झापा ।

बिर्तामोड नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आइतबार बसेको दोश्रो बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८–७९को नीति,कार्यक्रम तथा बजेट माथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष ध्रुवकुमार शिवाकोटीले नगरपालिकाको आर्थिक वर्ष २०७८–७९को नीति,कार्यक्रम र बजेट, बिर्तामोड नगरपालिका आर्थिक विधेयक २०७८,विनियोजन ऐन२०७७ लाई संसोधन गर्न बनेको विधेयक २०७८ र बिर्तामोड नगरपालिका विनियोजन विधेयक २०७८ संयुक्तरुपमा निणयार्थ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभामा बोल्ने सम्पूर्ण सदस्यहरुले बजेट राम्रो र जनमुखी भएको धारणा राखेका थिए ।
बिर्तामोड नगरपालिका नम्बर ३ का अध्यक्ष भोजराज सिटौलाले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट नगरबासीहरुको भाग्यसंग जोडीएको भन्दै यसको कार्यान्वयनमा नगरप्रमुख लगायत सिङ्गो टिम लाग्नुपर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु राजनीतिक स्वार्थ भन्दा माथी उठेर काम गर्दै आएको भन्दै विकास निर्माणका काममा जोड दिनुभयो ।

यस्तै वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले बिर्तामोडको ४ र ५ नम्बर वडाका क्षेत्रमा हुने डुबानका समस्या हल गर्र्नुपर्ने बताउनुभयो । उहाँले नगर गौरवका आयोजनाहरुलाई ध्यान दिनु पर्ने भन्दै रोकिएका योजनाहरु पुरा गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले वडा नम्बर १ र २ का अधिकांश स्थान बर्षात्को समय डुवानमा पर्दै आएको भन्दै यसलाई व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।
यस्तै वडा नम्बर २ का सदस्य उपेन्द्र पराजुलीले बिर्तामोडमा भारतीय मजदुरहरु धेरै रहेको भन्दै उनीहरुलाई करको दायरामा ल्याउनु पर्ने धारणा राख्नुभयो । यस्तै वडा नम्बर २ का सदस्य किशोर पौड्यालले कोभिड –१९को कारण चालु आर्थिक वर्षमा नसकिएका जनता आवासका अधुरा कामहरुलाई निरन्तरता दिन आवश्यक नीति बनाउन आग्रह गर्नुभयो ।
यस्तै वडा नम्बर ५का सदस्य डीआर कडरीयाले बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा आएको विवाद जतिसक्दो चाँडै टुंग्याउनु पर्ने बताउनुभयो । उहाँले नगरवासिको लागि कोभिड–१९ विरुद्वको खोप अत्यन्त आवश्यक रहेको भन्दै जतिसक्दो चाँडो पहल गर्नपनि आग्रह गर्नुभयो । यस्तै वडा नम्बर ८ का सदस्य दिपक भट्टले प्रदेश सरकारले स्थानिय तहको अधिकार खोसेर बन्चित गरेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
नगरसभाको दोश्रो बैठकमा उठेका सवालहरुको उपप्रमुख पवित्रादेवी महतरा (प्रसाई)ले जवाफ दिनु भएको थियो । यस्तै उपप्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन,कार्यालय व्यवस्थापन,सुशासन पारदर्शीता एवं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्णयको लागि प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा उपप्रमुख प्रसाईले न्याययीक समितिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभयो ।
अर्थ तथा सार्वजनिक लेखा समितिकी संयोजक भागिरथा आचार्यले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाका अध्यक्ष शिवाकोटीले नगरसभामा प्रस्तावित विधेयक माथि छलफल गरि नीति,कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गर्नु भएको थियो । बिर्तामोड नगरपालिकाले आगामि आर्थीक वर्ष २०७८–७९को लागि एक अर्व ३० करोड ७७ लाख ७९ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।




























