लक्ष्मी माविले नियम बिपरीत टेण्डर स्वीकृत गरेको खुलासा

२१ असार २०७८, सोमबार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

 

कचनकवल गाउँपालिका–६स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलासा भएको छ । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको भन्दै अन्य बोलपत्रदाताहरू विरोधमा उत्रिएपछि यस्तो खुलासा भएको हो ।

संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत लक्ष्मी माविलाई ६ लाख ५० हजारको कार्यक्रम परेको छ । कचनकवल गाउँपालिकामार्फत विद्यालयलाई सो कार्यक्रमका लागि साढे ६ लाख बजेट प्राप्त हुने भएपछि विद्यालयले २०७८ असार ३ गते शिलबन्दी बोलपत्र (कोटेशन) आव्हान गरेको थियो । विद्यालयले खुलाएको १५ दिने कोटेशनमा इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टीभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान रहेको छ ।

खरिद ऐन २०६३, पहिलो संशोधन ऐन, २०७३ को परिच्छेद–५ खरिद सम्बन्धी व्यवस्था अनुसार सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तीमा पन्ध्र दिनको अवधि दिई सूचना प्रकाशन गर्नु पर्नेछ । तर, विद्यालय खुलाएको कोटेशनको सूचना कुनै समाचारपत्र प्रकाशन समेत गरेको छैन । विद्यालयले कोटेसनको सूचना विद्यालय र गाउँपालिकामा मात्र टाँस गरेको बुझिएको छ ।

यता विद्यालयले कोटेशन आव्हान गरेपछि बालिकेश सप्लायर्स, एआरबी सप्लायर्स, निब्या सप्लायर्स, कम्प्युटर सोलुसन, डीजीआर पावर टेक र पावर टेक कम्प्युटरले सिलबन्दी बोलपत्र दर्ता गराएका थिए । विद्यालयले तोकेको १५ दिनको अवधि बमोजिम असार १७ गते दिउँसो ४ बजेसम्म ती ६ वटा बोलपत्रदाताले कोटेसन भरेर विद्यालयमा दर्ता गराएका थिए । त्यो बाहेक अन्य कुनै बोलपत्रदाताले फारम दर्ता नगराएको डीजीआर पावर टेकका प्रतिनिधि कृष्ण थापाको दाबी छ ।

त्यसको भोलिपल्ट विद्यालय व्यवस्थापन समितिले बैठक बसेर कोटेसन खुलाउँदा दर्ता भएका बोलपत्रदाता बाहेकलाई टेन्डर दिएको डीजीआर पावर टेकका प्रतिनिधि थापाले आरोप लगाएका छन् । बिद्यालयले मेघा भन्ने फर्मलाई टेन्डर दिएको छ ।

सिलबन्दी कोटेशन खुलाउँदा बोलपत्र सम्बन्धी व्यवस्था अनुसार सार्वजनिक निकायले बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा बोलपत्र खोल्नु पर्ने हुन्छ । तर, विद्यालयले दर्ता भएका कुनै पनि बोलपत्रदाता वा प्रतिनिधिलाई रोहबरमा नराखेर बोलपत्र खुलाएको थापाले बताए ।

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले सार्वजनिक खरिद ऐन मिचेर आफ्नो मान्छेलाई ठेक्का दिएको आक्रोश पोख्दै पावर टेक कम्प्युटरका प्रतिनिधि धनबहादुर तामाङले भने– ‘नियम र कानून नै मिचेर ठेक्का दिनु थियो भने विद्यालयले किन सिलबन्दी कोटेशन आव्हान ग¥यो ?’ बोलपत्रदाताले विद्यालयका प्रधानाध्यापकसँग बोलपत्र स्वीकृत गरेको बैठकको सम्झौतासहितको सूचना माग्दा समेत दिन उनले अस्वीकार गरेको उनले बताए ।

यता विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीसँग कोटेशनको विषयमा बुझ्न खोज्दा उनले भने– ‘अहिले विद्यालय बन्द भइसकेको छ, तपाईँहरू दुई चार जना विद्यालय आउनुहोस् अनि मात्र विवरणसहित सम्पूर्ण जानकारी गराउँला ।’ कोटेशन सम्बन्धी मौखिक जानकारी आफूसँग केही नभएको उनको भनाइ छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल दंगालसँग पनि पटक–पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने ६ को दफा बमोजिम कुनै बोलपत्रदाताले आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा त्यस्ता बोलपत्रहरू स्वतः रद्द हुने व्यवस्था छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दंगाल राप्रपाबाट मनोनित भएका हुन् भने प्रधानाध्यापक बुढाथोकीलाई पाणिनी मावि दमकको विद्यालय व्यवस्थापन समितिले कारबाही गर्दै हाजिर हुन नदिएपछि जागिर जोगाउन लक्ष्मी माविका शिक्षक विक्रम साहलाई त्यहाँ सरुवा गरी लक्ष्मी मावि आएका हुन् ।

पीडित बोलपत्रदाताले बुझाए ज्ञापनपत्र

लक्ष्मी माध्यमिक विद्यालयले सरकारी नीति र नियम मिचेर बोलपत्र स्वीकृत गरेको भन्दै पीडित बनेका बोलपत्रदाताहरुले कचनकवल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

बोलपत्रदाताहरू कृष्णप्रसाद थापा, धनबहादुर तामाङ, उपेन्द्रकुमार साह र सरोज लामिछानेले सो ज्ञापनपत्र बुझाएका हुन् । शिक्षा शाखा प्रमुख बिदा रहेकाले उनीहरूले सो ज्ञापनपत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई बुझाएका हुन् । साथै उनीहरूले ज्ञापनपत्रको बोधार्थ गाउँपालिका र लक्ष्मी माविलाई पनि दिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ– ६ वटा फर्मले निवेदन दर्ता गरेकोमा असार १८ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले हामी कुनै पनि निवेदकका प्रतिनिधि नराखी निवेदन दर्ता नै नगरिएको फर्मलाई उक्त कोटेसन स्वीकृत गरी सूचना समेत सार्वजनिक नगरिएको हुँदा उक्त कोटेसन उपर समय अवधि भित्र, दर्ता भएको ६ वटा फर्महरू भित्रबाट छनौट गर्नुहुन अन्यथा उक्त कोटेसन पूर्ण रुपमा बदर गरी अर्को कोटेशन प्रकाशित गर्न अनुरोध गर्दछौँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here