राम्रो बजार पाउने हो भने वार्षीक ३ देखि ५ लाख आम्दानी गर्न अरु कुनै पेसा व्यवसाय गर्नु नपर्ने ऋषीदेबले बताए । ‘भारतबाट आयात हुने तरकारीलाई सरकारले नियन्त्रण गर्ने हो भने तरकारी खेती गर्ने किसानका दुखका दिन हराउने छन्,’ उनले भने ।

५ नम्बर वडामा तरकारीको सामुहिक खेती पनि हुने गरेको छ । स्थानीय जगतवीर लिम्बुको नेतृत्वमा २२ जना किसानले ४ बिघामा तरकारी खेती वर्षौदेखि गरिरहेको वडा अध्यक्ष सत्यनारायण राजबंशीले बताए । वडामा २५ वटा व्यवसायीक तरकारी खेती गर्ने समुह छ । मौषम अनुसारको तरकारी खेती गर्ने गरेको समुहका अध्यक्ष लिम्बुले जानकारी दिएका छन् ।

मंगलबार वडामा तरकारी खेती गर्ने किसानकोे पहिचान गरि उनीहरुलाई विभिन्न कृषी सामग्री अनुदान दिएको छ । वडामा व्यवसायीक तरकारी खेती गरिरहेका किसान र समुहले अनुदानमा कृषी सामग्री पाएका हुन् । २२ जना किसानले टनेल, २३ जनाले मन्चिङ्ग प्लाष्टिक, ३१ जनालाई स्प्रे टयाँकी, र ३१ जनालाई प्रांगारिक मल प्रदान गरेको थियो । समुहमा खेती गर्ने किसानले पनि सामग्री पाएका छन् ।

वडाले कृषि विधा तर्फ ४ लाख बराबरका कृषी सामाग्री अनुदान दिएको हो । यस्तै वडामा रहेको पशु सेवा केन्द्रमा पशुको नस्ल सुधारका लागि २ लाख ४० हजार बराबरको एआई कन्टेनर पनि प्रदान गरेको छ । यी सामग्री वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख चन्द्रकुमार सेर्मा, वडा अध्यक्ष सत्यनाराययण राजबंशी र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले प्रदान गरेका थिए ।

नगर प्रमुख सेर्माले उन्नतजातका तरकारी बालीको खेती गरिरहेका किसानलाई हौषला प्रदान गर्न नगरले कृषी सामग्री अनुदान दिने गरेको बताए । नगरमा यो कार्यक्रम तीन वर्ष देखी संचालनमा रहेको छ । उत्पादन बढाउनका लागि तरकारी खेतीमा प्रयोग हुने टनेल, मन्चिङ मेसिन, स्प्रे टकी लगायतका सामग्री किसानलाई वितरण गर्न थालिएको उनले बताए ।

किसानलाई उन्नत् बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिँचाइका लागि पम्प सेट र रासाइनिक मलमा सहयोगसमेत नगरपालिकाले गर्दे आएको छ । प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले किसानले अनुदानमा पाएका सामग्रीको अधिकत प्रयोग गर्न किसानलाई अनुरोध गरिन् । ‘सकिन्छ सदुपयोग गर्नुहोस, सकिदैन दुरुपयोग चै नगर्नुहोस,’ उनले भनिन् ।

नगरमा तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर वडाले योजना बनाइ यान्त्रिकरण र आधुनिक तरिकाले तरकारीखेती गर्न सामग्री प्रदान गरिएको वडा अध्यक्ष सत्य नारायण राजबंशीले बताएका छन् ।

५ नम्बर वडाका सबै जनप्रतिनिधि कार्यक्रममा सहभागी थिए । उनिहरुले निर्वाचनताका जनतासंग बोलेका कुरा पुरा गर्ने क्रममा कृषि क्षेत्रका सामग्री किासनलाई अनुदानमा दिन वडामा यो कार्यक्रम समावेश भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here