सदाचारी शिक्षाको खाँचो

११ श्रावण २०७८, सोमबार मा प्रकाशित

पछिल्लो समय हत्याका घटना सामान्य जस्तै हुन थालेका छन् । ‘मेरो पइतालाले किरै नमरोस्’ भन्ने आदर्शबाट अनुप्राणित पूर्वीय संस्कृतिको उद्गम थलोमा दिनहुँजसो हुन थालेको यस्ता घटनाले सम्पूर्ण जातिको शिर निहुरिएको छ । वैदिक संस्कृति र संस्कारका उपासक अझ भगवान गौतम बुद्धको जन्मभूमि र उनका सन्तति भनिने नेपाली जातिमा यस्तो क्रुरता कसरी उत्पन्न भयो खोजी गर्नुपर्ने भएको छ । हत्या जस्तो जघन्य अपराध त्यसमाथि देवी मानिएका छोरीचेलीहरूको विभत्स हत्या श्रृंखलाबद्ध भइरहनु र दोषीको पहिचान नै नहुनुले अपराधिक मानसिकता झन् मौलाउँदै गएको छ । अपराधको पुनरावृत्ति नहोस्, अपराधीले उन्मुक्ति नपाउन् त्यसका लागि कानून बनाइएको पनि छ । तर, कतिपय घटनाहरू वर्षौंवर्षदेखि रहस्यको गर्भभित्रै छन् । तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको दुई दशक बितिसक्दा पनि वास्तविकता सार्वजनिक भइनसकेको अवस्थामा रामराज्यको कल्पना निरर्थक हुन सक्छ ।

जघन्य अपराधका थुप्रै घटना भइसकेका छन् । केही सफल अनुसन्धानपछि दोषी पहिचान भई सजाय भोगिरहेका पनि छन् । तर, किशोरी निर्मला पन्तको हत्या कसले, किन ग¥यो आजपर्यन्त रहस्य मै छ । त्यसयताका कतिपय घटना नातेदार र आफन्तबाटै भएको तथ्य प्रकट भएका छन् । यसले नेपाली समाज व्यभिचारतर्फ उन्मुख हुन थालेको नमीठो सङ्केत गरेको छ । गएको असार २० गते चितवन जिल्लाकी सुजीता भण्डारीको शव स्थानीय सामुदायिक वनमा फेला प¥यो । दश दिनदेखि हराइरहेकी उनको मृत्युमा अनैतिक र अवैध सम्बन्ध कारक रहेको अनुसन्धानले देखाएको छ । त्यस लगत्तै असार २८ गते पूर्वी सीमान्त जिल्ला झापाको बिर्तामोडमा त्यस्तै युवतीको शव फेला प¥यो । सृजना बस्नेत नामकी युवती आफू बसेकै घरको बाहिर खुल्ला ठाउँमा मृत फेला परिन् । उनको मृत्यु आजसम्म रहस्यमय नै छ, यद्यपि प्रहरीले सबै उपाय प्रयोग गरेर मृत्युको कारण अनुसन्धान गरिरहेको छ ।

यी केवल उदाहरण हुन् आपराधिक घटनाहरूको । चिन्ता ‘चोरी भयोभन्दा पनि चोर पल्कियो’ भन्ने हो । ऋषिका सन्तान, बुद्धका अनुयायी, देवाधिदेव पशुपतिनाथका अनन्य उपासक, देवी सीता, विदुषी गार्गेयी तथा जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमण गर्छन् भन्ने मान्यतालाई आदर्श मान्ने भूमिमा जन्मिएकाहरूमा यस्तो दानवी मानसिकता कसरी प्रवेश गर्यो अध्ययन गर्नुपर्छ । कतै हामी कुपात्रबाट दीक्षित भइरहेका त छैनौं ? कतै सभ्यता सिकाउने नाममा परम्परागत शिक्षा प्रणालीलाई आत्मसात नगरेर दुराचार, व्यभिचार र दुष्प्रवृतिको दुष्प्रभावमा परेर मानवीय धर्मबाट स्खलित पो हुनथाल्यौं कि ! बाबुबाट छोरी, दाजुभाइबाट दिदीबहिनीले असुरक्षित रहनुपर्ने हो भने समाज सञ्चालनको आधार नै के रहन्छ र ? त्यसैले नैतिक शिक्षा, विश्वकै पहिलो लिपि, पहिलो ग्रन्थ र देवभाषा संस्कृतको अध्ययनलाई सर्वतोमुखी सुधारको मानक बनाउनुपर्छ । सदाचार, शिष्टाचार, सु–संस्कार, सभ्यतासहितको सर्वोच्च प्राणीको अस्तित्व रक्षा गर्न नीति निर्माताहरू गम्भीर हुनुपर्छ । होइन भने मानव जातिको विशिष्टतामाथि लागेको कालो दाग कुनै साबुनले धोइने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here