डाक्टरमाथि कुटपिट भएको भन्दै मेची अस्पतालको सेवा ठप्प

४ श्रावण २०७८, सोमबार मा प्रकाशित

झापा,

मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका छन्। अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेको हुन्।

चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ।

आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए। आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबीच उपचारकै विषयमा विवाद भएको थियो। सोही विवादको क्रममा दुवै पक्षबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।

‘प्रहरीले हिजो बेलुका घटनाको विषयमा जाहेरी लिन मानेनन्, त्यसैले यस्तो घटना फेरि डाक्टरमाथि दोहोरिन सक्छ, यस्तो जोखिमपूर्ण अवस्थामा अस्पतालमा हामी कामकाज अगाडी बढाउन सक्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले शान्तिपूर्ण रुपमा अस्पतालमा विरोध जनाउँदै दोषीलाई कानुनी कारबाही नभएसम्म हाम्रो विरोध जारी रहन्छ।’

यता घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले बताए। ‘मेडिकल अधिकृतहरू विरोधमा उत्रिएपछि अस्पतालको सबै सेवा ठप्प छ। आकस्मिक कक्षको सेवा अस्पताल प्रशासन पक्षले रोकेको छैन,’ उनले भने‚ ‘छलफलमा मेडिकल अधिकृतहरूको एउटै अडान छ। दोषीलाई कारबाही नभएसम्म सेवा दिँदैनौँ।’

छलफलपछि डा. केवल कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको उनको भनाइ छ।

यता बिरामीका आफन्त निरौलाले भने भनाभनका क्रममा डा. केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गरे।

‘श्रीमतीलाई सञ्चो नभएपछि उपचारका लागि मेची अस्पताल लगिएको हो। आकस्मिक कक्षमा डाक्टर थिएनन्, डाक्टर केवल कपुरी ४५ मिनेटपछि आए‚’ निरौलाले भने‚ ‘त्यही विषयलाई लिएर डाक्टर कपुरीसँग केही भनाभन भयो। भनाभनकै क्रममा उनले मलाई खाते भनेपछि मैले नै सुरुमा हात हालेको हो। त्यसपछि डाक्टरले पनि मलाई हात हाले।’

निरौलाले अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्। तर‚ एकजनाको गल्तीका कारण सम्पूर्ण बिरामीले सेवाबाट बञ्चित गराउनु नहुने उनको भनाइ छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here