विकसित मुलुकबाट सिक्ने कि ?

६ श्रावण २०७८, बुधबार मा प्रकाशित
  • 762
  •  
  •  
  •  
  •  
  •  
    762
    Shares


एकाइसौं शताब्दीमा आइपुग्दा नेपालमा सियो उत्पादन गर्ने मेशिन समेत छैन । सामान्य बिरामी पर्दा प्रयोग गर्ने औषधिमा समेत परनिर्भर नै बन्नुपर्छ । हामीसँग भएका उत्पादित कच्चापदार्थहरुलाई प्रशोधन, भण्डारण र वितरण गर्ने आधुनिक औजार समेत विदेशी दातृसंस्था कै मु्ख ताक्नुपर्छ । दक्ष जनशक्ति र औद्योगिक विकासको परिकल्पना गरिए पनि उपयोगिता र उत्पादनमा विकास गर्न सकेनौं । कारण हामीभन्दा अघि लागेर विकासको गतिमा लम्किरहेको मुलुकबाट सिक्ने प्रयत्न नै भएन ।

केही दशकयता चीन, भारत लगायत पूर्वी एसियाली मुलुकले औद्योगिकीकरणमा सफलता हासिल गर्दै आर्थिक बृद्धिदर बढाए भने औद्योगिकीकरणका अभावमा अफ्रिकी मुलुकको गरिबी बढेर गयो । चीन, भारत, दक्षिण कोरिया, ताइवान, इण्डोनेसिया, इजरायल लगायतका देशले गरेको विकासमा औद्योगिकीकरणको ठूलो योगदान छ । उत्पादनशील क्षेत्रमा भएको प्राविधिक परिवर्तनले गर्दा नै आर्थिक बृद्धि सम्भव हुन गएको हो । अधिकांश भाग मरुभूमि भएको इजरायलले बालुवामा खेती गरेर उत्पादित वस्तुलाई अन्यत्र देशमा निकासी गर्छ । यो सम्भव हुनुमा प्राविधिक परिवर्तन अर्थात् औद्योगिकीकरण नै हो ।

प्रविधिका सन्दर्भको विषयलाई अध्ययन गर्ने हो भने चीनमा पूर्वाधार विकासमा यस्तो प्रविधि छ, जो विश्वमै पाउन मुस्किल छ । सन् १९८० देखि १९८४ को अवधिमा चीनमा तीव्र गतिमा औद्योगिक सुधार भएको पाइन्छ । पछिल्लो चरणमा आउँदा चीनले विश्वलाई नै चुनौति दिन पुगेको छ । चीनको उच्चतम् आर्थिक वृद्धि हुनुका कारणमा तीव्र औद्योगिकीकरण, उच्च बचत, पूर्वाधारमा व्यापक लगानी, खुला र प्रतिस्पर्धी अर्थतन्त्र नै रहेको पाइन्छ ।
दोस्रो विश्वयुद्धपछि उद्योगहरू बिस्तारै फस्टाउन थाले । त्यसमा पनि योजनाबद्ध औद्योगिकीकरणको शुरुवात सन् १९५६ मा विकास योजनाको स्थापनासँगै भएको थियो । नेपालमा सार्वजनिक संस्थानको शुरुवात एवम् विकास पनि विकास योजना सँगसँगै भयो । औद्योगिक विकास एवम् उत्पादनमूलक आधार तयार गर्नका लागि सातौं योजनासम्ममा सरकारले ७५ वटा सार्वजनिक संस्थानको स्थापना ग¥यो । जुन उद्देश्यका लागि यी संस्थान स्थापना भएका थिए ती पूरा हुन सकेनन् । सरकारको ठूलो लगानी त्यसै खेर गयो । सन् १९९२ मा सरकारले उदारीकरणको नीति अवलम्बन गरेसँगै यी संस्थान वा उद्योगहरूलाई सुधार गर्ने उद्देश्यले कतिपयलाई निजीकरण त कतिपयलाई गाभ्ने र कतिपयलाई भने खारेज गरियो तर कौडीका भरमा गरिएको निजीकरणले उल्टै ऋणात्मक नतिजा दिन थाले । हाल रहेकामा धेरैजसो घाटामै छन् ।

औद्योगिकीकरण र आर्थिक विकासको सम्बन्ध अत्यन्त घनिष्ठ छ । विश्व परिवेशमा आर्थिक रूपमा सबल मानिएका सबै मुलुक औद्योगिक क्रान्तिका माध्यमबाट नै सफल हुन पुगेका हुन् । नेपालमा औद्योगिक विकास धेरै ढिला शुरु भयो । सन् १९३६ मा औद्योगिक परिषद् स्थापना भएपछि मात्र औद्योगिक विकासको सुरुवात भएको पाइन्छ । तथापि पनि नेपालको औद्योगिक क्षेत्र विभिन्न चरणमा भएका दैवीप्रकोप, राजनीतिक परिर्वतनका निम्ति हुने गरेका आन्दोलन, कच्चापदार्थको अभाव जस्ता कुराहरुले औद्योगिक विकास हुन नसकेको पाइन्छ ।
राजनीतिक स्थिरता कायम नभई आर्थिक बृद्धि हासिल गर्न नसकिने कुरा १८औं र १९औं शताब्दीका घटनाक्रमले प्रमाणित गरिसकेको छ । अहिले हामी २१सौं शताब्दीको औद्योगिक विकासक्रमको चरणमा आइपुग्दा पनि हाम्रा पदचिन्हहरु पुरानै शैलीमा छन् । हामी लर्बराइरहेका छांै । अतः सरकार एवम् राजनीतिक दलले राजनीतिक स्थिरतालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक निजी साझेदारी नीति अनुसार निजी क्षेत्रलाई विश्वासमा लिई पूर्वाधार सेवाको विकासमा निजी क्षेत्रको व्यवसायिकता, उद्यमशीलता, क्षमता, दक्षता एवम् नवीनतम् प्रविधिलाई मुलुकको सर्वाङ्गीण विकासमा उपयोग गर्नुपर्ने भएको छ ।

मुलुकको कूल उत्पादनमा ठूलो योगदान पु¥याउँदै आएको उद्योग–व्यवसाय विगत लामो समयदेखिको राजनीतिक अस्थिरता, नाकाबन्दी, आन्दोलन, र विश्व प्रकोपको रुपमा रहेको कोरोना भाइरसका कारण नराम्ररी थला परिसकेको छ । औद्योगिकीकरण नभइकन मुलुकको तीव्र आर्थिक विकास एवम् जीवनशैलीमा परिवर्तन पनि असम्भव हुने भएकाले सरकारले औद्योगिकीकरणलाई विशेष प्राथमिकतामा राखी अन्य मुलुकबाट पाठ सिक्दै नयाँ योजनाका साथ अघि बढ्नु आजको टड्कारो आवश्यकता भइसकेको छ ।

खुला र उदार आर्थिक नीतिसँगै अन्य मुलुकमा जसरी औद्योगिक विकास गर्ने उद्देश्यले औद्योगिक नीति, १९९२ र वैदेशिक लगानी नीति, १९९२ प्रतिपादन गरियो । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने, त्यस्तो लगानीबाट प्राप्त आम्दानीलाई पुनः लगानी गर्ने, प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले लगानी तथा प्रविधि हस्तान्तरण ऐन, १९९२ पनि आयो, तर वैदेशिक लगानी भित्र्याउनका लागि केही आधारभूत तत्व पनि पूरा गर्नुपर्ने हुन्छ । जस्तै, दक्ष श्रमशक्ति, बजारको क्षेत्र, पूर्वाधार विकास, प्रविधि, नवप्रवद्र्धन गर्ने क्षमता, बजार सञ्जाल आदि । यी सबैको कमीले गर्दा वैदेशिक लगानी आकर्षित हुन सकेन ।

औद्योगिक क्रान्तिको शुरुवात १८औंदेखि १९औं शताब्दीको बीचमा बेलायतबाट भएको पाइन्छ । कृषि र ग्रामीण परिवेशमा रहेका युरोप र अमेरिकी समाज पनि यही अवधिमा औद्योगिकीकरण र सहरीकरणमा प्रवेश गरेका थिए । औद्योगिक क्रान्ति सन् १७०० को अन्त्यतिर बेलायतमा शुरु गरिँदा ग्रामीण परिवेशमा घर–घरमा हाते औजार र सामान्य मेसिनको प्रयोगबाट भएको थियो भनिएको छ । औद्योगिकीकरणको नीति लिएपछि कलकारखानाको विकास भयो भने विकसित एवम् स्तरीय मेसिनको प्रयोगले उत्पादनलाई अत्यधिक बनायो । फलाम र कपडा उद्योगबाट शुरु भएको क्रान्ति वा षयन्त्रसम्म पुग्यो जसले यातायात, सञ्चार र बैङ्किङ प्रणालीलाई समेत सकारात्मक प्रभाव पा¥यो ।

जीवन निर्वाहको मुख्य स्रोत कृषि भएका अधिकतम् जनसंख्या औद्योगिक क्रान्ति शुरु हुनुभन्दा पहिले ग्रामीण समुदायमा बसोबास गर्दथे । आम्दानी थोरै हुँदा दैनिक जीवन अत्यन्त कष्टप्रद थियो भने मानिस कुपोषणको शिकार र रोगबाट ग्रसित थिए । औद्योगिक विकास नभई यी सबैबाट मुक्ति नहुने हुँदा बेलायतले घर र पसलमा सञ्चालित स–साना हाते औजार र सामान्य यन्त्रलाई विस्थापित गर्दै ठूला मेसिनको प्रयोगले औद्योगिक क्रान्ति गर्ने सोच बनायो । मुख्य कुरा बेलायतमा राजनीतिक स्थिरता थियो भने विश्वलाई नै उपनिवेश बनाउन सफल भएका कारण कच्चापदार्थको कमी पनि थिएन । सन् १७०० बाट नयाँ आविष्कारको शुरुवात हुँदा मानिसमा उत्पादन गर्ने क्षमतामा बृद्धि भएको थियो । सन् १७६४ मा स्पेनिङ जेनीको आविष्कार भयो । जसको सहायताले एकजना व्यक्तिले एकै साथ धेरै धागोका गोली उत्पादन गर्न सक्थे । १८औं शताब्दीको शुरुमा फलाम उद्योगको विकास भएको थियो भने सन् १८५० मा स्टिलको उत्पादन गरिएको थियो । फलाम र स्टिलले भौतिक पूर्वाधार, मेसिन र जहाज जस्ता कुराको निर्माणमा महत्वपूर्ण योगदान गरेको पाइन्छ ।

सन् १७६० देखि १८३० सम्म बेलायतमा मात्रै औद्योगिक क्रान्ति सीमित थियो र बेलायतले आफ्नो प्रविधि तथा दक्ष कामदारलाई अन्य देशमा निर्यात नगर्ने नीति लिएको थियो । तर, केही बेलायतीको विदेश निर्यात गरेमा फाइदा पुग्ने सोचका कारण त्यो सफल हुन सकेन र बेलायतको एकाधिकार समाप्त भयो । फलस्वरूप बेलायती प्रविधि युरोपियन देश बेल्जियम, फ्रान्स, जर्मनी हुँदै अमेरिकासम्म पुग्यो । तर, राजनीतिक स्थिरता नभएका कारण अन्य युरोपियन देशमा औद्योगिक क्रान्ति सफल हुन सकेन ।

जर्मनीमा फलाम र कोइलाको अथाह खानी हुँदाहुँदै पनि राजनीतिक अस्थिरता कै कारण उद्योगको विकास हुन सकेका उदाहरण पनि छन् । सन् १८७० पछि जब राजनीतिक स्थिरता कायम भयो स्टिलको उत्पादनद्वारा बेलायतलाई उछिन्दै रासायनिक उद्योगको क्षेत्रमा विश्व नेतृत्वका रूपमा स्थापित भयो । सन् १९२० को मध्य दशकपछि औद्योगिकीकरणमा पछि परेका भारत र चीनले समेत औद्योगिक क्रान्तिको शरुवात गरेको पाइन्छ । १९औं शताब्दीको मध्य दशकमा युरोप र अमेरिकामा प्रवेश गरेको औद्योगिक क्रान्तिले २०औं शताब्दीको शुरुवातमा नै अमेरिकालाई सर्वाधिक औद्योगिकीकरण भएको मुलुक बनायो । त्यही समयमा जापानले पनि आफूलाई सफल मुलुकका रूपमा उभ्याएको र स्थापित गर्न सफल भएको भेटिन्छ । २१आंै शताब्दीसम्म आउँदा अमेरिका, चीन, बेलायत लगायतका विकसित देशहरुले औद्योगिक क्रान्तिमा ब्यापक फड्को मार्न सफल भएको पाइन्छ ।

यसरी विभिन्न विकसित देशहरुका अथक प्रयास र सफलतालाई हेर्ने हो भने औद्योगिक विकासबिना मुलुक अघि बढ्न नसक्ने प्रमाणित हुन्छ । अब नेपालले यिनै अघि लागेर कुदेका देशहरुको सिको गर्न सक्ने किन सक्ने मुख्य प्रश्न यही हो । हामीले राजनीतिक परिर्वतनका साथै सामाजिक र शैक्षिकरुपमा दक्षता हासिल गर्दै औद्योगिक विकासको बाटो खोल्न सक्नुपर्छ । यसका लागि राज्य संयन्त्रको ध्यान पुग्नु जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here