अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ४३ करोड २६ लाख तीन हजार दुई सय ३० रुपैयाँ बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम बिहीबार आयोजित नवौं नगर सभामा पेश गरेको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं. १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक कमला खतिवडा आचार्यले पेश गरिएको उक्त बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत भएको बजेटमध्ये चालु खर्चतर्फ २० करोड ४१ लाख तीन हजार दुई सय ३० रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ७० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेटको स्रोत अन्र्तगत समानिकरण अनुदान(संघीय सरकार) १७ करोड ९५ लाख रुपैयाँ, राजश्व बाँडफाँड मूल्य अभिवृद्धी कर(संघीय सरकार) पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ, राजश्व बाँडफाँड अन्त शुल्क(संघीय सरकार) पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ अनुमान गरिएको छ ।
त्यसैगरी समानिकरण अनुदान(प्रदेश सरकार) एक करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड सवारी कर(प्रदेश सरकार) एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, राजश्व बाँडफाँड रजिष्ट्रेशन शुल्क(प्रदेश सरकार) तीन करोड रुपैयाँ, राजश्व बाँडफाँड ढुङ्गा, गिटी, बालुवा(प्रदेश सरकार) तीन करोड रुपैयाँ, आन्तरिक स्रोत पाँच करोड ५० लाख रुपैयाँ र मौज्दात ९० लाख रुपैयाँ अनुमान गरिएको छ ।
उक्त विनियोजित बजेट संघीय सरकार र प्रदेश सरकारबाट अपेक्षित सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान बाहेक भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनवटै अनुदान अन्र्तगत ३२ करोड २६ लाख लाख पचास हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जसअनुसार सशर्त अनुदान(संघीय सरकार) २५ करोड १५ लाख रुपैयाँ, विशेष अनुदान(संघीय सरकार) तीन करोड ३३ लाख रुपैयाँ, समपुरक अनुदान(संघीय सरकार) एक करोड २८ लाख रुपैयाँ, सशर्त अनुदान(प्रदेश सरकार) एक करोड ५० लाख ५० हजार रुपैयाँ र समपुरक अनुदान(प्रदेश सरकार) एक करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । नगर सभा आगामी असार १५ गते सम्मका लागि स्थगित गरिएको प्रमुख रानाले जानकारी दिए ।































