मेलम्ची ब्लूज

५ असार २०७८, शनिबार मा प्रकाशित

सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले निकै ठूलोमात्रामा जनधनको क्षति गरेको छ । बाढी त पहिला पनि आउने गरेको थियो नै । ती धमिलो बाढी मेलम्ची खोलै खोला सुसाउँदै सलल गरेर जान्थे । तर यसपालीको बाढी निकै अचम्म किसिमले आएको स्थानीयहरुले बताएका छन् । अस्सीवर्षपछि यस्तो बिनाशकारी बाढी आएको उनीहरुको भनाई रहेको छ । सय या दुईसय वर्ष अघि बनेको ऐतिहासिक झोलुङ्गे पुल समेत बगाएको बताएका छन् ।

यसपाली चाहिँ लेदो माटोको बाढी आएको छ । बाढी आएर आफ्नै बाटो गए त भै गयो नि, तर त्यो लेदो मेलम्ची बजार क्षेत्रमा नै अडिएर बसेको छ । मानौ उसले मेलम्ची बजारमा भिटा लिएको होस । घर बनाएको होस र घरघरका कोठाकोठामा पसेको होस । ती माटोसरीका लेदोले मेलम्ची बजारको ठूलो भागका र खोला किनार आसपासका घरहरु तीनतलासम्म पुरिदिएको छ । मेलम्चीको अहिलेको दुःख यही नै भयो ।

लेदो माटो सहितको बाढी आउनुको कारण ७२ सालको भुकम्पलाई बढी दोषी मानिएको छ । भुकम्पले सिन्धुपाल्चोकका धेरै पहाड, पहरामा गहिरो चिरा पारेको र ती क्रमैले वर्षैपिच्छे बर्षाको पानीमा पग्लिने गरेका छन् । यसै क्रममा यसपाली पनि चर्किएका पहाड पग्लिए तर निकै ठूलो मात्रामा । पहाड पग्लेर पहिरो बनि खोला थुन्यो । खोला थुनिएर जम्मा भएको ठूलो मात्राको पानी र पहाड पग्लेर बनेको लेदोमाटो भिषण वर्षासँगै बग्दै मेलम्ची बजार क्षेत्रमा आइपुगेर थुप्रियो । जमिनको सतह अलिअलिमात्र उकास भए त कम क्षति हुने थियोे नि तर आरसिसि प्रविधिका सयभन्दा बढी सुन्दर घरहरुको तीनतलासम्म पुरिने गरि लेदो थुप्रियो । जसका कारण धेरै धन क्षति हुन पुगेका छन् ।

सञ्चारमाध्यमका स्क्रिनहरुमा मेलम्चीका बाढी पीडितहरुले मेलम्ची अब कम्तिमा पचासवर्ष पछि धकेलिएको बताउँदै गरेका दृष्य देखिएका छन् । प्राकृतिक रुपमै निकै सुन्दर, पर्यटन र ब्यापार, व्याबसायले गुल्जार, हाँसीखुशी रहेको मेलम्ची हेर्दा हेर्दै बगरमा परिणत भयो । त्यहाँका जनताले आँशु मिश्रित स्वरमा अब मेलम्ची र मेलम्चीका हामी कम्तिमा पचास वर्ष पछि धकेलियौँ भन्ने भाव व्यक्त गरिरहेका छन् । मेचम्ची खोला किनारमा रहेका मुरीका मुरी अन्न दिने हराभरा खेतबारी लेदो माटोले पुरिदिँदा किसानहरु भक्कानिएका छन् । परिवारका सदस्यहरुका मृत्युमा शोकमा डुबेका छन् । एकातिर परिवारजनको मृत्यु भएका छन् अर्कातिर घर पुरिएका छन् अनि खेतबारी पनि बगर बनेका छन् । दोहोरो, तेहरो मारमा परेका छन् मेलम्चीबासीहरु ।

हजारौँका दुःख, मेहनत, रगत, पसिना, सपना, खुशी र भबिष्य पुरिए : असार १ गते मंगलबार साँझको पाकेका भात तिहुन समेत खान पाएनन् मेलम्चीबासीहरुले । रुखका मुडा, लेदो माटो सहित गडगडाएर मेलम्ची अनाचक आइ पुगिहाल्यो । सबै भागारे भाग गर्दै अग्लो स्थानतिर उक्लिए । कति उक्लिन सकेनन् । रातभरी पानीझरीमा भिजिरहे । घर र घरमा भएका सामान के भए होलान् भन्ने चिन्ताले रातभर जागै रहे । बिहान उज्यालो भएसँगै देखिएका दर्दनाक दृष्यहरुले मेलम्चीबासीहरुको आँशु थामिएन । एकतलेघरहरु त मेलम्चीको बाढीको लेदोमा पुरिएर हराएका थिए । घरहरु तीनतलासम्म लेदोले पुरिएका थिए । बुधबार दिनभर बाढीको कहर चलिरह्यो । रुवाबासी, दुःख र शोकले मर्माहत बने मेलम्चीका बासिन्दा ।

शुक्रबारसम्ममा बाढी र पानी पर्न केही कम भएपछि उनीहरु दलदलमा भाँसिदै घरघरमा पुगे । तर घरभित्र जाने बाटो र ढोकोहरु लेदोले पुरिएका थिए । सिँढीहरु अदृष्य भएका थिए । घरधनीहरु घरको छतबाट घरभित्र छिरेका देखिए । आवश्यक हल्का सामान निकाले । लत्ताकपडा, भान्साका सामान, अन्नपात आदि हतारहतार निकालिरहेका देखिए । उनीहरुलाई प्रहरी र सेनाहरुले सहयोग गरिरहेका थिए । स्वयम्सेवी युवाहरुपनि सहयोगमा जुटेका देखिए । व्यापार, व्याबसाय प्रायशः घरको भुँइतला र पहिलो तला हुने गर्छन् तर ती सबै बाढीको लेदोले पुरिएका छन् । क्षतिको कुनै लेखाजोखा छैन । ठूलो नोक्सानी भएका छन् धेरैका । बजार क्षेत्रका सय घरभन्दा बढी घर यसरी पुरिएका छन् । नोक्सानी त्यही अनुपातमा भएका छन् । त्यहाँ हजारौँका दुःख, मेहनत, रगत, पसिना, सपना, खुशी र भबिष्य पुरिएका छन् । त्यहाँ कैयन प्रकारका पसलहरु पुरिएका छन् । वित्तिय संस्थाहरु लगायत कैयन सेवाप्रदायक कार्यालय पुरिएका छन् । लाखौँ, करोडौँ धन पुरिएर नष्ट भएका छन् । कतिपय स्थानीयले व्यक्त गरे, अब हामी करोडपतिबाट रोडपति भयौँ । कति दुःखले जोडेका सम्पति हेर्दा हेर्दै बगर हुँदा मेलम्चीका बासिन्दाका मन कस्तो भयो होला ?

महिलाहरुलाई बुहार्तन थपिए : प्रकोपले जहिले पनि अनुपातका हिसाबले महिलाहरुलाई धेरै दुःख थपिदिन्छ । महिलाहरुलाई कामको भारी थपि दिन्छ । जीवनमा खाइनखाइ गरेर दुःखले बनाएको घर बाढीको लेदोले पुरिदिएपछि उनीहरुको हौसला, आशा र सपना पनि पुरिएका छन् । महिलाहरुका लागि आफ्नै घर कति महत्वको हुन्छ ? अब जीवन पुनः शून्यबाट शुरु गर्नुपर्ने भएको छ । पुनः घर जोडन दुःख गर्नुपर्ने छ । महिलाहरुलाई घरको बुहार्तन दोहोरिएका छन् । ज्येष्ठ नागरिक र बालबालिकाहरुको पनि बेहाल छ । उनीहरु साराका दुःखमा सरकारले कस्तो सहयोग गर्ला । बाढीले ल्याएको लेदोमाटोले बनेको जमिनको सतह उकास हटाउने योजना नेपाल सरकारले लागू गरोस् । मेलम्ची खोला पुरानै मार्गमा बगोस् । मेलम्ची बजार पुरानै लयमा वापस आओस् । अनि काठमाडौबासीका मेलम्चीको पानी पिउने सपना पुरा होओस् ।

बस्ती खोला पसेको छैन : मेलम्चीका जनतालाई कस्तो पीडा भइरहेको छ तर कतिपय मानिसहरु मेलम्चीबासीलाई दोष दिइरहेका छन् । खोलामा बस्ती पसेपछि भन्न पछि परिरहेका छैनन् । अन्य कतिपय ठाउँमा अतिक्रमण भएका होलान् तर मेलम्चीको हकमा त्यस्तो कदापि भएको होइन । बाढी त पहिले पनि आइरहेकै थियो नि । यसपालिको कहर सयप्रतिशत प्राकृतिक देखिएको छ । यो प्राकृतिक बिपत्ती हो । जल तथा मौसम विज्ञान विभागले यसपाली कतिपय ठाउँमा दुईवर्षमा पर्नेजति पानी केहीदिनभित्रै परेको बताएको छ । वर्षाभरीमा पर्ने पानी नेपालमा मनसुन शुरुभएसँगै केहीदिनभित्रै परेको बताएको छ । मेलम्ची क्षेत्रमा पनि यस्तै भएको हुनुपर्छ । अर्कोतिर ग्लोबल वर्मिङ्गका कारण विश्वमै बढी पानी पर्ने र बाढी आउने समस्या देखिँदै आएका छन् । नेपालमा पनि यसको असर देखिएको हो । विज्ञहरुको यस्तै भनाई रहेका छन् ।

प्राकृतिक कुरालाई पाप र धर्मसँग पनि जोडिने गरिएको पाइएको छ । मेलम्चीबासी कै बुढापाकाहरुले पनि यस्तै कुरा गरेका पाइयो । जुन मेलम्चीको कहरसँग कुनै सम्बन्ध छैन तर पनि मानिसहरु यस्तो तथ्यहीन कुरा गर्न पछि पर्दैनन् । यस्ता आक्षेपले क्षतिले बेहाल भएका मेलम्चीबासीलाई थप मर्माहत बनाउँछ । पीडामा परेका मेलम्चीबासीहरुलाई सान्त्वना, हौसला र सहयोगको आवश्यकता परेका बेला पाप धर्मको कुरा कति जायज होला ?

अब ऋण कसरी तिर्नु ? धेरैले ऋण काडेर पसल, व्यापार, व्याबसाय खोलेका होलान् । ऋण गरेर घरेडी किनेको होलान् घर बनाएका होलान्, तला थपेका होलान् । मेलम्चीका बाढी पीडित यसै भन्दै छन् । भर्खरै ऋण गरेर पसलमा सामान थपेका थियौँ । ऋण गरेर घर बनाएका थियौँ । सबै पुरिए, अब ऋण कसरी तिर्नु ? भन्दै थिए ।

सरकारले आर्थिक सहयोग र पुनःस्थापनाको कार्यक्रम ल्याओस् : सरकार मनकारी भए चारपाँच अरब बजेटले बाढीले गरेको सतह उकास हटाउन पुग्ने छ । त्यहाँबाट हटाइएको माटो र बालुवा अन्य निर्माण परियोजनामा प्रयोग गर्न सकिन्छ । सरकारले उकास सतह हटाएन भने घरको जति तला पुरिएको हो त्यति नै तला थप गर्ने आर्थिक सहयोग गरोस् । सरकारले उकास भएको सतह हटाएन भने र घरको तला थप्न सहयोग गरेन भने मेलम्चीबासीहरुले त्यही उकास सतहलाई नै जमिन मानेर उकासमाथिको बचेको घरको संरचनालाई नै घर मान्नु पर्ने हुन्छ । त्यसैबाट व्यापार, व्यबसाय या जीवन गुजारा चलाउनु पर्ने हुन्छ । आशा गरौँ सरकारले सार्थक सहयोग गरोस् ।

राहत वितरणमा राजनीतिक रङ्ग प्रदर्शन : राहत वितरण गर्दा राजनीतिक व्यानर देखाउनै पर्ने, राजनीतिक पार्टीको नाम लिनै पर्ने के बाध्यता छ ? त्यति मात्र कहाँ हो र एक राजनीतिक पार्टीले लगेको राहत सामग्री अर्कै राजनीतिक पार्टीले खोसेर अर्कै राजनीतिक पार्टीका नामबाट वितरण गरिएको प्रसंग पनि सुन्न र देख्न पाइयो । जस पाउन कति हतार ? पहिला सहयोग गर्नुहोस् पछि कम्पाइल गरेर प्रतिवेदन बनाउनु होस् । हो त्यसमा चाहिँ प्रमाणसहित राजनीतिक पार्टीको नाम उल्लेख गर्न सकिन्छ । सहयोगको मात्रा पीडित जनताले थाहा पाइहाल्ने छन् ।

सिन्धुपाल्चोकमा पहाडहरु प्राकृतिक रुपमै निकै भिरालो र चुच्चो रहेका छन् ः त्यसैले पनि त्यहाँ पहिरो र बाढीको प्रकोप सजिलै हुने गर्दछन् । त्यसमा पनि ७२ सालको भुकम्पले हल्लाएका र चिरा पारेका पहाडहरु भिषण वर्षामा पग्लिने सम्भावना धेरै भएको मान्न सकिन्छ तर ठूलो मात्रामा लेदो माटो आउला भनेर सरकारी निकाय समेतले अनुमानसम्म पनि लगाउन सकेका रहेनछन् । अर्लि अलार्म सिस्टम पनि अहिलेसम्म जडान गरिएको छैन रहेछ । खर्बौको मेलम्ची खानेपानी परियोजना क्षेत्रमा पूर्व सूचना लिने प्रणाली स्थापना गरिएको रहेनछ ।

जमिन मुनि भेटिएको प्राचीन शहरको कथा जस्तै : हामीले कहीँकतै पढ्ने गरेका छौँ कि, जमिन मुनि प्राचीन शहर भेटियो । पानी मुनि सुन्दर शहर भेटियो । मेलम्ची घटनाले यी कुरा पुनः सम्झना गराएको छ । शहरहरु यसरी नै जमिन मुनि पुरिएका हुँदा रहेछन् । मानिसहरुले प्रयोग गर्ने यावत सामानहरु सहित शहर पुरिँदा रहेछन् ।

सम्बन्धित निकायको भनाई : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रुमख विक्रम श्रेष्ठका अनुसार मेलम्ची क्षेत्रमा जेठ २९ गते नै सबैभन्दा बढी पानी परेको थियो । त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिन हल्का वर्षा भएको थियो । घटना भएको दिन मेलम्ची क्षेत्रमा लगभग ५ः४० देखि ६ः४० बजेसम्म खोला स्वाट्टै घटेको र त्यसपछि फेरि एकैपटक बढेको देखिएकोले पहिरोले खोला थुनिएर पुनः खोला खुलेको हुनसक्ने बाढी पूर्वानुमान शाखा प्रमुख श्रेष्ठले बताएका छन् । उनले थपे, बुधबार मन्त्रीको भ्रमणबाट पनि पहिरो गएको भन्ने कुरा आएको थियो ।

असार १ गते २९.२ मिलिमिटर वर्षा भएकाले त्यसअघि नै पहिरो गएको हुन सक्छ । नकोटेस्थित सरकारी केन्द्र भन्दा केही माथि पहिरो गएको बुझिएको श्रेष्ठले बताएका छन् । पहिरोका कारण बनेको लेदोले मेलम्ची बजारमा सतह उकास भएको उनको भनाई छ ।

हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का रिभर बेसिन एन्ड क्राईअस्फिअरका क्षेत्रीय कार्यक्रम व्यबस्थापक अरुणभक्त श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्राकृतिक प्रकोप हुने जोखिमको दृष्टिकोणबाट एक किसिमको केन्द्रबिन्दु नै रहेको बताएका छन् । पहिरोले नदी थुनेको र त्यसपछि बाढी आएको उनको भनाइ रहेको छ । उक्त क्षेत्रमा ठूलो हिमताल भएको सम्भावना भने कम रहेको श्रेष्ठले बताएका छन् ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए अनुसार गुगल अर्थबाट हेर्दा उक्त क्षेत्रको माथिल्लो भागमा हिमताल देखिदैन । उक्त क्षेत्रमा केही हिमनदीहरू भने देखिएको उनको भनाइ छ । तर यस सम्बन्धमा अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

सञ्चारमाध्यमहरुको कमजोरीः टेलिभिजनका पर्दामा देखिए अनुसार मेलम्ची बजार निकै ठूलो क्षेत्रमा पैmलिएको देखिन्छ तर सञ्चारमाध्यमहरुले केवल मेलम्ची, मेलम्चीमात्र भनिरहे, भनिरहेका छन् । त्यहाँ टोलहरु होलान्, तल, माथि, वर, पर, वारी र पारी टोल होलान् तिनका नाम होलान् । बाटो, सडकका नाम होलान् । कार्यालय क्षेत्र, बजार क्षेत्र, तरकारी बजार क्षेत्र, सामान अनुसारका लाइन होलान्, गोसखान क्षेत्र, बसपार्क, होटल क्षेत्र, स्कुल क्षेत्र, बस्ति क्षेत्र आदि होलान् । ती सबैका नाम पनि त होलान् । त्यसरी सेग्मेन्ट छुटयाएर समाचार भनिएको, दृष्य देखाइएको पाइएन । समग्र क्षेत्रलाई केवल मेलम्ची मात्र भनिदिँदा मेलम्चीक्षेत्रकै बासिन्दालाई पनि भ्रम परेको होला । अन्यले केही छुट्याउन सक्ने कुरा भएन । झन् हेलम्बु क्षेत्र त कुनै सञ्चार माध्यम पुगेको देखिएन । नत्र दृष्य सहितका समाचार आइहाल्थे । हेलम्बुमा त धेरै घर, स्कुल आदि बगेको सामाजिक सञ्जालमा बताइन्छ ।

भारतीय सञ्चार माध्यमको कथन ‘मेड इन चाइना बाढ’ : भारतको न्यूज २४ नामक एक टेलिभिजनले नेपालको नारायणी नदी र सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीलाई चीनले भारत बिरुद्ध गरेको बिनाशकारी षड्यन्त्रको रुपमा समाचार प्रशारण गरेको छ । सो टेलिभिजनले चीनले नेपालमा हाइड्रोइलेक्ट्रिक प्रोजेक्टहरुका माध्यमबाट नदीका पानी मोडी जम्मा गरी बाढीको रुपमा छाडेको बताएको छ । जसले नेपाल र भारतमा तबाही मच्चाउने बताएको छ । उक्त टेलिभिजनले चीनले खासमा भारतलाई लक्षित गरेर बाढी सिर्जना गरेको आशयको समाचार सामग्री बनाएर प्रशारण गरेको छ । यो अनुसन्धानको विषय हुन सक्छ । किनकि विभिन्न उद्देश्यका लागि चीनले बेलाबेलामा कृत्रिम वर्षा गराउने गरेका समाचारहरु पनि हामीले सुनेका छौँ । अर्थात कृत्रिम वर्षा गराउने प्रविधि चीनसँग रहेको छ । तर नारायणी नदी र मेलम्ची खोलाको बाढीको हकमा भारतीय सञ्चार माध्यमले भनेजस्तो मेड इन चाइना बाढ पक्कै होइन होला ।

प्रस्तृतिः भुवन तामाङ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here