सम्भावित जोखिमबाट बचौं

0
861

यो वर्षाको समय हो । मनसुनी वर्षा हुने भएकाले यतिखेर नदीनालाहरूमा जलस्तर बढ्छ । जलस्तर बढ्दा कतै कटान त कतै डुबान हुने भएकाले नदीका छेउछाउमा बस्नेहरूले बढी सजगता अपनाउनु पर्छ। ‘आफ्नो र जिउको सम्भार नगरे आउँदैन जोवन फिरी’– बूढापाकाले भन्ने गरेका थिए । यसको अर्थ नै आफ्नो स्वास्थ्यको सुरक्षा आफैंले गर्नुपर्छ भन्ने हो । सभ्यताको बिकासको आधार नदीहरू हुन् । नदी किनारको उर्वरताले मानव सभ्यताको बिकास हुँदै जाँदा आज विज्ञानको बिकासले आकाश छोएको छ। तर, त्यही नदी कहिलेकाँही दुःखको कारण बनिन्छ , जनधनको क्षति गरेर अकल्पनीय पीडा दिएर जान्छ । प्रत्येक वर्षामा हिमाली देशका हामी नेपालीले नदीजन्य पीडा खप्नु परेको छ । यो वर्ष देशको मध्य र पश्चिम नेपालमा अनायास आएको बाढीले गरेको क्षति देख्ने सुन्नेका लागि ह्रदयविदारक छ । आखिर सभ्यताको उद्गमस्थलमा नै यस्तो संहारक विपद् किन आइपर्छ जलवायु, वातावरण र भूगर्भविद्को खोजको विषय बन्नुपर्छ ।

भन्ने गरिएको छ– अनावृष्टि, अतिवृष्टि र खण्डवृष्टिको कारण जलवायु र पारिस्थितिक प्रणालीमा आएको परिवर्तनको परिणाम हो। पृथ्वीमा रहेको जैविक भिन्नतालाई यथावत राख्न सकिए मात्र मानव सभ्यता सुरक्षित हुन्छ। वातावरणविज्ञहरू भन्दैछन् – हिमाल पहाडमा सडक सञ्जाल विस्तार गर्ने नाममा विकास भएको ‘डोजर संस्कृति’ ले जमिनको अवस्थिति खलबलिएर पहिरोको जोखिम बढेको छ । वैज्ञानिक अध्ययनबिना गरिने विकास र नदी क्षेत्रको उत्खननले पहिरोसँगै बाढी र डुबानले वर्षेनि ठूलो विनाश हुन थालेको छ । यसबाट हिमाल, पहाड र तराईमा परेको असर कम गर्न राज्यका तर्फबाट योजनावद्ध नीति र कार्यक्रम नल्याइँदा आमजनताले असुरक्षित जीवन बाँच्नु परेको छ। विपत व्यवस्थापनका लागि समिति बनाइन्छ तर, पूर्वतयारी र सजगता अपनाइँदैन । फलस्वरुप वर्षेनि सयौंले जीवन गुमाउनु पर्छ, वेपत्ता बनिनु पर्छ र अर्वौंको सम्पत्ति नष्ट हुन्छ।

शहरोन्मुख मानसिकताले पनि वर्षाको कहर खप्नु पर्ने हुन थालेको छ। ग्रामीण क्षेत्रहरू बजार हुँदै शहरमा रुपान्तरण हुन थालेपछि हिजो खेतीका लागि प्रयोग भएका कुलो, पैनी आज कंक्रिटको घरले भरिएका छन् । आकाशकै पानीले पनि निकाश पाएन भने मानवीय क्षति गर्नसक्छ भन्ने चेत हराएर शहरले पनि वर्षाको पीडा खप्नु पर्दैछ । त्यसमाथि घनाबस्तीबाट निस्कने ढल समेत नदीनालामा मिसाउनाले खोल्साखोल्सीले पनि बाढीको रुप लिएर वितण्डा मच्चाउने गरेको छ । मुलुक संघीय संरचनामा गइसकेको छ । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइएको छ तर, तिनले पनि दूरगामी दृष्टिकोणले विकासनिर्माणका गतिविधि सञ्चालन गरिरहेका छैनन् । अर्धदक्ष जनशक्तिको भरमा गरिएको योजनाले वातावरणमैत्री र भौगर्भिक हिसाबले दिगो बिकास हुन सक्दैन । त्यसकै परिणामले आजको जटिलता झन् बढी देखिन थालेको छ । पहाडसम्मको बसाइ पहिरोको जोखिममा छ भने तराई नदीजन्य सामग्रीको दोहनले कहिले सुक्खा त कहिले कटान र डुबानको चपेटामा पर्दै गएको छ। यस्तोमा स्थानीयबासीको स्वयम्को चेतना र सजगताले मात्र जीवन धनको रक्षा गर्न सकिने भएकाले त्यसतर्फ गम्भीर बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here