जनस्वास्थ्यविद्हरुले मानिसको आनीबानी र व्यवहारले कोरोना भाइरसको लहर निर्धारण हुने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका जनस्वास्थ्यविद्हरुले समेत व्यवहार बदल्न र स्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने परिणाम झन् भयानक हुन सक्ने चेतावनी दिएका छन् । मानिसको व्यवहार, स्वास्थ्य अनुशासन पालनाको शैली र सावधानीले विद्यमान कोरोना त्रास नियन्त्रण वा विस्तार हुने विज्ञहरूले बताइरहेका बेला नेपालमा निषेधाज्ञा खुकुल्याइएको छ । सरकारले आवागमन, व्यापार–व्यवसाय खुकुलो पारे लगत्तै जतासुकै भीड बढ्न थालेको छ । स्वास्थ्य अनुशासन पालना, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता न्यूनतम् शर्तको आफ्नो तहबाट नगरिँदा परिणाम त्रास नियन्त्रण हुने सम्भावना देखिन छाडेको छ ।

स्वास्थ्यविद्को सुझाव र चेतावनीलाई आम मानिस र सरकारले अझै गम्भीर ढङ्गले लिएका छैनन् । जसको परिणाम भाइरसले स्वरूप परिवर्तन गरिरहेको छ । अब आउने कोरोना भाइरसको बदलिएको स्वरुप झनै विस्तारित, झनै घातक हुन सक्ने चेतावनीका बीच सरकारले दुई महिनादेखि बन्द सामाजिक, आर्थिक, शैक्षिक जीवनमा क्रमशः खुकुलो गर्दै लाने नीति अख्तियार गर्न थालेको छ । मानिसमा कोरोना त्रास हटेको अनुभूति हुन थालेको सडक, गल्ली र चोकमा देखिन थालिएको छ । त्यसै अनुसार संक्रमितको संख्या पनि दिनहुँ उकालो लाग्दैछ । हिजो शहर बजारमा हुने गरेको संक्रमण दर अब ग्रामीण बस्तीहरूमा उच्च भइरहेको छ । छिमेकी देश भारतको घट्दो संक्रमण सुनेर हाम्रोमा पनि घट्यो ठान्नु र स्वास्थ्य मापदण्डको अवज्ञा गर्नु स्वयम्कै लागि क्षतिको कारण बन्न सक्छ ।
हामी र हाम्रो जस्ता मुलुक कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा छौं । खोपको सुनिश्चितता यसबाट मुक्ति पाउने मुख्य उपाय हो । तर, खोप उत्पादन गर्न नसक्ने मुलुकले अरू समृद्ध मुलुकको आशामा बाँच्नुपर्छ, कहिले देलान् भनेर पर्खिनु पर्छ । तर, यदि सावधानी अपनाउने हो भने जनस्वास्थ्यको अनुशासन इमान्दारितापूर्वक पालना गर्ने हो भने डेल्टा प्लस भेरियन्टबाट हुनसक्ने क्षतिलाई रोक्न सकिन्छ । विद्यमान जनस्वास्थ्यमाथिको सङ्कटको जिम्मेवार हामी आफैं हौं । सरकारको अक्षमता, अदूरदर्शिता र अकर्मण्यता एकातिर छ भने अर्कातिर हाम्रो आनीबानी, गतिविधि र क्रियाकलाप महामारीजन्य विपद्को कारण बनेको छ । संक्रमण कम भएको ठानेर निषेध खुकुलो पार्ने सरकार र कोरोनापूर्वको व्यवहार गर्ने हामी बराबर दोषी छौं । त्यसैले दुबै पक्ष संयमित होऔं, जनस्वास्थ्यविज्ञहरुका सुझाव र चेतावनीलाई मनन गरौं । असावधानी दुवैका लागि घातक हुन्छ बुझौं र संक्रमणको तेस्रो लहरलाई रोक्ने सचेतना अपनाऔं ।




























