सिक्किमको सुन्दर छ वटा गाउँहरु

३ श्रावण २०७८, आईतवार मा प्रकाशित
भुवन तामाङ

भुवन तामाङ ।

नेपालको छिमेकी मित्रराष्ट्र भारतको राज्यहरुमध्ये सिक्किम पनि एक हो । भारतको उत्तरपूर्वी भेगमा रहेको एक सुन्दर पहाडी राज्य हो– सिक्किम । त्यहाँ पहाडी जीवनशैली रहेको छ । साथसाथै त्यहाँ नेपाली जातिहरु पनि उल्लेख्य संख्यामा रहेकाले नेपाली जीवनशैली पनि उत्तिकै प्रचलित रहेको छ । यस लेखमा सिक्किमको छ वटा गाउँहरुको छोटो चिनारी दिने जमर्को गरिएको छ । यो चिनारी सिक्किमका लेखक ‘चक्रपाणि भट्टराई’ले लेखेको ‘छ गाउँको सेरोफेरो’ नामक पुस्तकबाट लिइएको हो । पुस्तकभित्र छ वटा गाउँको चिनारी समेटिएका छन् ।

पुस्तक समिक्षा

(१) तुम्बालुङ गाउँ : तुम्बालुङ गाउँको पूर्व र दक्षिणमा नाम्ली, पश्चिममा छुवा र उत्तरमा नामिन गाउँ रहेका छन् । तुम्बालुङ गाउँमा एउटा निम्न माध्यमिक विद्यालय रहेको छ । एउटा स्वास्थ्य उपकेन्द्र र एउटा आगनवादी केन्द्र (इन्टिग्रेटेड चाइल्ड डिभलपमेन्ट सर्भिसेस् (आई.सी.डी.एस.) जहाँ नानीहरुलाई स्कूल भर्ना हुने उमेर नपुगुञ्जेलसम्म पढाइन्छ । उनीहरुलाई राम्रो पोषणयुक्त आहारा दिनुका साथै नानीहरुका आमाहरुलाई पनि राम्रो पोषणयुक्त खाना दिइन्छ) छ ।

 


स्कूल परिसरमा आदिकवि भानुभक्त आचार्यको सालिग स्थापना गरिएको छ । गाउँमा मनकामना मन्दिर र बुद्धको प्रतिमा स्वरुप माने रहेका छन् । साथै गाउँका सबै मिलेर उच्चकोटीको गहनाका रुपमा अत्यन्तै सुन्दर ढाँचामा युमा साम माङहिम मन्दिर स्थापना गरिएएको छ । जसले गर्दा वरिपरिका गाउँको समेत प्रतिष्ठा बढेको छ । यातायात सुविधाले गर्दा राजधानी नजिक भएको छ । गाउँमा हिउँदमा खानेपानीको समस्या रहे पनि अब यस गाउँ सम्पन्नताको नजिक पुग्न लागेको गाउँ भन्न सकिन्छ । स्कूलमा हरेक वर्ष राष्ट्रिय पर्व र साहित्यिक तथा सांस्कृतिक पर्वहरुमा भव्य कार्यक्रम हुने गर्दथे । तर, केही वर्षयतादेखि हुन छाडेका छन् ।

(२) नाम्ली गाउँ : यस गाउँको पूर्वमा मार्चक, पश्चिममा छुबा, उत्तरमा तुम्लाबुङ र दक्षिणमा सिङताम खोलो अनि पारीपट्टि बासिलाखा, खोङ्सी पर्दछन् । यो गाउँभित्र रादङ र गिदाङ बस्ती पनि पर्दछन् । गाउँको बीचबाट राष्ट्रिय राजमार्ग दौडेकाले गाउँ सुविधाजनक भएको भन्न सकिन्छ । नाम्ली गाउँमा सरकारी स्कूल छैन । विद्यार्थीहरु तुम्लाबुङमा पढ्न जान्छन् । यहाँ तीन वटा आगनवादी केन्द्र छन् । यहाँ सन् १८८० को दशकमा गीदाङ खोलाको गढतिरमा विश्वशान्ति महायज्ञ भएको थियो । नाम्लीको गौरवको रुपमा साइन्स सिटी रहेको छ । समग्रमा भन्दा नाम्ली गाउँ सम्पन्न बन्ने ढोका नजिक पुगिसकेको छ ।

(३) नामिन गाउँ : विश्वप्रसिद्ध रुम्तेक धर्मचक्र केन्द्रको छेउमा अवस्थित छ नामिन गाउँ । नामिन गाउँको उत्तर पूर्वमा मार्चक र साम्लिक बस्ती छन् । पश्चिममा छुबा अनि दक्षिणमा तुम्बालुङ गाउँ छ । यस गाउँमा महात्मा कबीरका अनुयायीहरुको बाहुल्यता रहेको छ । यहाँका बासिन्दाहरु शान्तिप्रिय छन् । यहाँ साबसब्जी मनग्गे उत्पादन हुने गर्दछन् । सन् २००८ तिर नामिनमा मोटर आइपुगेको हो । पहिला जस्तै यहाँका बासिन्दा उज्यालो नहुँदै सागसब्जी लिएर बेचबिखन गर्न गान्तोक पुग्दछन् । यस गाउँमा एउटा पुस्तकालय, एउटा प्राथमिक विद्यालय र एउटा आगनवादी केन्द्र रहेका छन् ।

(४) छुबा गाउँ : यस गाउँमा खिम्सितेन, तिग्राख गाउँ र ३२ नम्बर बजार पनि पर्दछन् । यो गाउँ विशेषगरी सुन्तला उत्पादनको लागि प्रख्यात रहेको छ । सामाजिक काममा पनि जागरुक छन् यहाँका बासिन्दाहरु । यस गाउँमा माध्यमिक र छुबा निम्न माध्यमिक विद्यालय रहेको छ । त्यस्तै गरी पाँच वटा आगनवादी केन्द्र रहेका छन् । स्कूलको थालनीदेखि हालसम्मको विकासका लागि धेरै–धेरै जनाको योगदान रहेको छ ।

(५) मार्चक गाउँ : यो गाउँ सुन्दर र स्वच्छ छ । हरेक बिहान हिमालयको चिसो र चोखो हावा सोझै यो गाउँमा आएर ठोकिन्छ । यस गाउँको पूर्वमा रानी खोला, उत्तरमा साम्लिक, पश्चिममा नामिन र दक्षिणमा नाम्ली बस्ती रहेका छन् । लेप्चा जातिको बाहुल्यता छ । यहाँ राप्तेलिङ्ग गुम्बा, कृष्ण मन्दिर छन् । शिक्षाका लागि बृहस्पति प्रसाईं उत्तर माध्यमिक विद्यालय छ । मार्चक गाउँ राजधानी गान्तोक नजिकै रहेको छ । स्वास्थ्य उपकेन्द्र पनि यहाँ रहेको छ । धार्मिक सांस्कृतिक पर्वहरुमा स्थानीयहरु मिलेर उच्चकोटीको पर्व कार्यक्रम आयोजना गर्दछन् ।

(६) साम्लिक गाउँ : विश्वप्रसिद्ध रुम्तेक गुम्बाको काखैमा रहेको यस गाउँबाट पूर्वी सिक्किमका सबै जसो हिउँचुलीहरु देख्न सकिन्छ । बिहान र साँझमा कुनै पर्यटक यो गाउँमा आएर वारिपारी हेरेपछि उसलाई कसैले तपाईं नजानुहोस् यतै बसेर घरजम गरौं भनिदिए हुन्थ्यो जस्तो गरिरहेको हुन्छ । यस गाउँमा मोटर पुगेको छ । यस गाउँमा एक निम्न माध्यमिक स्कूल र एक आगनवादी केन्द्र रहेका छन् ।

स्कूलको कथा : सन् १९६६ मा सिक्किममा महाराजा छोग्यालले पञ्चायती व्यवस्था लागू गरेपछि केही गाउँमा स्कूल खोल्ने अभियान चलेको थियो । त्यसअघि जताततै स्कूल खोल्न र पठनपाठन गर्नु गराउनु दण्डनीय अपराध नै मानिन्थ्यो । सिक्किमभरी समितिद्वारा सञ्चालन भइरहेका स्कूलहरु सन् १९७५ मा सरकारीकरण भएका हुन् । सिक्किमभरका जम्मा ६०१ स्कूलहरु सरकारी भए । स्कूलहरुलाई थुप्रै दाता व्यक्तिहरुले धन र जमिन दान गरेका छन् ।

गाउँमा जातजाति : यी छ वटा गाउँहरुमा लेप्चा, भोटिया, सुब्बा, बस्नेत, प्रधान, राई, शर्मा, लोहार, कार्की, क्षेत्री, लामा, प्रसाई आदि जातजाति रहेका छन् ।

सिक्किममा नारीको महत्व : सन् १९८८ अघि यी छ वटा गाउँहरुमा नारी जागरण अथवा नारी उत्थान विषयका कुनै संस्था भएको थाहा लाग्दैन । स्वास्थ्य केन्द्रहरु स्थापनासँगै नारीको भूमिका अगाडि देखिन थालेका हुन् । यहाँ नारीहरुको भूमिका र सहभागिताले विकास अघि बढेको छ । अखिल सिक्किम नारी जागरण मञ्चको महासंघ नै गठन भइसकेको छ । गाउँ–गाउँमा महिला स्वास्थ्य संघ रहेका छन् ।

व्यक्तित्व चिनारी : यस पुस्तकमा विभिन्न क्षेत्रमा योगदान गरेका पुरस्कृत र सम्मानित व्यक्तित्व तथा समाजसेवीहरुका बारेमा पनि चिनारी समेटिएका छन् ।

यी छ गाउँका बासिन्दा, युवायुवती, शिक्षित वर्ग सबै आफ्नो गाउँको उन्नतिका लागि सचेत र जागरुक रहेका छन् । समय–समयमा विभिन्न औपचारिक, सामाजिक कार्यक्रम सञ्चालन हुने गर्दछन् । त्यस्तै गरी गाउँमा मानी ल्याइएका चाडपर्व, संस्कृति मिलिजुली मान्दछन् । आफ्नो गाउँको विकास र चिनारी राम्रो बनाउनेमा सबै सचेत छन् । यी छ गाउँको निचारी, इतिहास र विकासका लागि यस कृति लेखिएको पुस्तकका लेखक भट्टराईले उल्लेख गरेका छन् ।

लेखक परिचय :

चक्रपाणि भट्टराई, जन्म १० सेप्टेम्बर १९६४ । उनी नेपाली चलचित्र जीवनदानको कथा लेखक हुन् । गीतकार हुन् । सिक्किमको विभिन्न स्थानमा पुस्तकालय, तुम्बालुङ स्कूल परिसरमा भानु सालिग, साहित्य परिवार नाम्ली तुम्बालुङ, अखिल सिक्किम नारी निवारण मञ्चका स्थापना कर्ता तथा संस्थापक हुन् । अखिल सिक्किम प्रतिभा संघ, युवा साहित्य प्रतिष्ठान सिक्किम, भारत तिब्बत सहयोग मञ्च सिक्किम, शान्ति समाज नाम्ली तुम्बालुङ, नेपाली साहित्य परिषद् सिक्किम जस्ता संस्थाहरुका नेतृत्वमा रही सामाजिक सेवा गरिरहेका छन् ।

थुप्रै पुरस्कार र सम्मानले पुरस्कृत र सम्मानित स्रष्टा भट्टराईका लेख, रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन भइरहेका छन् । उनका यसअघि हाम्रो संस्कृति देउसेभैलो, पाइँलाहरु प्रयासको मार्गमा, सिक्किमको राजनीतिक इतिहास र बाघका दूध कृतिहरु प्रकाशित भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here