पत्रकार केशव धितालको निधन

७ श्रावण २०७८, बिहीबार मा प्रकाशित
  • 475
  •  
  •  
  •  
  •  
  •  
    475
    Shares

झापा।

नेपाल पत्रकार महासंघ झापा शाखा सदस्य, अग्रज पत्रकार केशवराज धितालको छातीमा संक्रमणका कारण ७२ वर्षको उमेरमा बुधवार राति निधन भएको छ । धितालको निधनको दुःखद् खबरले पत्रकार महासंघ झापा शाखाले स्तब्ध भएको जनाएको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आज बसेको महासंघ कार्यसमितिको आकस्मिक बैठकले पत्रकार धितालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

कोरोना संक्रमण भई स्वास्थ्य लाभ गरिसक्नुभएका पत्रकार धिताल केही समयदेखि छातीको संक्रमणका कारण नियमित चेकजाँच र चिकित्सकको निगरानीमा रहनुभएको बेला तीन दिनदेखि अचानक स्वास्थ्य अवस्था गम्भीर भई मनमोहन मेमोरियल अस्पताल काठमाडौंमा उपचाररत् हुनुुहुन्थ्यो । पत्रकार धितालको उपचारकै क्रममा सोही अस्पतालमा मिति २०७८ साउन ६ गते राति ८ः४५ बजे निधन भएको हो । स्वर्गीय धितालका श्रीमती विमला शर्मा, दुई छोरा–बुहारी अतुल–सैलजा, ऋषि–सरिता, एक छोरी–ज्वाई उपमा–अजय दाहाल छन् । धितालकी कान्छी श्रीमती रुक्मिणीदेवी रिजालको गत मंसीरमा निधन भएको थियो । धितालका तीन नाति र दुई नातिनी रहेका छन् ।

पिता टीका दत्त र माता गंगादेवीका सन्तान भई २००६ साल बैशाख ३ गते जन्मनुभएका धिताल हाल दमक झापाका स्थायी बासिन्दा हुनुहुन्थ्यो । तर, विगत केही महिनादेखि स्वास्थ्य समस्याका कारण उहाँ काठमाडांैं निवासी जेठा छोरा अतुलका साथमा रहँदै आउनुभएको थियो । पत्रकार धिताल विगत चार दशकदेखि झापामा रही पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । औपचारिक शिक्षा आई.ए. उत्तीर्ण गरी ज्योतिष शास्त्रमा बी.ए. गर्नुभएका पत्रकार धिताल २०४० सालबाट पत्रकारितामा प्रवेश गर्नुभएको थियो ।

नेपाल ज्योतिष दर्पणका सम्पादक, हिमालय टाइम्स,शनिबार साप्ताहिक, पूर्वाञ्चल दैनिक लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध रही क्रियाशील पत्रकार धिताल ज्योषित र साहित्यकारको रुपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँले नेपाल पत्रकार महासंघ झापाको उपाध्यक्ष, श्रमजीवी पत्रकार संघको अध्यक्ष, नेपाल प्रेस युनियनको जिल्ला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । आफ्ना कान्छा छोराको नाममा उहाँले बिर्तामोडमा ऋषि पुस्तक पसल सञ्चालनमा ल्याएका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको महासंघ झापाले जनाएको छ ।

महासंघले स्वर्गीय पत्रकार धितालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघ झापाको तर्फबाट सचिव डिकेश लामाले विहीवार शोक विज्ञप्ति जारी गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेका छन् । स्व. धितालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिसहित विहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको दशगात्र कर्म पशुपतिस्थित दशगात्र कर्मस्थलमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here