महाधिवेशन कांग्रेसको वैचारिक पुनर्जागरणको प्रारम्भविन्दु बन्ला ?

0
803


हुन त अहिले पनि संशय नै छ– नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुने हो वा होइन । २०७२ साल फागुन (२०–२३) मा भृकुटीमण्डप, काठमाडौंमा नेपाली कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गरेको थियो र त्यसको ठीक साढे ५ वर्षपछि २०७८ भाद्र (१६(१९) मा काठमाडौंमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्दैछ । केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र, क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र, गाउँ÷नगर वडा अधिवेशन श्रावण १२ गते र गाउँ÷नगरपालिका अधिवेशन श्रावण १६ गते तोकिएको छ । त्यसै गरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन श्रावण २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते तोकिएको छ । प्रदेश अधिवेशन भाद्र १ र २ गते पुरा गरी केन्द्रीय महाधिवेशन भाद्र १६–१९ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यो कार्यतालिका सार्वजनिक भएबाट महाधिवेशन हुने बुझ्न सकिन्छ, तर परिस्थिति सोचेजति सहज र अनुकूल छैन ।

मातृकाप्रसाद कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेस मिलेर २००६ साल चैत्र २७ मा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा नेतृत्वका लागि हल्लाखल्ला जसरी बढ्दै छ, त्यसरी नै नीतिमा मौनता एउटा डरलाग्दो सन्नाटाको रुपमा व्याप्त छ । नेपाली कांग्रेसबाट मातृकाप्रसाद कोइराला, सुवर्ण शम्शेर राणा, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशिल कोइराला ७ जना प्रधानमन्त्रीको नेतृत्व नेपालले पाइसकेको छ । संविधानसभामार्फत् समावेशिता, संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान जनताले प्राप्त गरेका छन् । यसले नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समेत नयाँ व्यवस्था र परिवर्तनको सूत्रपात गर्नेछ भन्ने सबैको आशा छ । यो परिवर्तन नेपाली कांग्रेसले २००७ साल अघिदेखि नै शुरू गरेको सामन्ती व्यवस्था र हुकुमी शासनविरूद्ध मजदुर आन्दोलन, किसान आन्दोलन, महिला आन्दोलन, जातीय, क्षेत्रीय विभेद विरुद्धको आर्थिक सामाजिक जागरण आन्दोलनको सन्दर्भसँग जोडिन पुगेको छ । नेपालमा प्रजातान्त्रिक आन्दोलनको पटक–पटक नेतृत्व गरेको कांग्रेसको महाधिवेशन उसको इतिहाससँग जोडेर विवेचना गर्ने विषय बन्ने निश्चित छ ।

लोकतन्त्रकाप्रति भन्दा क्षेत्रीयता र जातीयतालाई प्रश्रय दिने शक्तिहरूको अपरिपक्वता, अकर्मन्यता, अदूरदर्शिता र मुलक र जनताप्रतिको गैरजिम्मेवारीपनको कारणले मुलुक अस्तव्यस्त बनेको समयमा यो महाधिवेशन हुन आँटेको छ । चौधौं महाधिवेशनपछि कसले हाँक्ला कांग्रेस भन्ने मूल प्रश्न बनेको छ, तर कुन नीति र कस्तो कार्यक्रम कांग्रेसले अवलम्बन गर्ला भन्ने कम चासो छ यतिबेला । यसपटक पनि पुस्तान्तरणको मुद्दा उठ्न शुरु गरिसकेको छ । वास्तवमा पार्टीलाई वैचारिक रुपमा अगाडि बढाउनका निम्ति नयाँ पुस्ता अघि सर्नु पर्ने हो । दुःखको कुरा आजसम्म पुस्तान्तरणको मुद्दा केवल नेतृत्वमा पुग्न दाबी प्रस्तुत गर्ने सिँढी मात्रै बन्न पुगेको छ । युवाहरुको उक्त मुद्दामा युवा स्वयं नै संगठित हुन नसक्दा नेतृत्वमा भने ७० को हाराहारीका नेता मात्रै पुग्दै आएका छन् । वास्तवमा उमेरको प्रश्न मुख्य होइन । अस्तित्वमा रहन चाहने राजनीतिक दलप्रतिको जन आकर्षण बढाउने माध्यम उक्त दलले अवलम्बन गर्ने नीति र प्रस्तुत गर्ने विचारले हो । कांग्रेसको सन्दर्भमा नेतृत्वले पार्टीलाई कति विचारप्रधान बनायो भनेर हेर्नुपर्ने हुन्छ । कांग्रेसमा विचारको राजनीति गर्ने दावा गर्ने सैयौं युवा नेता छन् । तर नेपाली समाजको तीब्र रुपान्तरणसँगै परम्परा र आधुनिकताको लडाइँमा आधुनिकताको पक्षमा आफूलाई अब्बल सावित गर्नुपर्ने युवा पुस्ताका नेताहरु अघिल्लो पुस्ताको फेरो मात्र समात्न लालायित छन् । युवा पुस्ताका नेताहरु स्वयंले पनि विचारको बहसका सन्दर्भमा आफूलाई खरो सावित गराउन सकिरहेका छैनन् । युग सुहाउँदो पार्टी निर्माण भनेको विचारबाट नै हुने हो यो सच्चाइलाई ग्रहण गरेर मुलुक र पार्टी सञ्चालनको मार्गचित्रसहितको नेतृत्वका निम्ति दावी प्रस्तुत गर्नुपर्नेमा अन्य जोडघटाउका समीकरण बनाउन लाग्नुपर्ने नियति कांग्रेसमा फेरि दोहोरिन थालेको छ । लकडाउन र निषेधाज्ञामा नेताहरु फुर्सदिला भएकैले हुन सक्छ, केन्द्रीय तहमा नेतृत्वको होडबाजीले उत्कर्ष नाघेको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गर्ने लहर पनि नेपाली कांग्रेसभित्र चलिसकेको छ । युवाहरुलाई पार्टीमा जोड्नका निम्ति पनि चौधौं महाधिवेशनपूर्व युवालाई प्राथमिकतामा राखिनुपर्ने हो । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह, नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन इतर दुई समूह गरी कांग्रेसमा तीन समूह विद्यमान छन् । सिटौलाको समूहबाहेक देउवा समूहबाट नेता निधीले आफू पार्टी सभापति बन्ने इच्छा प्रकट गरिसकेका छन । देउवा पक्षीय अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गर्न थालेका छन् । यता पौडेल समूहभित्र पनि आजका मितिमा रामचन्द्र पौडेल सर्वसम्मत छैनन् । नेताद्वय डा. शशांक कोइराला र डा. शेखर कोइराला दुबैले सभापतिमा दाबी गरेका छन् । पौडेल समूहभित्रै अर्का नेता प्रकाशमान सिंहको पनि तयारी पार्टी सभापतिकै लागि छ । यसरी हेर्दा दुवै समूहभित्र आकांक्षीको व्यवस्थापनको पाटो जटिल देखिन्छ । देउवालाई पार्टीलाई विधि र पद्दतिभन्दा बाहिर लगेर चलाएको आरोप छ भने पौडेललाई दरिलो अंकुश लगाउन नसकी सभापति देउवालाई बेलगाम घोडा बन्न दिएको आरोप छ । पितृभक्त रामले भाइ भरतलाई राजगद्दी छोडेर वनवास गएका थिए । नेपाली कांग्रेस पार्टीका संस्थापक नेताहरुमा राजा बन्न भाइहरुबीच झगडा नगर्ने रामायण प्रवृत्ति थियो । तर आजको नेकाको नेतृत्वमा यदुवंशी प्रवृत्ति छ । महाभारतमा वर्णन भएझैं राजा हुन दाजुभाइकै बीच नलडी नछोड्ने ।

नेपाली कांग्रेसको आश्वासन जनतालाई चाहिएको होइन, जनतालाई नवीन विचार र मार्गदर्शन चाहिएको हो । टालटुले समाधान दिने नेतृत्व होइन, निःस्वार्थ, जीवन्त र दूरदर्शी नेतृत्व चाहिएको हो । कांग्रेसीजनका लागि नेपाली कांग्रेस परिवर्तनकारी राष्ट्रिय शक्तिको मियो बनोस्, जनविश्वास र भरोसाको केन्द्र बनोस् बन्ने चाहना छ । नीतिगत अस्पष्टता र दुर्बलता, संकीर्णता, गुटगत कार्यशैली र अलोकतान्त्रिक आचरण भएको नेतृत्वबाट यी सबै कुरा सम्भव हुँदैन । कांग्रेसलाई परिवर्तन गर्ने, सुसंगठित बनाउने र क्रियाशील बनाउने प्रस्ताव, योजना, संकल्प र लक्ष्यको मार्गचित्रसहितको नेतृत्व आजको आवश्यकता हो ।

अबको नेतृत्वले जनता र नयाँ पुस्ताको चासो र जिज्ञासालाई सम्बोधन गर्न सक्नुपर्छ । विचार र चिन्तनमा रहेको विविधतालाई बुझ्न सक्ने व्यावहारिक र संयोजन–कुशलता भएको नेतृत्व आजको माग हो । खास गरी २०६३ सालयता नेपाली कांग्रेस नेकपा माओवादीको चिन्तन, रणनीति र नेतृत्वको भरिया बनेको आरोप छ । १२ बुँदे सहमतिदेखि यता माओवादीको सहायक वा उसको बैसाखीको सहारामा टिक्ने हो भने कांग्रेस र माओवादीका बीच आधारभूत सिद्धान्त, दर्शन, नीति, संगठन र कार्यक्रम मौलिक भिन्नता हुँदाहुँदै पनि यी दुवै उस्तै हुन् भन्ने खालको भ्रम छ । यो महाधिवेशनले माओवादीसँगको सम्बन्धमा नीतिगत पुनर्विचार गर्न जरुरी छ । कम्युनिष्टहरुसँग आलोचनात्मक सम्बन्ध हुनुपर्नेमा कांग्रेस महाधिवेशनले विचार गर्ला ।

विधि, पद्धति र सामूहिक मन्थनद्वारा नै समस्या समाधान गर्ने कार्यशैली जरुरी छ । आज निष्ठापूर्ण क्रियाशीलता आवश्यक छ । जनता कांग्रेसलाई व्यवहारको कसीबाटै लोकतान्त्रिक समाजवादी पार्टीका रूपमा देख्न चाहन्छन् । नयाँ शक्ति र ऊर्जासहितको कांग्रेस निर्माण चौधौं महाधिवेशनको लक्ष्य हुनुपर्छ । चौधौं महाधिवेशनमा अनुहार, गुटगत घेरा, स्वार्थ, व्यक्ति र विरासतभन्दा माथि उठेर वैचारिक प्रतिबद्धतायुक्त नेतृत्वको खोजी जरुरी छरु। यसका लागि दृढ विचार, सशक्तता र संयोजन क्षमतायुक्त नेतृत्वको छनोट गरी को वा कुन गुटको भन्दा पनि निःस्वार्थ संकल्पका साथ अघि बढ्न कार्यकर्ताले हिम्मत गर्न खाँचो छ । यो महाधिवेशन वैचारिक पुनर्जागरणको प्रारम्भविन्दु बन्नुपर्ने आम कार्यकर्ताको चाहना छ ।

प्राविधिकरुपमा नेतृत्व चयनमा मात्रै कांग्रेस जाने हो भने कांग्रेसभन्दा समय दुई कदम अगाडि नै बढ्ने निश्चित छ । महाधिवेशनसम्म आइपुग्दा आफ्ना नीतिगत र सैद्धान्तिक अवधारणामा अनेकौं आयाम थप्दै र आफ्नो संगठनात्मक स्वरूपमा समेत आमूल परिवर्तन गर्दै कांग्रेस आधुनिक नेपालको विकास र नवनिर्माणको सारथी बन्ला वा नबन्ला प्रतीक्षाको विषय बनेको छ । आज नेपाली कांग्रेसलाई नारा होइन निष्ठा चाहिएको छ । आफ्नो मुख्य प्रतिष्पर्धी नेकपा एमालेको कमजोरीबाट आफ्नो सुन्दर भविष्यको कल्पना गर्ने होइन, आफ्ना असल नीति र कार्यक्रमबाट जनमनमा वास गर्नसक्ने संकल्पसहितको नयाँ कांग्रेस चाहिएको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशन वैचारिक पुनर्जागरणको प्रारम्भविन्दु बन्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here