व्यवस्थापनमा ध्यान देऊ

१२ श्रावण २०७८, मंगलवार मा प्रकाशित

झापामा आजबाट कोरोनाविरूद्धको खोप कार्यक्रम शुरू भएको छ । त्यसो त यस अघि केहीले खोपको दुबै मात्रा लगाइसकेका छन् । तर, संघीय सरकार परिवर्तन भए पछिको यो अभियान पहिलो हो । यसपटक बिगतको गल्तीबाट सिकेर लक्षित वर्गलाई व्यवस्थित ढङ्गले खोप लगाउने वातावरण तयार हुन्छ अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनस्वास्थ्यविद्ले निर्धारण गरेभन्दा बेग्लै पहुँचको बलमा खोप लगाएको स्थानीय सरकारलाई आरोप लागेको छ । लक्षित ज्येष्ठ नागरिकहरूले दिनभर कुरेर पनि खोप लगाउन नपाएको गुनासो सबैतिर सुनिएको पनि हो । त्यसैले पनि यसपटक पुरानो गल्ती नदोहोरिने अपेक्षा गरिएको होला ।

यसपटक खोप केन्द्रहरू घटाइएको छ । अभियानलाई व्यवस्थित गर्न नै सायद सुरक्षामा विशेष सतर्कता पनि अपनाइएको छ । तर, यतिले मात्र लक्षित समूहले सहज ढङ्गले खोप लगाउन पाउने अवस्था नरहन सक्छ । खोपको सुनिश्चितता र सहजता केन्द्रको आन्तरिक व्यवस्थापनमा भर पर्छ । अहिले नै स्थानीय सरकारको अक्षमताले खोप थन्किएको छ । अग्रपंक्ति र जोखिममा रहेकाहरू खोपबाट अझै वञ्चित छन् । तर, प्राथमिकतामा नपरेकाहरूले भने खोप लगाइसकेका छन् । यस्तोमा वर्तमान सरकारको क्षमता, सफलता र भविष्य यही अभियानले पनि निर्धारण गर्नेछ । जिल्ला स्वास्थ्य झापाले यस अघि कोभिशिल्ड त्रिपन्न हजार तीन सय त्रिपन्न जनाले लगाएकोमा आठ हजार दुई सय उनान्सय जनाले मात्र दोस्रो डोज खोप लगाउन पाएको जनाएको छ । उनीहरू लगायत सबैलाई खोपको सुनिश्चितता गर्नु सरकारको दायित्व हो ।

सरकारले निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि संक्रमण फेरि उकालो चढ्दैछ । आइतबार मात्र दुई हजार दुई सय सड्तीस जना संक्रमित भएका छन् । आइतबार प्रदेश १ मात्रै छ सय त्रिहत्तर जनामा संक्रमण देखिएकोमा झापामा मात्रै एक सय चौहत्तर जना संक्रमित थिए । त्यसमा पनि बिर्तामोडमा सर्वाधिक पचास जना थपिएका छन् । यसले प्रदेशहरूमा बिर्तामोड संक्रमणको उच्च जोखिममा रहेको प्रमाणित गरेको छ । त्यसकारण पनि उच्च सावधानी र सतर्कता नअपनाउने हो भने कोरोनाको तेस्रो लहर अवश्यंम्भावी छ । यस्तो सङ्कटपूर्ण घडीमा ल्याइएको खोपको उचित प्रबन्धमा सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । बिगतकै जस्तो बलिया, पहुँच भएका, दबाव दिन सक्ने मात्र प्राथमिकता परे भने खोपको दुरूपयोग नै भएको ठहरिनेछ । अघिल्लो कार्यक्रमबाट शिक्षा लिएर लक्षित वर्गभन्दा एक इञ्च तलमाथि नगरी खोप कार्यक्रम गर्दा केही असहज भए लगाउनेले पनि धीर र संयमित भएर प्रतिक्षा गर्नुपर्छ । कतै, कहीँ, कसैबाट खोपको दुरूपयोग गरिए तत्काल दण्डित गर्नुपर्छ । यसले मात्र सरकार र खोपको सुनिश्चितता निर्धारण हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here