केपीले आममाफी भनेको उपयुक्त नभए माधवले पनि आममाफी दिनु : मन्त्री कार्की

0
840

बिर्तामोड ।

नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मन, वचन र कर्मले गला मिलाउनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि ‘आममाफी’ दिएर सबै पक्षलाई आह्वान गरेको प्रसंगलाई गलत ब्याख्या र विश्लेषण गरिएको कार्कीको टिप्पणी छ । ‘एमालेभित्र फाटो ल्याउन निक्कै अघिदेखि सामाजिक सञ्जाल कामयावी बनेको देखिन्छ । नेताहरुले यस्ता भ्रामक कुरातर्फ ध्यान दिनु आवश्यक छैन ।’ –कार्कीले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘अझ सुदृढ र एकताबद्ध एमाले चाहने नेता, कार्यकर्ता, शुभचिन्तकले त्यता ध्यान दिनुहुन्न ।’

कार्कीले भनेका छन्– हामी पार्टी एकता चाहने तमाम पार्टी कार्यकर्ताले नराम्रा दिन, कार्य, बोलीबचनलाई बिर्सनु नै उपयुक्त हुन्छ । विरोधीहरु स–साना कमी–कमजोरीलाई समाएर नेता बझाउन, पार्टी फुटाउन प्रयास गरिरहेको र त्यही मेसोमा ‘स्याल हुइँया’ लगाउनु त्यति सान्दर्भिक नहुने कार्कीको भनाइ छ ।

‘यदि अध्यक्ष केपीले आममाफी भनेको उपयुक्त भएन भने वरिष्ठ नेता माधवले पनि आममाफी नै दिने र दुबै नेताले मन, वचन र कर्मले गला मिलाउने– त्यसो गर्दा कसो होला ?’ –कार्कीको सुझाव छ– ‘र, सँगसँगै प्रगतिशील गायक रामेशले गाए जस्तै आऊ मिलाउन हाम्रा हातहरु…यही नै हो उत्तम विकल्प ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here