यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

भक्तपुर, 

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड–१९ बाट सुरक्षित हुँदै आफू अध्ययन गरेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको छ । कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित परीक्षा सञ्चालनलाई अनुमति दिएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । यसअघि गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो भने यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ । परीक्षा गाईजात्रा र जनैपूर्णिमाको बिदाबाहेक शनिबार पनि सञ्चालन हुने भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here