जनसंख्या दिवसको सान्दर्भिकता

0
509

कुनै खास ठाउँमा, कुनै निश्चित समयमा बसोवास गर्ने मानिसको जम्मा संख्या जनसंख्या हो । अर्थात् जनसंख्याले कुनै खास ठाउँमा रहेका बालबालिका, किशोरकिशोरी, युवायुवती, वयस्क र वृद्धवृद्धाको योगलाई बुझाउँछ । त्यही जनसंख्या कुनै पनि ठाउँ, क्षेत्र वा देशको विकासको पहिलो आधार हुन्छ । जनसंख्याको त्यही महत्वलाई आत्मसात गरी सन १९८७ को जुलाई ११ विश्वका प्रमुख राष्ट्रहरूको सहभागितामा सम्पन्न पपुलेशन समिटले विश्व जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । त्यसकै आधारमा सन् १९८९ देखि विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउन थालिएको हो । विकासका लागि जनसंख्या आवश्यक हुन्छ र सँगै सुनिश्चित भविष्य, देशको सुरक्षाका लागि सन्तुलित जनसंख्या चाहिन्छ ।

भौतिक सुख, आधुनिकता र तीब्र विकासको चाहनाले विकसित देशहरुमा जनसंख्या कम हुँदै गएको छ । त्यसमाथि अहिले कोरोना आतंकले जनसंख्या सुरक्षामा चुनौति थपिएको छ । डेढ वर्षको अवधिमा विश्वका चालिस लाखभन्दा बढी मानिसले कोरोनाकै कारण जीवन गुमाएका छन् । मानिसको जीवन रक्षा गर्नकै लागि कोरोनाविरूद्ध खोप उत्पादन पनि भइरहेको छ । यसबीचमा पनि नियमित रुपले स्वभाबिक मृत्यु र जन्मको चक्र यथावत छ । यस्तोमा जनसंख्या वृद्धि सकारात्मक कि नकारात्मक भन्ने वहस विद्यमान नै छ । यही समय आएको विश्व जनसंख्या दिवसमा विगत जस्तो औपचारिक कार्यक्रम नभए पनि यसको उपादेयता उत्तिकै छ । किनकि जनशक्ति विकासको आधार हो जसले सन्तुलित विकास र सुदूर भविष्यको रेखाङ्कन गर्दछ ।

कतिपय देशले जनसंख्याको तीव्र वृद्धिले खाद्यान्नदेखि प्रकृतिसम्मलाई असर गर्छ भन्दै नियन्त्रणको नीति लिएका थिए । खासगरी ठूलो जनसंख्या भएको चीनले एक सन्तानको नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको थियो । तर, उसले पनि जनशक्तिको अपरिहार्यतालाई स्वीकार गरेर त्यसलाई खुकुलो पार्दै लगेको छ । अन्य थुप्रै समृद्ध देशहरू हामी जस्ता पछौटे देशका युवाशक्तिलाई उपयोग गरेर सन्तुलित र व्यवस्थित विकासको प्रतिस्पर्धा गरिरहेका छन् । विकासका लागि आवश्यक राजनीतिक स्थीरताको अभावमा हाम्रा स्थापित उत्पादनमूलक संस्थाहरू बन्द भएका छन् । सञ्चालित उद्योगहरू पनि यही राजनीतिक घटनाक्रम र विपदाहरूबाट अप्रभावित हुन सकेका छैनन् । यस्तोमा राजनीतिक स्थीरता कायम गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने सरकारको मूल जिम्मेवारी हुनुपर्छ । सम्पूर्ण रूपले परनिर्भर हुँदै गएको सामाजिक तथा आर्थिक जीवनलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्ने नीति अवलम्बन गर्नुपर्छ । अवसरको खोजीमा पलायन भइरहेको सक्रिय उमेरका साठी प्रतिशत युवाशक्तिलाई देशमै रोक्न र सदुपयोग गर्न राज्यलाई यो दिनले प्रेरित गर्नुपर्छ । जनसंख्या र विकास एकअर्काका पूरक भएको सत्य आत्मसात गरेर विकासको यात्रा तय गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here