प्रविधिको प्रयोगले सेवालाई प्रभावकारी बनाउन नेपालका वाणिज्य वैंकहरूले सुविधा थप्दै लगेका छन् । तर, तिनको विश्वसनीयतामा भने समय–समयमा प्रश्न उठ्ने गरेको छ । विश्वमा प्रविधिको विकासले ल्याएको परिवर्तन आफूहरूले पनि उपयोग गर्ने सिलसिलामा गरिएका अभ्यासहरू पूर्णतः सुरक्षित छैनन् । यसको पछिल्लो उदाहरण भएको छ राजधानी काठमाडौंको एटीएम घटना । सेवाग्राहीको सुविधाका लागि चौबीसै घन्टा भुक्तानी सेवा दिने उद्देश्यले सञ्चालन गरिएको एटीएमको दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन । यसअघि पनि एटीएमकै माध्यमबाट बुथहरूबाट अवैध ढङ्गले पैसा निकालेको घटना सार्वजनिक भएकै हुन् । तर, पनि यस्तो अनियमित, अवैध र चोरीको घटना दोहोरिन नदिने र नियन्त्रण गर्नेतर्फ जिम्मेवार संस्था चुकेकै हुन् ।
यही असार १६ गते बेलायतको कुनै वैंकको एटीएम कार्ड प्रयोग गरेर चावहिलस्थित सिद्धार्थ बैंकबाट जगतबहादुर गुरुङले पैसा निकाले । अर्को मुलुकको त्यो पनि दुई महिनाअघि नै म्याद सकिएको कार्डबाट पैसा आएपछि उत्साहित भएका उनी पटक–पटक गरी ३४ लाख ३५ हजार रूपैयाँ विभिन्न बैंकका विभिन्न बुथहरूबाट निकाल्न सफल भए । पहिलोपटक परीक्षण गर्दै तीस हजार रूपैयाँ निकाल्न सफल उनी अहिले भने पक्राउ परेका छन् । एटीएम कार्डबाट संसारका कुनै सुविधा भएका बैंकको बुथबाट पैसा निकाल्न सकिने सुविधा उपलब्ध छ । त्यसै अनुसार अनुसार गुरुङले एटीएम प्रयोग गर्न पाउने नै हुन् । तर, म्याद नै सकिएको कार्डबाट पैसा निस्कनु भनेको चाहिँ हाम्रा वैंकहरूको प्रविधिगत त्रुटी नै हो । एक दिनमा चारपटक मात्र प्रयोग गर्न पाइने कार्ड उनले ६७ पटक प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । यसले नेपालका बैंकहरूको क्षमता र प्राविधिक कुशलतामा समेत आशंका जन्माएको छ ।

नगदको सुरक्षा, व्यवसायमा सहजता र आयातनिर्यातमा सरिताका लागि वाणिज्य बैंकहरूको स्थापना भएको हो । यसले मानिसलाई बचत गर्न, बचतबाट भविष्यका सम्भावित जोखिम बहन गर्न समेत सहयोग पुग्छ भन्ने विश्वास बढाएकै हो । तर, सुविधासँगै बढ्न थालेको यस्ता घटनाले उनीहरूमाथि चुनौति थपिएको छ । आफ्नो खातामा पैसा नहुँदा, म्याद नै सकिएको कार्डबाट पैसा निकालिनुले बैंकहरूको फितलो सुरक्षा र कमजोर व्यवस्थापनको प्रमाण दिन्छ । बुथ फुटाएर पैसा झिक्नु चोर्नु हो, अरूको डाटा प्रयोग गर्नु पनि चोरी नै हो । तर, पछिल्लो घटना भने बैंकहरूको अक्षमता बाहेक केही होइन । यसले उनीहरू माथिको विश्वास घट्ने मात्र होइन जनताको निक्षेप असुरक्षित रहेछ भन्ने देखाउँछ । त्यसैले आफ्नो साख जोगाउन बैंकहरूले आवश्यक सजगता अपनाउनेतर्फ गम्भीर हुनु पर्छ ।



























