१८ बुँदे माग राख्दै ज्ञापन

0
799

उमानाथ भण्डारी,कमल ।

नेपाल शिक्षक महासंघ कमल गाउँ समितिले विभिन्न माग राखी कमल गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिकामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेशागत हकहित संरक्षण तथा कोभिड–१९ बाट सिर्जित विषम् परिस्थितिमा विद्यालयको पठनपाठन प्रक्रिया सञ्चालनसँग सम्बन्धित विभिन्न १८ बुँदै माग राखी ज्ञापनपत्र बुझाइएको हो ।

कमल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई प्रविधि सम्बन्धी तालिम र प्रविधि सामग्री (ल्यापटप) उपलब्ध गराइनुपर्ने, सबै तहका शिक्षक तथा कर्मचारीहरूलाई महिनैपिच्छे तलब खुवाउने व्यवस्था गरिनुपर्ने, कोभिडको दोस्रो डोज खोपको व्यवस्था गरिनुपर्ने, विद्यालयलाई उपलब्ध हुने मसलन्द रकम वृद्धि गरिनुपर्ने, विद्यालयहरूमा तीव्रगतिको इन्टरनेट सेवा उपलब्ध गराइनुका साथै कम्प्युटरहरू मर्मतका लागि दक्ष प्राविधिक उपलब्ध गराइनुपर्ने, प्रधानाध्यापक तथा शिक्षकलाई भ्रमणयोग्य शैक्षिक संस्थाहरूको अवलोकन भ्रमण गराइनुपर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी सरकारले बाल शिक्षक तथा विद्यालय कर्मचारीहरूको लागि तोकेको मासिक तलबमा महँगी भत्ता वापत थप दुई हजार रुपैयाँ उपलब्ध गराइनुपर्ने, विद्यालयका लेखापालहरूलाई खरिदार सरह तलब उपलब्ध गराइनुपर्ने, हरेक विद्यालयको लागि अतिरिक्त कार्यक्रम सञ्चालनार्थ बजेट विनियोजन गरिनुपर्ने, कोभिड–१९ को संक्रमण रोक्नको निम्ति हरेक विद्यालयमा मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मल गन लगायतका सामग्रीहरू सहित स्वास्थ्यकर्मी समेत उपलब्ध गराइनुपर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाबाट उपलब्ध गराइएका शिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरूलाई स्केल बमोजिमको तहगत मासिक तलब तथा दशैं खर्च उपलब्ध गराइनुपर्ने, अनुगमन समिति निर्माण गरी विद्यालयहरूको नियमित अनुगमन गराइनुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई दिवा खाजा उपलब्ध गराउन गाउँपालिकाको बजेट मार्फत कार्यक्रम ल्याइनुपर्ने, शिक्षक कर्मचारीहरूको कार्य दक्षताको उचित मूल्याङ्कन गरी सम्मान तथा पुरस्कार उपलब्ध गराइनुपर्ने लगायतका मागसहितको ज्ञापन–पत्र महासंघका अध्यक्ष हिमप्रसाद दाहालले गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेलेलाई बुझाएका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ समितिका अध्यक्ष श्री मधुसुदन अधिकारी, नेपाल शिक्षक सङ्घ कमल गाउँ समितिका अध्यक्ष हेमकुमार श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कमल गाउँ समितिका अध्यक्ष यामनाथ दाहाल र कर्मचारी युनियन कमल गाउँ समितिका प्रतिनिधि महेन्द्रकुमार अधिकारी लगायत विभिन्न संघ–संस्थाका शिक्षकको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here