मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुली ८ प्रतिशतले बढ्यो

४ श्रावण २०७८, सोमबार मा प्रकाशित

लक्ष्मी उप्रेती/मेचीनगर, 

कोभिड संक्रमणका कारण विभिन्न प्रतिकूल परिस्थितिको अवरोध भए पनि मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको तुलनामा ८ प्रतिशतबढी राजस्व संकलन गरेको छ । यो नाकाबाट आयात—निर्यातको व्यपार बढेकाले मेची भन्सारले कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा राजस्व असुलीको लक्ष्य सजिलै पुरा गरेको भन्सार अधिकारीहरुको भनाई छ ।

राजस्व असुलीका दृष्टिले १ नम्बर प्रदेशकै पहिलो ठूलो मेची भन्सारले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा लक्षित राजस्व गुमाए पनि गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व असुलीको लक्ष्य भेटेको हो ।

प्रमुख भन्सार आधिकृत ध्रुवराज विश्वकर्माका अनुसार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०७७/२०७८ मा १२ अर्व ९ करोड ३ लाख ७९ हजार रुपैयाँको वार्षिक लक्ष्य दिईएको भएपनि १३ अर्ब २ करोड ९५ लाख ८५ हजार रुपैयाँ वा १ सय दशमलव ८ प्रतिशत राजस्व संकलन गरेको छ । जुन असुली रकम लक्ष्यको तुलनामा ९३ करोड ९२ लाख ६ हजार रुपैयाँ वा ८ प्रतिशत बढी हो ।

गतआर्थिक वर्षमा २०७६/ २०७७ मा यस कार्यालयले कुल लक्ष्यको तुलनामा ६३ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो । अभिलेख अनुसार त्यो वर्ष १३ अर्व २४ करोड १ लाख ९९ हजार वार्षिक लक्ष्य प्राप्त गरेको मेची भन्सार कार्यालयले ८ अर्व ३५ करोड ६६ लाख ६ हजार रुपैयाँ वा ६३ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो । जुन रकम ४ अर्व ८८ करोड ३५ लाख ६ हजार रुपैयाँ वा ३७ प्रतिशतले कमि हो ।

अघिल्लो आर्थिक वर्षमा भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको थियो । त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको भन्सार अधिकारीहरुको भनाई छ । पछिल्लो समय नाका केहीहदसम्म सहज भएका कारण आयात—निर्यातमा केही खुकुलो भएकाले हरेक महिना राजस्व संकलनमा समेत वृद्घि भएको हो ।

कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजस्व असुली हुने कार्यालयले अनुमान गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । भारतबाट हुने आयात वृद्धिसँगै आन्तरिक राजस्व चुहावटको सम्भावनालाई नियन्त्रण गर्न कार्यालयमा आन्तरिक सुधार गरिएसँगै यस्तो विषम परिस्थितिमा पनि कार्यालयको राजस्व असुली सन्तोषजनक रहेको भन्सार अधिकारीहरुको भनाई छ । तेस्रो मुलुकबाट हुने आयात तथा भारत र बंगलादेशसँगको व्यापारिक कारोबार यसनाकाबाट हुने गरेको छ ।

विशेषगरी काँकरभिट्टा नाका भएर पेट्रोलियम पदार्थको आयात बढेसँगै कार्यालयले वार्षिक लक्ष्य सजिलै पुर्याउने गरेको छ । पेट्रोलियम पदार्थले कुल राजस्वको ४५ प्रतिशत राजस्व ओगटेको छ । आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि जेठमहिनासम्म पेट्रोलियम पदार्थबाट मात्रै २ अर्व ५८ करोड ५७ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा पेट्रोलियम पदार्थबाट २ अर्ब ७१ करोड ८८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा पेट्रोलियम पदार्थबाट असुली हुने राजस्व १ अर्ब ८६ करोड रुपैयाँले बृद्घि भएको प्रमुख भन्सार आधिकृत विश्वकर्माले बताउनुभयो । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइलाले कुल राजस्वको ४५ प्रतिशत र बाँकी १० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here