गाउँमा हात्ती पस्दा स्थानीयवासी त्रसित

0
602

झापा ।

भारतीय जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–३की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएकी छिन् ।

घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी हुन् । खुट्टा र टाउकामा चोट लागेर घाइते बनेकी मेचेको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइतवार राति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ वटा हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले बताए । बाहुनडाँगी छिरेका हात्तीमध्ये १४ वटा मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् भने दुई वटा मेचीनगर–२ स्थित देवीगञ्जस्थित स्थानीयवासी हरि चम्लागाँई र नरेन्द्र न्यौपानेको चिया बगानमा रहेका छन् ।

गाउँको बीचमा रहेको चिया बगानमा हात्ती छिरेपछि स्थानीयवासी त्रसित बनेका छन् । मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ । हात्तीलाई गाउँ पस्न नदिन वनको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेको उनले बताए ।

उनका अनुसार दिनभर चियाबगानमा रहेका हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना छ । बाहुनडाँगीमा विगत एक महिनादेखि भारतबाट हूल बाँधेर आउने हात्तीले आतङ्क मच्चाउन थालेको स्थानीय हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेलले बताए ।

उनका अनुसार २०७२ सालमा विद्युतीय तारबार पूरा भएपछि बाहुनडाँगीमा भारतबाट हात्ती पस्न सकेका थिएनन् । गत जेठको अन्तिम सातादेखि दिनहुँ सयको संख्यामा हात्ती मेची नदी तरेर आउन थालेका छन् । उनले भने– तारबार भत्काएर गाउँ पसेर मान्छेमाथि आक्रमण गर्न थालिसके, समयमै विद्युतीय घेराबारको मर्मतसम्भार नगर्ने हो भने फेरि विगतमा जस्तै हात्तीका कारण बाहुनडाँगीमा ठूलो जनधनको क्षति हुने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here