कनकाई माविमा अन्तरक्रियात्मक प्रशिक्षण

0
814

सुरुङ्गा

कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजनामा कोभिड महामारी र विद्यार्थीको पठनपाठनसम्बन्धी एक दिने अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न भएको छ ।
जुम क्लाउडमार्फत सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी गरी ८० जनाको सहभागिता रहेको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद प्रसाईको अध्यक्षता रहेको कार्यक्रमको ‘कोभिड–१९ महामारीमा विद्यार्थीको पठनपाठनमा सरोकारवालाको भूमिका’ विषयक मुख्य विषयवस्तु रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतमले कोभिड–१९ को महामारीको समयमा वैकल्पिक पठनपाठनका लागि अपनाउनुपर्ने उपायहरु तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको कामकर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिएका थिए ।

अर्का प्रशिक्षक ‘विद्यालयमा मनोविज्ञान’ कार्यक्रमका प्रमुख अभियन्ता मनोवैज्ञानिक डा. सुशील कडेंलले विद्यार्थीको पठनपाठन र समग्र स्वास्थ्यका लागि अभिभावकहरु बढी उत्तरदायी हुनुपर्ने बताए । कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले कोभिड–१९ को महामारीको अवधिमा विद्यार्थीहरुमा फेसबुक, ट्वीटर, युट्युब, टिकटोक लगायतका सामाजिक सञ्जालको प्रयोगबाट सृजित प्रभाव र समाधानका उपायका सम्बन्धमा उदाहरणसहित प्रकाश पारेका थिए ।

कार्यक्रममा आधारभूत तह संयोजक खेमराज भट्टराई, विज्ञान शिक्षक दिलिपकुमार खतिवडा लगायतले प्रशिक्षकहरुसँग जिज्ञासा राखेका थिए । प्रशिक्षण कार्यक्रम अत्यन्तै फलदायी र सूचनामूलक रहेको प्रशिक्षणमा सहभागी शिक्षक संगीता उप्रेतीले प्रतिकृया दिइन् । नमुना विद्यालयको रुपमा विकास भइरहेको उक्त विद्यालयमा हाल २ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालयका तालिम संयोजक गोपीकृष्ण भट्टराईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here