कोरोना भाइरसको कहरबाट जोगाउन सरकारले जारी गरेको निषेधाज्ञा हटेको छ । बजार, कार्यालय, व्यापार– व्यवसाय, सार्वजनिक सवारीसाधन सबै खुल्ला गरिएका छन् । बन्द भनिएका शैलुन, पार्लरहरू एकाध कतै बन्द भए होलान् धेरै निष्प्रभावी रहे निषेधाज्ञाबाट । होटल, विद्यालय, चलचित्र घरहरू भने दुई महिनायता पूर्णतः बन्द रहे । सरकारले कोरोना नियन्त्रणका लागि प्रयोग गरेको हतियार यसपटक निषेधको आज्ञा रह्यो । संक्रमण विस्तारको सिक्री बिच्छेद गर्ने सबैभन्दा प्रभावकारी उपाय नै व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी बढाउनु हो भन्ने जनस्वास्थ्यका विज्ञहरूको सुझाव अनुसार सरकारले निषेधको आदेश त जारी ग¥यो, तर कार्यान्वयन र अनुगमन फितलो हुँदा प्रभावकारिताको अनुभूति नै भएन । मानिसको आवागमन होस् वा सामाजिक, सांस्कृतिक अथवा राजनीतिक दलहरुका गतिविधि निरन्तर र निर्वाध सञ्चालन भए । यस्तैमा झापा जिल्ला प्रशासनले पछिल्लोपटक नामको निषेधाज्ञा जारी गरेको छ ।

यही असार मसान्तसम्मका घोषित आदेश अनुसार सार्वजनिक सवारीसाधन सञ्चालन हुन थालेपछि संक्रमणको जोखिम अरु उच्च हुने पक्का छ । किनकि संक्रमण विस्तारको दर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कम भएकै छैन । अहिले पनि तेइस प्रतिशतको हाराहारीमा संक्रमण कायम रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नै पर्छ । अझ तेस्रो लहरको उत्परिवर्तित भेरियन्ट पहिचान भइसकेको अवस्थाप्रति बेखबर हुनु स्वयंका लागि घातक हुन्छ । स्वास्थ्य अनुशासनको पालना व्यक्तिगत जीवन रक्षाको कवच हो । यसका लागि सरसफाई, सावधानी र सजगता अति आवश्यक छ । तर, हामी सबै राज्यको दायित्व भनेर स्वच्छन्द रमाइरहेका छौं । आनी–बानी, व्यवहार र गतिविधिलाई सन्तुलित र अनुशासित बनाउनुभन्दा उल्लंघन गर्नुलाई वहादुरी ठान्दैछौं । यस्तो बेला राजधानीको सिको गरेर यहाँको सार्वजनिक जीवन खुकुलो बनाउन थालिएको छ । झापा संक्रमण विस्तारको तथ्याङ्क अनुसार उच्च स्थानमा रहेको छ । त्यसले पनि आमजनताको चेतना जाग्न जरुरी छ ।
संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय खोपलाई मानिएको छ । कतिपयले खोपको मात्रा पूरा गरिसकेका पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपेक्षित समूहले निर्धारित खोप लगाउन नपाए पनि पहुँच राख्नेहरु लगाइसकेका छन् । यसले सरकारको आदेश विपरीत भीडभाड बढ्न सक्छ । स्वास्थ्य सुरक्षाका मापदण्डको अवमानना गर्ने प्रवृत्ति बढेर जान्छ । जसको परिणाम वृद्धवृद्धा, बालबालिका संक्रमित हुने जोखिम उच्च हुनसक्छ । त्यसै पनि औषधि नभएको रोग त्यसमाथि स्वास्थ्य सेवाको अनुपलब्धताले जीवन–मरणको दोसाँधमा छौं हामी । यसकारण पनि सरकारले जति सावधानी खुकुलो पार्दै लान्छ जनताले त्यति नै कठोर बन्दै जानु पर्छ । स्वयंको सजगता, सचेतता र अनुशासनले मात्र शिरमाथि रहेको कोरोना नामको तरबारबाट आफूलाई जोगाउन सक्छौं सबैमा चेतना होस् ।




























