जनतालाई केन्द्रमा राख

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

सात महिनादेखिको राजनीतिक अन्योल आइतबार रातिदेखि समाप्त भएको छ । नयाँ संविधान अनुसार निर्विघ्न मत पाएको नेकपा र एमालेको गठजोरबाट निर्माण भएको केपी ओली नेतृत्वको सरकारका आन्तरिक कारणले अस्थीर बनेको राजनीतिले एकपटक फेरि गन्तव्य पक्रेको छ। यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनलाई विद्यमान चुनौतिहरूको सामना गर्न त्यति सहज भने छैन । प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्चमा परेको रिटको फैसलाले प्रमको फैसलालाई असंवैधानिक ठहर गर्दै देउवालाई संवैधानिक प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि मात्रै नियुक्त भएका देउवाको अबको कार्यकाल निश्चित भएको छ । तर, यो समय उनका लागि त्यति सहज र निष्कण्टक भने छैन ।

राजनीतिक अङ्कगणितको खेल अनपेक्षित हुँदो रहेछ। त्यसको उदाहरण भयो, आइतबार प्रतिनिधि सभामा भएको विश्वासको मतको परिणाम । प्रमले दाबी गरेभन्दा पनि बढी सांसदले देउवाको पक्षमा मत दिएर सर्वोच्चको फैसला अनुसार स्वतन्त्रताको उपयोग पनि गरे । कुनै एक व्यक्तिको सनक वा लहडमा मुलुक र जनताको भविष्य अनिश्चित बनाउन पाइँदैन र मानिसले विवेकको पनि प्रयोग गर्नुपर्छ भन्ने शिक्षा दिएको हुनुपर्छ यो घटनाले । गत वर्षको पुस ५ गते प्रधानमन्त्रीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्चले पुनर्स्थापित गरेको घटनाबाट सिक्नु वा चेत्नुको साटो जेठ ८ गते त्यही गल्ती दोहोर्याउनु हुँदैन थियो । सल्लाहकार र सहयोगीले पनि उचित सल्लाह नदिएरै उनलाई अप्ठ्यारोमा पु¥याए । एउटै व्यक्तिले उही कार्यकालमा उही गल्ती दोहो¥याउनु अन्ततः दलकै लागि घातक बनियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीच भएको तालमेल र त्यसपछिको एकताले दिएको पूर्णकालीक जनादेश आखिर टुङ्गियो । इतिहासले समीक्षा गर्ला यसका लागि को–कति जिम्मेवार छ । तर, संविधानलाई आफू अनुकूल उपयोग गर्न खोजियो भने दुर्घटना निश्चित छ, यही भयो एमालेका निम्ति र छँदाखाँदाको दुईतिहाई अल्पमतमा पुगेर । देश डेढ वर्षपछि त आवधिक निर्वाचनमा जाने नै हो । अहिलेको कोरोना महामारीबाट जनतालाई सुरक्षित गर्ने सबैभन्दा ठूलो जिम्मेवारी छ देउवा नेतृत्वको सरकारलाई । देश र जनताको हितलाई सर्वोपरि मानेर त्यसैलाई प्राथमिकता दिनुपर्छ । विधिको शासन, राजनीतिक स्थिरता र जनतालाई समृद्धिको बाटोमा हिँडाउनु पर्छ । हिजोका विमतिलाई उदार र हार्दिकतापूर्वक लिएर सहमति, सहकार्य र एकताको बन्धनलाई बलियो बनाउनु पर्छ । प्रधानमन्त्री देउवाको शासकीय यात्रा सुशासन उन्मुख होस्, जनमुखी र राष्ट्रिय हितमा होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here