विप्लवको श्रृंखलाबद्ध भेटघाट र एकीकृत जनक्रान्तिको दिशा

११ श्रावण २०७८, सोमबार मा प्रकाशित

सारतः माओवादी विचारको आलोकमा क्रियाशील रहेको हाल संसदीय चुनावमा भाग नलिएको नेपालको एक राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आफ्ना सहयोगीहरुसहित संसदीय व्यवस्थामा क्रियाशील नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका दलका नेताहरुसँग निरन्तर भेटघाटमा छन् । नेपालका पार्टीहरुका विभाजनका र बिग्रहका मात्र समाचार लेखिरहनु, सुनिरहनु र पढिरहनुपर्नेमा त्यसको ठीक उल्टो नेपालको संविधान २०७२ अन्तर्गत चुनाव नलडेको र अहिलेको राज्यसत्ताको विरुद्धमा अलग बाटो समातेको शक्ति नेकपाका नेताहरु यसरी विचारविमर्श र भेटघाटमा सक्रिय हुनुलाई राम्रो समाचार मान्न सकिन्छ ।

मिलेका विषयमा साझा कार्यक्रम बनाएर विमति र बेमेलका विषयलाई साँगुरो बनाउँदै जानु सबैको हितमा हुन्छ । हुन त कतिपय बुज्रुकहरु नेपालका सबै कम्युनिष्ट पार्टीहरु मिल्नुपर्छ भनेर भनेर आदर्शवादी कुरा गरिरहेका छन् र सबैको एकताको कुरा गर्नु बुद्धिबिलाश मात्र हो । नेपालका पार्टीहरुमा बोल्ने एउटा र गर्ने अर्कै प्रवृत्ति पनि छ । हल्ला फिँजाउने, कार्यकर्ता र जनतालाई भ्रमित पार्ने तर विचार र कार्यदिशाको एजेण्डामाथि छलफल गरी एकताबद्धरुपमा सबै शक्ति समेटेर अघि बढ्नुपर्ने समयको माग भएको सच्चाइलाई कमैले मात्र बुझ्छन् । विप्लव समूह र सरकारबीच २०७७ साल फागुन २० मा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता–कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

गत २१ फागुन २०७७ मा सरकारसँगको वार्तापछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका थिए । दुई वर्ष भूमिगत राजनीतिपछि सार्वजनिक हुँदै गर्दा सरकारसँग यो समूहले तीन बुँदे सहमति गरेको थियो । यतिका समय बित्दा पनि सहमति कार्यान्वयन नहुँदा विभिन्न टिका–टिप्पणी शुरु हुन थालेका छन् । संसदवादी दलहरु यतिबेला सत्ताको जोड घटाउमा व्यस्त रहेकाले झण्डै दुई वर्ष लामो भूमिगत राजनीतिक जीवनबाट मुक्त भएर खुला राजनीतिमा आइपुगेका विप्लव भने आफूहरु तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँछन् । तर, सरकार पक्षबाट सहमति पालना हुनेमा संशय व्यक्त गर्छन् । राष्ट्रिय सभागृहबाट २१ फागुनमा सार्वजनिक हुँदै गर्दा महासचिव विप्लवले कम्युनिस्ट विद्रोहका मात्रै योद्धा होइनन्, शान्तिका दूत पनि हुन् भनेका थिए । तर, यतिबेला उनी सहमति कार्यान्वयनमा ढिलाइ भएकोप्रति असन्तुष्ट छन् । विप्लवले आफू सार्वजनिक भएको दिनलाई ‘एउटा नयाँ दिन’ पनि भनेका थिए ।

अहिलेका भेटघाटमा आफ्ना नेता, कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्नेबारे छलफल हुने गरेको छ । विप्लव समूह भनेर पनि चिनिने नेकपा अब कस्ता गतिविधिमा संलग्न हुन्छ भन्ने धेरैले चासो व्यक्त गरेको पाइन्छ । तर, उक्त पार्टी कार्यकर्ता परिचालन र अन्य दलसँगको भेटघाट लगायतका गतिविधिमा अहिले सक्रिय रहेको छ । केपी ओली नेतृत्वको सरकारले अलग मधेश देशको नारा लिएर हिँडेको सीके राउत समूहलाई र संसदीय व्यवस्था नमान्ने भन्दै चुनावमा भाग नलिने कसम खाँदै भूमिगत रहेको विप्लव नेतृत्वको नेकपालाई राज्यको मूलधारमा ल्याउन गरेको पहल र निर्णय दूरगामी महत्वको थियो र लामो समयसम्म द्वन्द्वको श्रृंखलाबाट गुज्रेको नेपालका लागि तत्कालीन सरकारको प्रयत्न स्वागतयोग्य थियो । विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवाद अथवा संसदीय पुँजीवाद रोज्ने भन्नेबारे जनमतसंग्रहको माग गरिरहेको छ । यसकै लागि विभिन्न प्रकारका राजनीतिक, जनपरिचालन तथा कार्यकर्ता परिचालन जस्ता कार्यक्रम भइरहेको बुझ्न सकिन्छ ।

राज्यका सुरक्षा निकाय विप्लव समूहबाट राज्यलाई अझै खतरा रहेको निष्कर्षमा छन् । त्यसैले अहिलेको भेटघाटलाई रणनीतिक महत्वका साथ हेरिएको पनि छ । तर, कतिपयले उक्त पार्टीको राजनीतिक नियत र सम्झौताको प्रतिबद्धतामाथि प्रश्न पनि उठाइरहेका छन् । केपी ओली सरकारसँग गरिएको तीन बुँदे सम्झौतामा समूहका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्ने पनि उल्लेख छ, तर विप्लव समूहको संशय कतै शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतका सहमति र सम्झौतालाई नमान्ने हो कि भन्ने छ । सरकारको तर्फबाट जे वचनबद्धता भएको छ त्यसअनुसारकै काम हुन्छ भन्नेमा निश्चितता खोजिरहेका छन् विप्लव । कार्यकर्ता रिहाइको काम कानूनी प्रक्रिया भएको हुनाले कानूनी जटिलतालाई ध्यानमा राखेर प्रक्रियाहरू अगाडि बढ्छन् भनेर मात्र विप्लव समूह आश्वस्त हुन सकिरहेको छैन । विप्लवको भाषामा दलाल संसदीय व्यवस्थाको विकल्पमा आमजनतालाई वैज्ञानिक समाजवादी व्यवस्थाका बारेमा प्रशिक्षित गर्ने, परिचालित गर्ने तथा देश र जनताका समस्यालाई लिएर संघर्ष गर्ने पार्टीको अहिलेको कार्यभार हो । कतिपय विश्लेषकले विप्लव नेतृत्वको नेकपामा अहिले पनि अस्पष्टता कायमै रहेको बताएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको बताइएको छ । विप्लवको राजनीतिक दिशा वैज्ञानिक समाजवाद सम्बन्धमा पार्टीले आम जनतामा प्रष्ट पार्न नसकेको यथार्थलाई बुझ्न आवश्यक छ । सरकारसँग गरेको सम्झौतालाई विप्लव समूहले आफ्ना गतिविधि फुकुवा गराउने रणनीतिको रूपमा लिएको भन्दै कतिपयले आउँदा दिनमा पनि उसका गतिविधि शान्तिपूर्ण हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन् । तर, उक्त समूहका नेताले आफूहरू सम्झौताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको र शान्तिपूर्ण रूपमै अन्य राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने बताउँछन् । प्रचण्ड नेतृत्वको माओवादीले जनयुद्ध शुरु गर्दाका अडानहरुलाई लत्याएर क्रान्तिविरोधी कित्तामा उभिएर क्रान्तिप्रति गद्दारी गरेकाले सम्बन्धविच्छेद गरी क्रान्तिका रक्षा खातिर विप्लव नेतृत्वमा अलग पार्टी बनेको थियो । क्रान्तिको रक्षाको नाममा क्रान्तिका लोभलाग्दा नाराहरु लिएर अघि बढ्दैमा पार्टीको चिन्तन र कार्यशैली पनि जनयुद्धको ह्याङ्ओभरबाट प्रभावित भइरहने हो भने दर्जनौं तर्कहरु र सैद्धान्तिक अडानले मात्र मुलुक सही दिशामा अघि बढ्न सक्दैन ।

क्रान्तिको रक्षा गर्ने पवित्र उद्देश्यको नाममा अबका दिनमा उग्र गतिविधिहरु सञ्चालन गर्ने कुराले अन्ततः जनयुद्धको पुनरावृत्तितर्फ इंगित गर्दछ । जनयुद्ध र जनान्दोलनका शहीद र उनीहरुका परिवारको लागि केही गर्न नसकिरहेको अवस्थामा क्रान्तिका नाममा बन्दूक पड्काएर फेरि एउटा लामो शहीदको सूची बनाउनु क्रान्ति होइन । आफैंले सञ्चालन गरेका पेचिला संघर्ष र युद्धबाट प्राप्त उपलब्धिलाई नजरअन्दाज गरेर देश र जनताको विनाशको बाटोमा लाग्नु फेरि अर्को भुल हुन्छ । एक्काइसौं शताब्दीको आवश्यकता अनुरुप भावी कार्यक्रम बनाउन सकियो भने मात्र जनताको समर्थन प्राप्त हुन्छ । रक्तमुच्छेल दश वर्षे जनयुद्धको उपलब्धिको लेखाजोखा हुन वा गर्न नसकी वा गर्न नचाहेकै कारणले आजको अप्ठेरो परिस्थिति आएको हो । पन्ध्रौं हजार शहीदहरुको बलिदान, हजारौंको बेपत्ता स्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धीलाई बुझ्न नसक्दा र सोही अनुरुप आफ्ना कृयाकलाप सञ्चालन गर्न नसक्दा माओवादीहरुप्रति जनतामा भरोसाा कम हुँदै गएको हो ।

संसारमा कम्युनिष्टप्रतिको विश्वास उड्दै गएको आजको परिवेश हो । यस्तो अवस्थामा जनताबाट अलग्गिएर पार्टी संगठन बनाउने हो र जनताका दैनिक दुःखकष्टलाई बेवास्ता गर्ने हो भने जनताले सो पार्टीलाई विश्वास नगर्न सक्छन् । जनताका माझमा स्थापित हुन जनशैली चाहिन्छ । समाज बद्लिएको छ, तर माओवादी लगायतका कम्युनिष्ट पार्टीका आधारभूत कार्यक्रम, शैली र ढाँचा उही छन् । मध्यम तथा निम्न वर्गीय जनताहरु समस्याका कहर काटिरहेका छन् । उनीहरुका लागि पृथ्वीको भू–स्वर्ग मानिने यही मुलुक नरक भएको छ, पीडा र आँशुमा उनीहरु बाँचिरहेका छन् । सैद्धान्तिक शुद्धतामा पूरा विश्वास गर्ने, पार्टीभित्रको फरक मतलाई नसहने र पुरानै ढाँचा र ढर्राबाट क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पक्डेर अघि बढ्न मुश्किल छ । कमजोर अवस्थामा मिल्ने र अलिकति अवस्था सुध्रिने बित्तिकै विभाजनतिर लाग्ने नेपाली कम्युनिष्टहरुको रोग हो । भ्यागुत्ताको धार्नी पु¥याउन सकिँदैन भने झैं नेपालमा कम्युनिष्ट पार्टीवीचको एकता टिकाउ हुन सकेको छैन ।

क्रान्तिका रंगीन र मीठा सपना साँचेर आशैआशमा बाँचिरहेका नेपाली जनतालाई जीवनका वास्तविक सुनौला विपनाहरु भोग्न त्यति सम्भव छैन टुक्रा–टुक्रामा विभाजित कम्युनिष्टहरुकै कारणले । क्रान्तिका सपना बाँडेर क्रान्ति पूरा हुँदैन । बन्दूक पड्काउँदैमा र हतियार उठाउँदैमा दाम्रिएको पेट र चाउरिएको गालामा क्रान्तिका लाली चढ्दैन । मुलुकका सामु उभिएका विराट चुनौति र महान् सम्भावनाको बारेमा घोत्लिने हो भने कम्युनिष्टहरु आफ्नो अस्तित्व रक्षाका लागि चिन्तित हुनै पर्दैन । परिवर्तन वा क्रान्तिको लागि उभिने काम अप्ठेरो छ र
प्रतिक्रान्तिको भेलमा मिसिने काम सजिलो छ । अहंकारले अरुको होइन आफ्नै सर्वनाश गर्छ भन्ने सच्चाइलाई हृदयङ्गम गरेर जनतासँग घुलमिल हुन जरुरी छ । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक लगायतका नेपाली समाजमा रहेका विभेदलाई सदाका लागि अन्त्य गर्न जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा सृजनात्मक रुपमा लागू गर्न आवश्यक छ । जनता क्रान्ति चाहन्छन् र उनीहरु शान्ति चाहन्छन् । उनीहरु स्थायित्व र समृद्धि चाहन्छन् र सँगसँगै लोकतन्त्र पनि चाहन्छन् । तसर्थ, राजनीतिक स्थायित्व, लोकतन्त्रको रक्षा र समृद्धिसहितको परिवर्तन आजको मुलुकको आवश्यकता हो र यसका लागि शान्तिको अनिवार्यतालाई सबैले ग्रहण गर्न जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here