प्रशिद्ध समालोचक प्रसाईलाई सम्झँदा

0
703

खगेन्द्रप्रसाद प्रसाईं,

गणेशप्रसाद प्रसाईं राइटर पुण्यप्रसाद प्रसाईका साइँला छोराका रुपमा वि.स. १९८७ साल असार ३१ गते पुत्ररत्नको रुपमा यो धरामा अवतरित हुनुभएको थियो । बाल्यकालदेखि नै सुनेका कुरा नबिर्सने तीव्र स्मरण शक्ति उहाँमा विद्यमान थियो । एकपटक सुनेपछि या पढेपछि कहिल्यै नबिर्सने क्षमता उहाँमा मृत्युपर्यन्त थियो । हाम्रा हजुरबुवा डि. विष्णुलालले आफ्नो मृत्यु शय्याबाट वि.स. १९७३ तिर आफ्ना सन्तानलाई उपदेश दिँदै अबका सन्तानलाई श्रेस्ता पढाइ होइन अंग्रेजी शिक्षा दिनु भन्नुभएको रहेछ । त्यसै बेलादेखि हाम्रा दाजु–दिदीहरुले अंग्रेजी शिक्षाबाट दिक्षित हुन शुरु गर्नुभएको रहेछ ।

आफ्ना बुबाको आदेश अनुसार साइँला बुबा लप्टन देवीप्रसाद प्रसाईंले आफ्नो छोरा खड्वान केशरी प्रसाईं (राम बाबू)लाई बिहारको स्कूलमा पढाउने व्यवस्था मिलाउनु भएछ । माइला बुबा राइटर पुण्यप्रसादले खर्साङ्गमा भाडामा घर लिई छोरा भतिजाहरुलाई अंग्रेजी शिक्षा दिन शुरु गर्नु भएछ । खर्साङ्गपछि गणेशबहादुर प्रसाईं धनकुटाको गोकुन्डेश्वर स्कूलमा अध्ययन गर्न थाल्नु भयो । गोकुन्डेश्वर स्कूलमा अध्ययन गर्दा गुरु कुशोस्वर झाको संगतले उहाँमा राजनीतिक चेतनाको वृद्धि भयो । गणेशबहादुर प्रसाईंमा प्रजातन्त्रको चेतना जगाउने काम उनका गुरु कुशेस्वरले गरे ।

धनकुटाको पढाइपश्चात गणेशबहादुर प्रसाईं अध्ययनका निम्ति काठमाडौं जानु भयो । उहाँ जन्मजात विद्रोही स्वभावको हुनुहुन्थ्यो । गुरु कुशेस्वर झाले प्रजातन्त्रको मन्त्रबाट उहाँलाई दिक्षित गरेपछि राणा शासक वर्गप्रति उहाँको दृष्टिकोणमा आमूल परिवर्तन आयो । काठमाडौंमा एकजना हठयोगी साधुको संगतमा परेर पठनपाठन त्याग गरी उहाँ तिनै साधुसँग भारततिर लाग्नु भएछ । ती हठयोगी साधु भारतको बलियाको मठमा बस्दा रहेछन् । उहाँ पनि त्यही मठमा बसेर हठयोगको कठोर साधनामा साधनरत् हुनुभएछ । पछि साइँला बुबा लप्टन देवीप्रसादले पत्ता लगाई घर ल्याउनु भयो । २००४ सालमा उहाँकी ममतामयी आमा पद्मादेवीको निधनले युवा गणेशबहादुरको हृदयमा ठूलो चोट प¥यो । केही समय पहाडमै बसेर उहाँ झापा आउनु भयो ।

सन्दर्भ : सातौं स्मृति दिवस

२००४ सालमा झापा आएपछि भद्रपुर बजारमा हाटको दिन राणा शासनको विरोधमा उग्र भाषण गर्नुभएछ । प्रहरीले उहाँलाई पक्राउ गरी बयान लिन शुरु ग¥यो । बयानको क्रममा उहाँले आफ्नो नाम श्रीप्रसाद भन्नेदेखि बाहेक अरु बयान जतिसुकै यातना दिए पनि दिनु भएनछ । त्यसपछि उहाँलाई अड्डासार गर्दै काठमाडांै लगियो । बन्दी जीवनमा उहाँको साहित्य र राजनीतिक क्षेत्रका विशिष्ठ व्यक्तिहरुसँग परिचय भयो । उहाँको वक्तृत्व क्षमता पनि अद्भूत थियो । जेलमा रहेका टंकप्रसाद आचार्यले उहाँको सम्बन्धमा टिप्पणी गर्दै भनेछन्– ‘मानिस त बोलक्कड रहेछन्, तर पढेका भने रहेन छन् ।’ टंकप्रसादको टिप्पणी सुनेका उहाँले क्रान्ति पश्चात् जेलमुक्त भई इलाममा गएर व्यक्तिगत रुपमा एसएलसीको परीक्षा दिएर सफल पनि हुनु भयो ।

भारतको उत्तर प्रदेश बोर्डबाट आइ.ए.को परीक्षा पनि उत्र्तिण हुनु भयो । दार्जिलिङको सरकारी कलेजमा स्नातक तहको अध्ययन गरी कलकत्ता विश्वविद्यालयबाट वि. सं. २०१३ मा कलामा स्नातक डिग्री प्राप्त गर्नुभयो । २०१४ सालमा आफ्ना साथी बल्लभमणि दाहालको अनुरोधमा उहाँले हाइस्कूलको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो । त्यसपछि उहाँको शैक्षिक क्षेत्रसँगको आबद्धता श्री त्रिभुवन हाइस्कूलको प्र.अ. र पोखरी हाइस्कूल, शनिश्चरे हाइस्कूल, दीपज्योति बोर्डिङ्ग स्कूल, शारदा माध्यमिक विद्यालय धुलाबारीसँग २०४० सम्म रह्यो । शैक्षिक उन्नयनमा उहाँको योगदान महत्वपूर्ण र प्रशंसनीय रहेको छ । उहाँले आफ्नो जीवनको उर्वरकाल शिक्षाको उन्नयनमा लगाउनु भयो ।

उहाँँ निष्ठा र आस्थाको राजनीति गर्ने हुँदा राजनीतिक जीवनमा त्यो नभेटेपछि राजनीतिमा पूर्ण असफल हुनुभयो भन्दा अत्युक्ति नहोला । तर, साहित्यको क्षेत्रमा यहाँको देन अतुलनीय रहेको छ । जीवनको अन्त्यन्तै छोटो अवधि साहित्यको सृजनामा लगाउनु भयो । त्यही छोटो अवधिको साहित्यिक जीवनले उहाँलाई जीवन्त बनाएको छ । नैतिकता र स्वाभिमानलाई उहाँले कहिले तिलाञ्जलि दिनुभएन । उहाँ निर्भिकताको प्रतिमूर्ति हुनुहुन्थ्यो । साहित्यको क्षेत्रमा पनि उहाँका विचार र सिद्धान्त रहे । यही नै उहाँको जीवनको समग्र मूल्यांकन हो ।

उहाँ धुलाबारीमा प्रेमप्रकाश फलाहारीद्वारा स्थापित त्रिफला राष्ट्रिय पुस्तकालयको २०६४ सालमा आजीवन सदस्य बन्नु भयो र पुस्तकालयको उन्नयनमा समर्पित हुनु भयो । उहाँकै भगिरथ प्रयत्नको फलस्वरुप मोतीराम भट्टको पूर्णकदको संगमर्मरको शालिक २०६६ मा त्रिफलाको प्राङ्गणमा स्थापित भयो । हरेक वर्ष मोती जयन्ती मनाउन थालियो ।

नेपाली साहित्यका शीर्षस्थ धरोहर मोतीराम भट्ट झापामा स्थापित भए । उहाँ २०६६ सालदेखि त्रिफला राष्ट्रिय पुस्तकालयको प्रमुख संरक्षक हुनुहुन्थ्यो । पद, पैसा र नामको आकांक्षाबाट टाढा रहेका यी मनिषिको २०७१ साल असार १९ गते बिहान ८ बजे हृदयघातका कारण इहलिला समाप्त भयो । आज उहाँको सातौं स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै सम्झनाका तरेलीलाई यहीँ विश्राम दिन्छु । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here