फेरि पनि त्यही कुरा

१० श्रावण २०७८, आईतवार मा प्रकाशित

अघिल्लो सरकारले हेलचेक्र्याइँ गरेका कारण अनियन्त्रित बनेको महामारी फेरि फैलिन थालेको छ । ढिलै गरेर भए पनि बन्दाबन्दीले महासङ्कट रोक्न केही सहज भएकै हो । तर, कोरोनाको दोस्रो लहर शुरू भएयता भने अनेक नाममा बन्दाबन्दी खुकुल्याउँदै जाँदा अहिले सङ्क्रमण नियन्त्रणबाट बाहिर जाने त्रास बढेको छ । साउन लागे यता सङ्क्रमण दिनहुँ बढ्ने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार एकै दिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । यसले हाम्रो असावधानी र सरकारको अदूरदर्शिता मात्रै देखाउँछ । बन्दाबन्दीको सट्टामा निषेधाज्ञा र निषेधाज्ञामा संघीयता उपयोग गर्दा न प्रहरी पूर्ववत् परिचालित हुन सक्यो न स्थानीय सरकारले जिम्मेवारी बोध ग¥यो न त आम मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुन सके ।

विषाणुजन्य महामारीबाट बच्ने केवल दुईवटा उपाय रहेछन् । पहिलो स्वयम्लाई एकान्तबासमा लानु र अर्को खोप लगाउनु । यी दुईमध्ये पहिलो सर्वाधिक प्रभावकारी उपाय रहेछ विज्ञका अनुसार । दोस्रो व्यक्तिको पहुँचमा नभएका कारण सरकारको आश गर्नु प¥यो । खोप उत्पादक देशहरू आफैं कोरोनाजन्य पीडाबाट मुक्त भइनसकेको अवस्थामा कुटनीतिक तथा राजनीतिक क्षमताभन्दा अरू उपायले यथेष्ट खोप पाइने भएन । अघिल्लो सरकारले विषयको गाम्भीर्यलाई अनुभूत गर्न सकेन अझ सत्तास्वार्थको भुँवरीमा रूमलिरह्यो । पछिल्लो कालमा ल्याइएका खोप र अभियान पनि स्वार्थबाट सञ्चालित भए । पहुँच हुनेले स्वास्थ्यविद्ले निर्धारण गरेको मापदण्ड विपरीत घर–घरमै खोप लगाएको र लक्षित वर्गले घण्टौ खोप केन्द्रमा उभिएर पनि खोप नपाएको घटना सार्वजनिक भए । यसले सरकार नै जिम्मेवार नभएको प्रमाणित गरेको छ ।

अहिले बाटोघाटो, चोक, चौरस्ता, सभा, जुलुस, प्रदर्शन, पसल, व्यवसाय कतै महामारीको त्रासको अनुभव भएको देख्न पाइन्न । बिनाकाम निजी सवारी निर्वाध दौडिएका छन् । भोजभतेर, जमघट निसङ्कोच चल्न थालेका छन् । निषेधाज्ञामै बन्द नभएका भीडभाड हुने ठाउँबाट कति सङ्क्रमण फैलिने हो त्यसप्रति कसैको चासो र चिन्ता छैन । सरकारले बन्द रहेका लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनलाई पनि खुल्ला गरिदिएको छ । यी यस्ता सबै कारणले कोरोनाको तेस्रो लहरलाई हर्षले स्वागत गर्ने निश्चित छ । अझ छिमेकी देश हिन्दुस्तानमा कम हुँदै गएको सङ्क्रमणको गति उकालो लाग्दै गएको त्यहाँका सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव हामीलाई पर्ने नै हो । त्यसैले लापरबाहीले पहिलो लहरको जस्तै स्वास्थ्य सेवा, सामग्री र शय्याको अभाव हुने अवस्था नआओस् जन–जनमा चेतना जाग्नु पर्छ । सरकारले खोप अभियानलाई ग्रामीण क्षेत्रसम्म अभिभावकीय दायित्व पूरा गर्ने हिसाबले सञ्चालन गर्नुपर्छ । महामारीलाई हलुका र मनोगतरूपमा मात्रै नलिऔं अन्यथा यसले दिने पीडा र क्षति स्वयम्ले भोग्नु पर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here