शिवसताक्षीमा आजदेखि एक हप्ता निषेधाज्ञा

0
1060

विनोद सापकोटा,झिलझिले ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न शिवसताक्षीमा आजदेखि एक हप्ता निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञाको पहिलो दिन मंगलबार नगरका सडकमा चहलपहल घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोक–चोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । निषेधाज्ञा कडाइका साथ लागु गर्न नगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन र निषेधाज्ञा कडाइका साथ लागु गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ । निषेधाज्ञा पालना गराउनकै लागि नगर क्षेत्रमा २ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने बताएको छ ।

अत्यावश्यक सेवा र अनुमतिबाहक बाहेकका सवारी र पैदलै आवागमन गर्नेलाई नियन्त्रण लिएर प्रहरीले होल्ड, जरिवाना र कोरोना महामारीको बारेमा जानकारी दिएर छाड्ने जनाएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेर नियन्त्रणमा लिएका मानिस छुटाउन प्रहरीलाई कसैले पनि दवाव नदिन ईलाका प्रहरी कार्यालय झिलझिले अनुरोध गरेको छ ।

‘राजनीतिक दलका नेता अर्थात् जनप्रतिनिधि नै किन नहुन् । निषेधाज्ञा उल्लंघन गरेको पाइए कसैलाई पनि छाडिने छैन । यसपटक कसैको पनि सिफारिस सुन्नेवाला प्रहरी छैन,’ ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले भने ।

औषधी तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी पसल ठप्प छन् । नगरका भित्री बजार पनि पूर्ण बन्द छन्। मंगलबारे, पाराबारी, शिवगञ्ज, बोलोचोक, जनता बजार पनि ठप्प छन् ।

भित्री सडकमा साइकल मोटर साइकलमा सर्वसाधारण हिनडुल गरिरहेका छन् । स्थानीय बासीले नगरका जनप्रतिनिधिले निषेधाज्ञाको अनुगमन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here