अर्जेन्टिनाको जितपछि मेसी र नेइमारको अँगालो

0
886

काठमाण्डौं ।

कोपा अमेरिका २०२१ को फाइनलमा आयोजक ब्राजिललाई हराएर र अर्जेन्टिनाले २८ वर्षपछि मुख्य उपाधि जितेको छ। ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली यी दुई टिमको फाइनलमा भेट हुने तय भएपछि नै संसारभरि रहेका उनीहरूका समर्थकहरूबीच कसले जित्छ भन्ने चर्चा चुलिएको थिए। एकातिर ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातिर अर्जेन्टिना र लियोनल मेसीका फ्यान थिए।

फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यानलाई खुसी दियो। त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि उपाधि अर्जेन्टिनाको पोल्टामा पर्‍यो।

यो उपाधिसँगै मेसीले अर्जेन्टिनाका लागि पहिलो मुख्य उपाधि जितेका छन्। जितपछि खुसीले अर्जेन्टिनाका खेलाडी उफ्रिए। एक-अर्कालाई बधाई दिए। तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइरहेको ठाउँमा गए र मेसीलाई अँगालो मारे। उनीहरूले झन्डै १ मिनेटसम्म एक-अर्कालाई अँगालो हालिरहे।

यो क्षणले दुबै टिमका समर्थकलाई भावुक बनायो। भिडिओमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ। नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
आज उपाधिका लागि प्रतिष्पर्धा गरेका नेइमार र मेसीको मित्रता गहिरो छ। केही समयअघि सम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे। पछिल्लो समय नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजी गएका छन्। अहिले क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने कायमै छ।

अर्जेन्टिनाको जितमा डि मारिया नायक

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।

ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।

खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए।

खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।

त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो। यस्तै लिओनल मेसीका लागि पनि पहिलो मुख्य प्रतियोगिताको उपाधि हो। मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन्।

यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २-१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो।

यस्तै सन् २०१४ को विश्वकपको उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो। मेसीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए।

उपाधिसँगै अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि खडेरी तोडेको छ भने सन् २००४ यता पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडामा मलम लगाएको छ।-सेतोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here