जनादेश र परमादेशको मझधारमा नेपाली कांग्रेस

४ श्रावण २०७८, सोमबार मा प्रकाशित
  • 668
  •  
  •  
  •  
  •  
  •  
    668
    Shares

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । र, नेपाली कांग्रेसका नेता–कार्यकर्ताका लागि यो सप्ताह आत्मसमीक्षा र आत्ममूल्यांकनको सप्ताह हो । नेपाली राजनीतिक इतिहासमा वीपीको ठूलो योगदान छ । कतिपय सीमाका बाबजुद उनी दूरदर्शी, असल र अग्रणी सोच भएका नेता थिए । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, अर्थशास्त्र, समाजशास्त्र र साहित्यको व्यापक अध्ययन गरेका मूलक, जनता र लोकतन्त्रका लागि सदैव चिन्तनशील रहने नेता थिए । वास्तवमा भन्ने हो भने वी.पी. कोइरालालाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको संघर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा, उनलाई आफ्नो समयका सारथिका रूपमा बुझ्न सकिँदैन र नेपाली जनतालाई यस सम्बन्धमा बुझाउन पनि सकिँदैन ।

वीपीलाई देवत्वकरण गरेर उनका आदर्शलाई अपहेलना गर्ने प्रवृत्ति घातक र विरोधभागी हो । हुन त वीपीले आफ्नो जीवन असफल नभएको बताएका छन् । तर, उनले आफ्नो सोच, दर्शन र नीतिहरु व्यावहारिक रुपमा लागू गर्ने अवसर नै पाएनन् । आज कांग्रेसका समर्थक, शुभेच्छुक र कार्यकर्तामा नेताहरुले वीपीको आदर्श र मार्गदर्शनलाई अनुशरण गर्न नसकेको गुनासो बढ्दो छ । पार्टीभित्रको अमूक गुटमा नरहेका कांग्रेसका समर्थकहरु वर्तमान नेतृत्वले पार्टीको आदर्शलाई भुलेर चलखेल र गुटबन्दीमा रमाउँदै गएको आरोप लगाइरहेका छन् । वीपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको र वीपीले लिएको बाटोलाई अनुशरण गर्दै उनकै मार्गचित्रमा हिँड्न नसकेको भनी निराशा पनि फैलिरहेको छ । तर, वर्तमानमा शेरबहादुर देउवाको सरकार र पार्टीमा दुबैतर्फको नेतृत्व आम कार्यकर्ता, शुभचिन्तक र समर्थकको लागि त्यति आशलाग्दो छैन र पार्टीको चौधौं महाधिवेशन नजिकिएसँगै पक्ष र विपक्षमा प्रत्यक्ष र परोक्षरुपमा समर्थन र आरोपको श्रृंखला शुरु भएको छ । वास्तवमा नेपाली कांग्रेसमा सामुहिक नेतृत्वभन्दा पनि व्यक्तिवादी नेतृत्व र चरित्रको हावी हुँदै गएको छ । यसले पार्टीलाई आक्रान्त पारेको तथ्य स्वीकार गरे पनि नगरे पनि घाम जत्तिकै छर्लङ्ग छ ।

२०१५ सालको आमचुनावमा दुई तिहाइ र पटक पटक बहुमत ल्याएर सरकार बनाएको कांग्रेस यतिबेला आफूले लिएका नीति र कार्यक्रमको प्रचार गरेर, कार्यकर्ता र जनतालाई सो बारेमा प्रष्ट पारेर गुमेको शाख फिर्ता गर्न कोशिस गरिरहेको छैन, प्रतिपक्षमा बसेर जनताको पक्षमा बुलन्द आवाज उठाएर अर्को चुनावको तयारी गर्नुको साटो २०७४ सालको निर्वाचनमा जनताले दिएको मतादेश विपरीत जोडघटाउ, तानातानको अप्रिय परम्परा शुरु गरेर सत्तासीन हुन पुगेको छ अरुको बैशाखीमा । नकारात्मकताको खेती गरेर जनतालाई आफूतिर आकर्षित गर्न सकिन्न । यतिबेला नेपाली कांग्रेस आफ्ना कामको वस्तुनिष्ठ समीक्षा गर्नुभन्दा सत्ताको आडमा चुनाव गराउँदा आफूले सहजै बहुमत ल्याउने सपना देखिरहेको छ । इतिहासले भन्छ– धेरै पटक नेपाली कांग्रेसकै नेतृत्वमा चुनाव भएको छ, तर नेकाले हरेक पटक बहुमत ल्याएको छैन । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रत्यक्षतर्फ चुनावमा नलडेको पनि इतिहास छ भने बहालवाला प्रधानमन्त्री केपी भट्टराई र बहालवाला गृहमन्त्री केपी सिटौला हारेको पनि इतिहास छ ।

जनादेशभन्दा पनि परमादेशको बाटोबाट एक महिना वा १७ महिनाको सरकारको नेतृत्व गर्नुभन्दा एक्काइसौं शताब्दी सुहाउँदा जनपक्षीय कार्यक्रम के हुन सक्छन्, राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको भाव के हो र अब मुलुक कुन दिशातिर जान उचित हुन्छ भनेर आत्मसमीक्षा गर्न र आगामी चुनावको तयारी गर्न आवश्यक थियो, तर कांग्रेसले जनअपेक्षित बाटो रोजेन । यसरी चुनावको तयारी गरेको भए नेकाको बहुमत आउन सहज हुने अनुमान गर्न सकिन्थ्यो, तर कांग्रेस सत्ताको लोभमा प¥यो र जनविश्वास गुमाउने मार्गमा अग्रसर भयो । हुन त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार बन्नुका पछि पार्टीको आन्तरिक अनेकता र गुटउपगुटको चलखेलको पनि भूमिका छ । देउवालाई प्रधानमन्त्रीको कुर्सी दिएर पार्टी सभापति लिने प्रतिष्पर्धी नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, डा. शेखर कोइराला, बिमलेन्द्र निधि लगायतको इरादा देखिन्छ । साँच्चै भन्ने हो भने पार्टीभित्रको अन्तरघात र बेमेलका कारण पनि नेपाली कांग्रेस आजको अवस्थामा पुगेको हो ।

गुमेको अस्तित्व प्राप्तिका लागि छ दशकभन्दा बढी समयदेखि लोकतन्त्र र गणतन्त्रका लागि लडेका, जेलनेल खपेका, प्रवासमा कठीन जीवन बिताएका नेपालका कम्युनिष्टलाई अधिनायकवादी र सर्वसत्तावादी करार गर्ने र जनमत आफूतिर तान्ने कुरा धेरै पुरानो भइसकेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जम्बोजेटका सहचालक पुष्पकमल दाहालले नेकपाको सरकार बनेपछि नेपालमा कम्युनिष्टहरुले ४०–५० वर्षसम्म शासन गर्ने र मुलुक समाजवादी बन्ने भयो भनेर सपना कहेका थिए र नेपाली कांग्रेस पनि कम्युनिष्टहरुलाई अलोकतान्त्रिक, सर्वसत्तावादी भनेर गालीगलौजमा उत्रेको थियो । तर, वास्तवमा नेकपा एमाले पनि नेपाली कांग्रेस जस्तै संसदीय लोकतान्त्रिक पार्टी हो भन्ने कांग्रेसले नमान्नु बेइमानी नै हो । लोकतन्त्रको स्थापना, विकास र मूल प्रवाहीकरणमा कम्युनिष्टहरुको योगदानको हिस्सा छ । तसर्थ, नेपाली कांग्रेसले आफूलाई मात्र प्रजातन्त्रवादी भन्ने र कम्युनिष्टहरुलाई अधिनायकवादी भनेर आमसञ्चारका माध्यम, सामाजिक सञ्जाल र आफ्ना प्रशिक्षणहरुमा भन्नुको खासै अर्थ छैन । नेपालका मुख्य कम्युनिष्टहरुको धार लोकतान्त्रिक आन्दोलनकै धार हो । अझ समुन्नत लोकतन्त्र कसरी बनाउने, आधुनिक युगसापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न सकेमा मात्र कांग्रेसको भलो हुन्छ । नेपाली जनताका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुबै उस्तै पार्टी हुन्– कहिले को सरकारमा, कहिले कसको बहुमत, कहिले कसको अल्पमत ।

वीपीको आदर्श कांग्रेसका लागि बिरानो भएको छ । वीपीको सिद्धान्त र मार्गदर्शन अनुशरण गर्दै एकढिक्का हुनुपर्नेमा जोड दिने हो भने बरु कांग्रेसले कोर्ष करेक्सन गर्न सक्थ्यो । शीर्ष नेता नै गुटबन्दी र व्यक्ति केन्द्रित स्वार्थमा हिँड्दा त्यसको असर तल्लो तहसम्म पुगेकाले नेतृत्वमा रहेका नेताको आचरण शुद्धीकरण कांग्रेसको मुख्य विषय हुनुपर्छ । नेपाली कांग्रेस संघीय, प्रादेशिक र स्थानीय तहका संसदहरुमा झिनो जनसमर्थनसहित उपस्थित हुन बाध्य भएको छ । यद्यपि केन्द्रको चुनावमा लोकप्रिय मतमा नेकपा एमालेको मतभन्दा धेरै नै फरक अवस्थामा रहेको छैन । नेपाली कांग्रेसका लागि सबैभन्दा पेचिलो प्रश्न हो– के नेपाली कांग्रेस वी.पी. कोइरालाले देखाएको बाटोमा हिँडेकै कारणले कम्युनिष्टसँग हार व्यहोर्नु परेको हो कि ? अथवा वीपी कोइरालालाई बिर्सेकै कारणले वा वीपीका आदर्शलाई नपछ्याएकै कारणले इतिहासमै पहिलो पटक जनताकै मतद्वारा पराजित हुनुपरेको हो ? नेपाली कांग्रेसले आफैंसँग प्रश्न गर्नुपर्छ– नेपाली कांग्रेसले आफूले हिँडेको बाटो समाजवादी हो ? के यो बाटो सामन्त र दलाल पुँजीवादीहरुलाई पक्षपोषण गर्ने हो ? कांग्रेसीजनका लागि कांग्रेसको राजनीति भनेको नेपाल कम्युनिष्ट पार्टीले गरेका कमजोरीउपर छिन्द्रान्वेषण गर्ने र भए÷नभएका कुरा उछालेर हिलो छ्याप्ने वा जनअसन्तुष्टिको तावामा रोटी सेक्ने हो ? वास्तवमा नेपाली कांग्रेसले सृजनात्मक रुपमा सोच्न जरुरी छ ।

कांग्रेसले आफ्नो इतिहासलाई फर्केर हेर्ने, आत्म–मूल्यांकन र सिंहावलोकन गर्ने र आफू जनतासँग टाढा भइयो कि नजिक भनेर समीक्षा गर्ने हो भने वीपीका आदर्शलाई फेरि एकपटक आत्मसात गर्न जरुरी छ । कांग्रेसका बारेमा उठेका प्रश्नका उत्तरहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) वा अन्य दलका कमजोरीमा खोज्ने होइन । आफ्नो विजयमा मात्र आफ्नो जीत देख्नुपर्छ र अरुको पराजयमा मात्र आफ्नो जीत देख्ने अरुको आँगन खनेर आफ्नो भण्डार भर्ने सोच कांग्रेसका लागि घातक छ र आम नेपाली जनतालाई पनि त्यसले भलो गर्दैन । यदि यसरी मात्र सोच्ने हो भने नेपाली कांग्रेसले नेकपा एमाले वा अन्य दलभन्दा पनि बढी समाजवादी, जनपक्षीय र जनहितकारी नीति र कार्यक्रम ल्याउने क्षमता राख्दैन भन्ने प्रष्ट हुन्छ । तीन जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका, राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वी.पी.कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटोबाट आज नेपाली कांग्रेस हिँडिरहेको छ भनेर मान्न सकस पर्ने स्थिति देखा परिरहेछ । आफ्ना संगठनलाई सुदृढ गर्ने र कार्यकर्तामा ऊर्जा भर्न जनस्तरमा आउन सकेमा नेकाको नेतृत्व जनतामा स्थापित हुने हो । सत्तामा हुँदा मात्र जनतामा स्थापित हुने भन्ने मान्यता गलत हो ।

२०१५ सालमा सम्पन्न नेपालको पहिलो आम निर्वाचनबाट प्रधानमन्त्री बनेका वी.पी.ले ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरु सहित क्रान्तिकारी बाटोमा अघि बढ्न कोशिस गर्दा र आफ्नो दुईतिहाई बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानून पारित गरेपछि राजा महेन्द्रबाट बहुदलीय लोकतन्त्रको घाँटी निमोठी २०१७ साल पौष १ गते बहुदलीय प्रजातन्त्र खोसी एकदलीय निरंकुशताको बीजारोपण गरी उनलाई जेल हालियो । वी.पी. राजासँग झुकेनन्, बरु उनले एक महान प्रजातन्त्रवादी नेताको रुपमा एकान्त जेल रोजे र लोकतन्त्रको खरानीमाथि उभिएको अधिनायकवादको विपक्षमा उनी सदैव खडा भए । आजका नेकाका नेताहरुमा वीपीको जीवनबाट लिने कुनै आदर्शमय जीवनपद्धतिको मार्गदर्शनबारे हृदयतः विश्वास छ ? आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर हुँदाहुँदै मुलुकमा अस्थिरता सृजना गर्ने बाटोमा कांग्रेस लाग्नु हुँदैनथ्यो । शेरबहादुर देउवाको सत्तारोहणको यो बेला थिएन, तर कुर्सी नै प्यारो हुनेका लागि अन्य पार्टीका बेमेल र विग्रह रमाइला लाग्छन् ।
कम्युनिष्टहरुले गरेका गलत कामकारवाहीको भण्डाफोर गर्दै जनतामा जाने कांग्रेसको बाटोमा अब त्यति सहजता हुने छैन किनभने अबका १७ महिना कांग्रेस विपक्ष रहने छैन । राम्रो गरे पनि, नराम्रो गरे पनि कम्युनिष्टलाई बाँकी अवधि छोडेको अवस्थामा जनतालाई भन्नुपर्ने कुरा कांग्रेससँग धेरै हुने थियो । सारमा भन्ने हो भने अहिलेको नेकाको नेतृत्व वीपीको आदर्शलाई ग्रहण गरेर अघि बढ्न अनकनाइरहेको छ । कांग्रेसीजनले आफ्ना कमजोरीहरुको आत्मसमीक्षा गर्दै आग्रह–पूर्वाग्रहबाट माथि उठेर पछाडिको ढोका (जस्केला)बाट होइन, जनादेशको मूल ढोकाबाट मुलुकको नेतृत्व गर्न अग्रसर हुने मार्गमा लाग्न जरुरी छ । यतिबेला नेपाली कांग्रेस जनादेश र परमादेशको मझधारमा उभिएको छ । आगामी पार्टीको चौधौं महाधिवेशनले नेपाली कांग्रेसको भावी दिनका लागि मार्गचित्र निर्माण गर्ने हो वा होइन, प्रतीक्षाको विषय भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here