झापा कारागारका कैदीबन्दीद्वारा बाढी पीडितलाई सहयोग

0
743

झापा ।

सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन् ।

झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार एक सय रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेका हुन् । कारागारका आन्तरिक प्रशासन प्रमुख (चौकीदार) शेरबहादुर थेबेले झापा कारागारका प्रमुख राजेन्द्रप्रसाद गौतमलाई सो रकम मङ्गलवार हस्तान्तरण गरेका थिए । सो रकम बुधवारै सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाको बैङ्क खातामा पठाइदिने कारागार प्रमुख गौतमले जानकारी दिए ।

गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छवटा बजार तथा मानव बस्तीमा ठूलो धनजनको क्षति पु¥याएको छ । प्राकृतिक प्रकोप र विपत्तिले बर्षेनि नेपालमा ठूलो धनजनको क्षति हुँदै आएको छ । सिन्धुपाल्चोकमा आएको बाढी पहिरोले त्यहाँका पीडित परिवारलाई अहिले देश तथा विदेशबाट सहयोग आइरहेको छ ।

यस्तो अवस्थामा त्यहाँका पीडित परिवारलाई झापाका कैदीबन्दीले पनि थोरै भए पनि केही सहयोग गर्ने उद्देश्यका साथ रकम सङ्कलन गरी पठाइएको बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले जानकारी दिए । सरकारले कैदीबन्दीलाई दिनको ६० रुपैयाँ नगद र ७ सय ग्राम चामल दिँदै आएको छ ।

त्यही खर्चबाट कैदीबन्दीले एक छाक कटाएर रकम सङ्कलन गरेको बन्दी विकास पुस्तकालयका सदस्य रमेश पोखरेलले जानकारी दिए । कारागारका कैदीबन्दीले प्राकृतिक प्रकोप र विपत्ति परेकाका पीडित परिवारलाई यसअघि पनि सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here