‘फेसबुकले मानिसको ज्यान लिइरहेको छ’

३ श्रावण २०७८, आईतवार मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा फैलिरहेको कोभिड–१९विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन् । फेसबुक सहितका माध्यमहरूले खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलाइरहेको विषयमा एक जना पत्रकारले सोधेको प्रश्नमा जवाफमा बाइडनले त्यसो भनेका हुन् ।

कम खोप दर भएका ठाउँमा सङ्क्रमण विस्तार भइरहँदा ह्वाइट हाउसले महामारीबारेका मिथ्या सूचना नियन्त्रण गर्न फेसबुक विफल भइरहेको टिप्पणी गरेको छ ।

आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूले हाल कोभिड–१९ को कारण बढिरहेको मृत्यु र सङ्क्रमण दर विशेषगरी कोरोनाभाइरसबाट सुरक्षा नअपनाएका मानिसहरूमा देखिएको उल्लेख गरेका छन् ।

सङ्क्रमणका घटना बढेपछि लस भेगसमा क्षेत्रीय स्वास्थ्य अधिकारीहरूले खोप लगाएका वा नलगाएका दुवै थरी मानिसहरूलाई भिडभाड हुने भवनभित्र मास्क लगाउन भनेका छन् ।

फेसबुकको प्रतिक्रिया के छ ?

ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाव बढाउँदै गएको छ । बाइडनले भने– उनीहरूले मानिसका ज्यान लिइरहेका छन् । खोप नलगाएकाहरूमा मात्रै हामी कहाँ महामारीको अवस्था छ । यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अन्य माध्यमहरूले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताएकी थिइन् । उनले भनिन्– पक्कै पनि उनीहरूले केही कदम चालेका छन्। तर अझै पनि थप कार्य गर्नुपर्ने प्रष्ट छ ।

फेसबुकले जनस्वास्थ्य रक्षाका लागि आफूले ‘आक्रामक कदम’ चालेको बताएको छ । फेसबुकका प्रवक्ता केभीन मकालिस्टरले कम्पनी ‘तथ्यमा आधारित नभएका आरोपहरूबाट विचलित नहुने’ बताए । एउटा विज्ञप्तिमा फेसबुकले भनेको छ, हामीले एक करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचनाहरू हटाएका छौँ र नियमित रूपमा हाम्रा नियमहरू मिच्ने खाताहरूलाई बन्द गरिदिएका छौँ ।

अघि पनि फेसबुकले प्रकाशित सामग्रीहरूको नियमन लिएर आलोचना खेपेको थियो। अझै पनि महामारीसँग सम्बन्धित गलत विवरणहरू उक्त माध्यममा प्रशस्तै पाइन्छन् । वीवीसी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here