सहाराद्वारा कोरोना संक्रमित सदस्यलाई २ करोड सहयोग

१० श्रावण २०७८, आईतवार मा प्रकाशित

झापा।

बिर्तामोडको चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना सदस्यहरुलाई २ करोडभन्दा बढी नगद सहयोग गरेको छ ।

महामारीको समयमा सदस्यहरुको अस्पताल खर्च सहयोग गरिसकिएको र होम आइसोलेसनमा बसेकाहरुलाई सहयोग दिने अन्तिम तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए । साकोसले अस्पताल भर्ना भएका ५२ जना संक्रमित सदस्यहरुको अस्पतालको खर्च बापत करिब ६२ लाख सहयोग गरेको कार्यकारी प्रमुख गिरीले बताए ।

गिरीका अनुसार साकोसले अस्पताल भर्ना भएका सदस्यहरुलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म सहयोग गरेको थियो । सहकारीले संक्रमित भएर होम आइसोलेसनमा बसेका २ हजार २ सय सदस्यलाई १ करोड ५४ लाख रुपैयाँ सहयोग गर्ने अन्तिम तयारी रहेको कार्यकारी अधिकृत गिरीले बताए ।

नेपाल सरकारले तोकेको १४ दिन आइसोलेसनमा बस्नुपर्ने नियम अनुसार प्रतिदिन ५०० का दरले प्रतिसदस्य ७ हजार रुपैयाँ प्रदान गरिने उनको भनाइ छ । साकोसले मेडिसिन सपोर्ट बापत उक्त रकम सहयोग गर्न लागेको जनाएको छ ।

यसअघि नै साकोसले संक्रमित सदस्यहरुको घरमा पुगेर पोषणयुक्त खाद्य सामग्री तथा औषधि समेत उपलब्ध गराएको थियो । सहकारीले संस्थाको सामुदायिक स्वास्थ्य कोषबाट सदस्यहरुलाई सहयोग गर्ने कार्यकारी अधिकृत गिरीले बताए ।

सहकारीले बार्षिक रुपमा प्राप्त भएको लाभांशबाट केही रकम स्वास्थ्य कोषमा जम्मा गर्ने गरेको गिरीले बताए । २०५३ सालमा स्थापना भएको सहकारीको प्रदेश १ को ६ जिल्ला कार्यक्षेत्र रहेको र १ लाख ५२ हजार सदस्य आबद्ध भएको प्रमुख गिरीले जानकारी दिए ।

साकोसले ७२ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल १३ अर्ब वासलात रहेको सहाराले बार्षिक करिब २ अर्ब मुनाफा गर्ने गरेको उनको भनाइ छ । गिरीका अनुसार सहाराले सामान्य अवस्थामा सदस्यहरुको स्वास्थ्य उपचारमा बर्षेनि १० करोडभन्दा बढी खर्च गर्ने गरेको छ । स्वास्थ्य कोषमा २० करोड बढी रकम सञ्चित रहेको उनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here