झापाका स्वास्थ्य संस्थालाई १२ वटा अक्सिजन कन्सनट्रेटर वितरण

0
881

झापा ।

नेपाल चिकित्सक संघले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पीपीई दिएको छ ।

पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पीपीई दिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापा परिसरमा मङ्गलवार एक कार्यक्रमकाबीच कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सो अक्सिजन कन्सनट्रेटर र पीपीई स्वास्थ्य कार्यालयमार्फत १० वटा स्थानीय तहका स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरेका थिए ।

भद्रपुरमा तीन वटा, कचनकवल, हल्दिबारी, बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, गौरदाह, शिवसताक्षी र झापा गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिटौलाले निःशुल्क स्वास्थ्य उपचार र मौलिक हक बारेमा सबै राजनीतिक दल मिलेर बनाएको संविधानमा राखेका छौ तर, आज संविधानमा राखिएको कुरा कार्यान्वयन नहुँदा दुःख लागेको बताए ।

कोभिड–१९ले सबै नेपाली जनतालाई सचेत गराइसकेको बताउँदै उनले भने– ‘अब सरकारी अस्पताललाई सुधार गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सबै दलको दायित्व हो ।’ कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले कोभिड १९ सङ्क्रमणबाट सङ्क्रमितले अक्सिजन अभावको कारण मर्नु पर्ने घटना दुःखद् भएको बताए । सरकारी स्वास्थ्य क्षेत्रलाई सुधारका लागि तीनै तहका सरकार लाग्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पार्टीका नेता देउमान थेवे, जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेल, मेची अस्पतालका मेसु डा. टङ्क बाह्रकोटी, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, कांग्रेसका झापा सभापति उद्धव थापा लगायतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here