समाजसेवा, अभियान, अभियन्ता र केही सन्देहहरु !

६ असार २०७८, आईतवार मा प्रकाशित
  • 1K
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

शेषराज न्यौपाने,
​​​​​​​​​​​​हाल : युएई, अबुधाबी

कोरोना भाइरसले आक्रान्त पारेको वर्तमान परिप्रेक्ष्यमा प्रभावितहरुलाई सहयोग गर्न सरकारदेखि लिएर एनजिओ, आइएनजिओ मात्रै होइन, समाजसेवाको लागि खोलिएका हजारौं संघसंस्था राहत वितरण गर्न सक्रिय देखिन्छन् । केहीले व्याक्तिगत रूपमा सहयोग गरिरहेका छन् भने संस्थागत सहयोगको पनि ओइरो लागेको देखिन्छ ।
मानिस सामाजिक प्राणी हो । समाजमा आइपरेको विपत्तिमा स्वाभाविक रूपमा मानिसहरु एकजुट हुन्छन् । सामाजिक संजालले मानिसहरुलाई एकजुट हुन र सहयोग आदानप्रदान गर्न धेरै सहज बनाएको छ । समाजसेवाको नाममा केही स्थानहरुमा वास्तविक पीडितहरुले राहत पाएका छन् भने पछिल्ला केही गतिविधि, हर्कत र प्रतिस्पर्धाले समाजसेवा शव्दको गरिमामै प्रश्नचिन्ह उठन थालेका छन् ।

सन २००८ अक्टोबर २६ मा जब म युएईको अबुधाबी स्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न आएको थिएँ । बिस्तारै यहाँको वातावरमा घुलमिल भएँ । त्यस समय मैले काम गर्ने कम्पनीमा नेपाली लगायत भारतीय, पाकिस्तानी, बंगाली, श्रीलंकन, इजिप्सियन, नाजेरियन, इथोपियन,क्यामरुन साथै अन्य देशका नागरिकहरु पनि काम गर्थे । जो जुन देशको भए पनि यहाँ हामी सबै एकै कम्पनीको भएको र सबैले पाउने तलब सुबिधा पनि समान नै थियो, एक किसिमले एउटा परिवारका सदस्यजस्तै | कुनै देशका नागरिक समस्यामा पर्‍यो भने, सोही देशका नागरिक सक्रिय भएर सहयोग जुटाएको देखियो । अन्य देशका नागरिकमा आफ्नो देश र देशवासीप्रतिको मायाले गर्दा ठुलाठुला समस्याहरु पनि सहजै समाधान भएको पाइयो ।

समय बित्दै गयो युएईमा नेपालीहरु आउने क्रम गुणात्मक रूपमा उकालो लाग्यो । यससँगै नेपालीहरुका विभिन्न खाले समस्याहरु नजिकबाट देख्न थालियो र आफुले सकेको सहयोग कहिले ब्याक्तिगत रुपमा त कहिले कम्पनीका साथीहरुको समूह बनाई सहयोग गर्दै आफ्नै काममा ब्यस्त हुन थालियो ।

​युएई सरकारले सन २०११ मा बंगलादेशीलाई कामदार भिजामा बन्देज लगाएपछि युएईमा नेपालीहरुको रोजगारीका ढोका अझ धेरै खुलेको हो । विशेषत: क्लिनिङ कम्पनी, ट्याक्सी ड्राइभर र सेक्युरिटी कम्पनीहरुमा नेपालीहरुको संख्या २०१२ पछि निरन्तर उच्च हुन थाल्यो । जसै नेपालीहरुको संख्या बढन थाल्यो, उस्तै रूपमा समस्या पनि सार्वजनिक हुन थाले । अहिले त परदेशमा समस्यामा पर्ने नेपालीहरु दिनहुँ सम्पर्कमा आउछन् । दैनिक जस्तो कोही सडक दुर्घटनामा परेका, कोही काम नपाएर अलपत्र परेका, कोही बिरामी यस्तै विभिन्न प्रकारका समस्यामा परेका भेटिन्छन् । बिगत्मा पनि यस्तैयस्तै समस्यामा परेका नेपालीहरु आउन थालेपछि ती समस्या समाधान गर्न यहाँ रहेका विभिन्न समाजहरु आ-आफ्नै तरिकाले लागेको देखिन्थ्यो र आफुले पनि केही सकेको गर्ने गर्थे ।
यस्तै परिवेशमा झापा जिल्लाबाट वैदेशिक रोजगारीको लागि युएई आएका युवाहरू मिलेर एकता, सहयोग र सहकार्यको मुलमन्त्र लिएर समाजसेवी टेकनाथ अधिकारी, पत्रकार रामप्रसाद ढुंगेल लगायतका जुझारु युवाहरुको अग्रसरतामा झापाली समाज युएई गठन गरिएको थियो ।

​सन २०१५ मा स्थापित झापाली समाजबाट म टाडा हुने प्रश्न भएन । एक त आफुलाई पनि आफ्नै जिल्लाको समाज भए जिल्लाबासीको समस्या समाधान गर्न सहज हुनेथियो भन्ने मनमा खट्केको थियो । त्यसमाथि आफ्नै जिल्लाको सामाजिक, शैक्षिक विकास तथा समस्यामा परेका जिल्लाबासीको पिडामा थोरै भएपनि मलम लाउन पाउँदा के खोज्छस काना आखो भने झैँ भो । म पनि २०१६ को शुरुवातमा नै उक्त समाजको सदस्य बने र आफुले चिनेजानेका दर्जनौ झापालीहरुलाई एकत्रित गर्न समन्वय गर्न थाले ।

भर्खर स्थापित भएको समाज अन्य समाजको तुलनामा संख्यात्मक रुपमा सानो थियौ तर समयसंगै साथीहरुको सक्रियताले सदस्य थप्ने र आपतकालीन समस्या समाधान गर्दै एक वर्षको अन्तरालमा नै युएईको सबैभन्दा धेरै आजीवन सदस्य बनाउनेदेखि ठुलाठुला समस्यामा एक भएर समाधान गर्दै गयौं र त्यसै वर्ष युएईका साता वटा नै राज्यहरुमा जिल्ला समाजका क्षेत्रीय समाज स्थापना गर्दै युएईमा कार्यरत नेपालीहरु त्यसमा पनि झापालीहरुबीच देखिएका केही केसहरु समाधान गर्यौ |

युएईमा कार्यरत नेपालीहरुको समस्या समाधान गर्न खोलेको समाजले युएईमा मात्र नभएर नेपालमा पनि भैपरी आउने विभिन्न खाले बिपदहरुमा विभिन्न तरिकाले सहयोग गर्दै आएका छौ र यो एउटा समाजको उपलब्धि नै मान्नुपर्छ | यो क्रम अहिलेसम्म जारी छ । झापाली समाज युएईले पछिल्लोपटक झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन सिलिन्डर बैंकमा अन्तर्राष्ट्रिय झापाली समाजको समन्वयमा १० वटा सिलिन्डर बराबरको १ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ भने आफना करिब ४ सय आजीवन सदस्यहरुका परिवारलाई कोरोना लागेमा बिरामीको मनोबल उच्च बनाउन पौष्टिक खाद्यान्न, डाबर च्यवनप्रास, भिटामिन सि, मास्क, सेमिटाइजर, साबुन लगायतका प्रोत्साहन प्याकेज वितरण गरिरहेको छ ।

यसरी समाजसेवा गर्दा भएकाले दिने र नभएकोले लिने त परम्परागत चलन हो । समाजमा आवद्ध भएपछि लिनेभन्दा पनि दिने भावना बढी हुनुपर्दो रहेछ ।

​सहयोग अभियान एउटा यस्तो काम हो, जहाँ पारदर्शिता महत्वपुर्ण रहन्छ | हुनत आर्थिक मामिलामा पारदर्शिता हरेक क्षेत्रमा नै आबश्यक पर्छ । यदि तपाईमा इमान्दारिताको खडेरी देखियो भने आर्थिक पाटो कहिले सफा र इमान्दार देखिदैन । हेर्दा सामान्य लाग्ने तर अत्यन्तै जटिल काम हो सामाजिक काम । यो काममा पाउने केही हुदैन, दिने बढी हुन्छ । समाजसेवामा केही पाउने आशा राखिन्छ भने त्यो देखावटी समाजसेवा हो । विभिन्न समस्याहरुका बाबजुत निष्पक्ष्य भएर काम गर्दा पनि तपाईतिर धेरै औलाहरु तेर्सिनेछन् । ती तेर्सिएका हरेक औलालाई तपाईले चित्त बुझ्दो उत्तर दिन सक्नुपर्छ | अभियानमा तपाईका पलपलमा हुने ब्याक्तिगत खर्च आफ्नै पकेटबाट गर्न सक्नुपर्छ |

​पछिल्लो समय नेपालमा अभियानका नाममा विकृति मौलाई रहेको छ । समाजसेवा गर्ने प्रतिस्पर्धा नै चलेको अनुभव गर्न सकिन्छ ।

आफ्नो कामधन्दा छाडेर अभियान्ता भन्दै विभिन्न जिल्लामा सहयोग सामाग्री लिएर जाने अभियान्ता कसरी चलिरहेको छ ? उसले समाजसेवा आफ्नो खल्तीबाट गरेको छ कि अरुको खल्तीको पैसा परिचालन गरेर आफू समाजसेवी बनिरहेको छ ? यो महत्त्वपूर्ण कुरा हो । मेरो विचारमा आफ्नो पसिनाको कमाई दिएर सहयोग गर्नेहरु वास्तविक समाजसेवी हुन् । न कुनै ब्याबसाय न कुनै नोकरी तर जीवनशैली कुनै धनाड्य भन्दा कम नदेखिने एकै दिनमा पूर्वपश्चिम जान सक्ने क्षमता भएका तथाकथित समाजसेवीहरु मध्यस्थकर्ता मात्रै हुन् ।

हिजोसम्म सामान्य जीवनशैलीका अभियन्ता रातारात कसरी यो अबस्थामा पुगे ? यी र यस्तै धेरै प्रश्न अहिले अभियान्ता तिर तेर्सिएका छन् । सहयोग गरेको कुरा एउटा हातले दिए पनि अर्को हातले थाहा नपाओस भन्ने गरिन्थ्यो तर अहिले हातहातमा स्मार्ट फोन छ । कहिँ कतै समस्या भयो अभियान शुरु भई हाल्छ समाजसेवा ।

नेपालीहरु सहयोगी, मनकारी, करुण भावनाका भएर अरुका पिडा आफ्नै सम्झिन्छन र त्यस्ता अभियानमा तुरुन्तै सहयोग गर्छन् । उक्त अभियानमा विश्वभरिबाट कति नेपालीले कति पठाए र कति खर्च भयो कुनै हिसाबकिताब हुन्न । क्रस चेक गरिन्न । लाखौ लाख उठायो अनि दुईचार बोरा चामल वा अन्य आबश्यक सामान पीडितलाई दिएको फोटो खिच्योज फेसाबुकमा हाल्यो अनि स्वघोसित समाजसेवी बन्यो । राहतको नाममा कति रकम आयो र पीडितले कति पायो ? कुनै हिसाबकिताब छैन । आयव्ययको विवरण गोप्य बनायो । अलिअली वितरण पनि गर्‍यो र अलि धैरै चाहिँ आफै सन्चय गर्यो । यी र यस्ता धेरै प्रश्नहरुले गर्दा आज सच्चा समाजसेवा गर्नेहरु ओझेलमा पर्ने र आफुले आफैलाई अभियान्ता भन्नेहरुले समाजसेवाको परिभाषा नै बदलेका छन् ।

​एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ तर सहयोग गर्ने या अभियान चलाउने तरिका बदल्न अत्यन्त जरुरी छ । हरेक सहयोगको पारदर्शिता हुनुपर्यो । स्थानीय निकायको सहभागितामा वास्तविक पीडितलाई आबश्यक सहयोग गर्नुपर्छ | कसैले भिडियोमा धेरै आशु बगाउदैमा सबैले एकै ब्याक्तिलाई सहयोग गर्ने र सोही प्रकृतिको अर्को ब्याक्तिलाई शुन्य हुनुहुदैन |

​यी सामान्य कुरालाई मनन गर्न सके पनि अहिले उठेका अधिकांश प्रश्नहरुको उत्तर सहजताका साथ दिन सकिन्छ । त्यसैले सामाजिक काम गरौ तर आफु भाइरल हुन हैन वास्तविक पीडितलाई सही समयमा सही तरिकाले आवश्यक सहयोग गरौ |

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here