क्रान्ति योद्धा: फत्तेबहादुर बुढाथोकी

१२ श्रावण २०७८, मंगलवार मा प्रकाशित

फत्तेबहादुर वुढाथोकीको जन्म वि. स. १९८२ माघ ५ इलामको सिङफिरिङ् गाउँमा भएको थियो । उनका बाजे नरबहादुर बुढाथोकी र बजै शिवमाया थिइन् । उनीहरूका दुई भाइ छोरा थिए । तिनमा जेठा गजराज र कान्छा रघुवीर थिए । तिनै जेठा गजराजका माइला छोरा फत्तेबहादुर थिए । उनकी आमाको नाम रञ्जना थियो । इलामाको सम्पन्न बुढाथोकी परिवारमा जन्मेका हुनाले फत्तेबहादुरको बाल्यकाल सुखसयलमा नै बित्यो । उनको जन्म भएको बेला नेपालमा जहाँनिया राणासासन कायमै थियो । पृथ्वीनारायण शाहाका वंशजहरू जो नेपालका राजा थिए । उनीहरूको राजकाजको हक छिनेर वि.स.१९०३ मा जङ्गबहादुर राणले लिएका थिए । त्यसपछि नेपालका राजाका नाममा जङ्गबहादुर र उनका भाइका सन्तानहरू शासन गर्दथे ।

राजालाई दरबारको खोपामा राखी दिएको भात खाने गरी थुनेर राखेका थिए । राजाको नाममा उनीहरू हुकुमी शासन चलाउँथे । भन्न चाहिँ राजालाई श्री ५ सरकार भनिन्थ्यो भने राणा प्रधानमन्त्रीलाई श्री ३ सरकार भनिन्थ्यो । श्री ३ सरकारका मुखबाट निस्केका शब्द अकाट्य हुन्थे । उनीहरूको हुकुमलाई कसैले काट्न सक्दैनथ्यो । वि.स. १९१० मा जङ्गबहादुरले नेपाल अधिराज्यका लागि मुलुकी ऐन जारी गरेका भए पनि त्यो कानून राणा परिवारका लागि लागू हँुदैनथ्यो । जनताका छोरालाई शिÔा दिने चलन थिएन । मुलुकभरि राजा–रजौटा प्रथा, विर्ता प्रथा, जिमिदारी प्रथा, जिम्बुवाल प्रथा, सुभाङ्गी प्रथा आदि प्रथा लागू थिए । जनताका छोरालाई ढाक्रे भनिन्थ्यो । घरधुरीलाई ढाक्रेघर भनिन्थ्यो । माथिदेखि तलसम्म हुकुमको तामेली हुन्थ्यो । वि. स. १८७२ मा भएको इस्ट इण्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सुगौली भन्ने ठाउँमा सन्धी भयो । त्यो सन्धीलाई सुगैली सन्धी भनिन्छ । त्यो सन्धीपछि कम्पनी सरकारसित सैनिक सम्झौता भयो । जस अनुसार १६ बर्ष उमेर पुगेका नेपाली ब्रिटीस सेनामा भर्ना हुन्थे । तिनीहरूलाई गोर्खा सैनिक भन्थे । ब्रिटीस सेनामा नगएका युवाहरू गाउँमै बसेर खेती–किसानी गरेर जीवन बिताउँथे । कोही व्यक्ति राणाहरूलाई रिजाएर सरकारी जागिरे हुन्थे । हुकुमी शासनको जल्दोबल्दो अवस्था थियो । त्यस्तो बेलामा जन्मेका फत्तेबहादुर बुढाथोकीको बाल्यकाल डुल्दै–खेल्दै बित्यो ।

इलामबाट भारतको दार्जिलिङ नजिक भएको र उनका फुपुहरूको घर पनि दार्जिलिङमा भएकाले उनका बाबु गजराजले उनलाई दार्जिलिङमा पढ्न पठाए । त्यसमा पनि गजराज बुढाथोकीको शिÔाप्रतिको प्रेम र तत्कालीन इलाम गौडाका बडाहाकिमसित उनको राम्रो सम्बन्ध भएकाले उनले आफ्ना सन्तानलाई दार्जिलिङ पढन पठाउन सकेका हुन् । त्यसमा पनि इलाम जिल्लामा चिनिएको बुढाथोकी परिवारको सरकारको नजरमा राम्रो इज्जत थियो । फत्तेबहादुर उनका फुपुहरूकोमा बसेर क्याथोलिक पादरीहरूले चलाएको करमाइकल अंग्रेजी स्कूलमा भर्ना भएर पढ्न थाले । त्यतिबेला बाल विवाह र बहुविवाहको चलन थियो । फत्तेबहादुरका दुईवटी श्रीमती थिए । जेठी श्रीमती रुक्मिणीबाट एक छोरी रुपवती र तीन छोराहरू बिजमा, सुरेन्द्र र अशोक भए । कान्छी श्रीमती देबकुमारीबाट एक छोरी विनिता र एक छोरा पृथ्वी भए ।

फत्तेबहादुर बुढाथोकीले पारिवारिक जीवनमा बस्नुभन्दा पढ्नमा नै ध्यान दिएको पाइन्छ । उनले केही बर्ष फुपूहरूको घरमा बसेर स्कूल धाए । पछि कर्माइकल स्कुलको कर्माइकल होस्टलमा बस्न थाले । त्यो बेला दार्जिलिङमा धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा पनि त्यही होस्टेलमा बसेर पढ्ने र पढाउने काम गर्थे । कर्माकल होस्टलमा बस्दा उनको माथि भनिएका व्यक्तिहरूसित सम्र्पक भयो । उनीहरू राजनीति व्यक्तिहरू भएकाले युवा विद्यार्थी फत्तेबहादुरमा उनको प्रभाव पर्नु स्वभाविकै थियो । उनी विस्तारै विद्यार्थी राजनीतिक गर्न थाले ।

वि.स. १९९७ माघमा काठमाडौंमा चार जना राजनीतिक व्यक्तिहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द्रलाई झुण्डाएर गोली ठोकेर मारे । त्यो बेला वीपी कोइराला पनि दार्जिलिङमा नै थिए । उनको उपस्थितिमा कर्माइकल होस्टलमा एउटा सभाको आयोजना गरिएको थियो । त्यो सभामा विश्वेश्वरप्रसाद कोइराला काठमाडौंमा भएको राणाशासनको अमानवीय कार्यको भत्र्सना गरे । त्यतिबेलासम्म राणाहरूको विरोध गर्ने राजनीतिक संस्था प्रजापरिषद् बाहेक अर्को थिएन । त्यही दिन वीपी कोइरालाले अर्को राजनीतिक संस्थाको स्थापना गर्ने घोषण गरे । फलस्वरुप त्यसको केही समयपछि वि.स.२००३ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भयो । राष्ट्रिय कांग्रेसले आफ्ना प्रारम्भिक क्रियाकलाप गर्दै थियो । त्यसैको वारपारमा महावीर शम्शेर, सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्यायाहरूका पहलमा महेन्द्रविक्रम शाहको अध्यक्षतामा वि.स. २००५ मा प्रजातन्त्र कांग्रेसको स्थापना भयो । त्यस संस्थाको आफ्नो मुखपत्र नेपाल ‘पुकार’ निकाल्न थाल्यो । त्यसको प्रधान सम्पादक महानन्द सापकोटा र बाकुलाल मोक्तान थिए । पार्टीको महामन्त्रीमा सूर्यप्रसाद उपाध्याय र कोषाध्यक्षमा राजेश्वरी उपाध्याय रहेका थिए । त्यसैबेला भैरवप्रसाद आचार्य, नरेन्द्रनाथ बाँस्तोला, महानन्द सापकोटा फत्तेबहादुर बुढाथोकीहरू नेपाल प्रजातन्त्रिक कांग्रेसको कार्यकर्ता भएर काम गर्न थाले ।

यसरी नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस दुबै पार्टीले भारतमा बसेर विभिन्न तरिकाले नेपालमा रहेको जहानिया राणाशासनको विरोध गरिरहेका थिए । नेपाल राष्ट्रिय कांग्रेस जनबल भएको पार्टी थियो भने नेपाल प्रजातान्त्रिक कांग्रेस धनबल भएको पार्टी थियो । यी दुबै पाटीलाई एकीकरण गर्नै विचार नेताहरूले गरे । त्यसैले वीपी कोइराला र सूवर्ण शम्शेरले वि.स.२००६ सालमा यी दुबै पाटीलाई एकीकरण गरे । एकीकरणपछि पार्टीको नाम ‘नेपाली कांग्रेस’ भयो । त्यसको पहिलो सभापति मातृकाप्रसाद कोइराला भए भने महामन्त्री महेन्द्रविक्रम शाह भए । झण्डा नेपाल प्रजातन्त्र कांग्रेसको ‘चार तारे’ झण्डा रहने भयो । चार तारको उद्देश्य निम्न अनुसार खुलाइएको थियो ।

वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सुरक्षा स्वतन्त्रता । मुख पत्रको रुपमा नेपाल पुकारलाई मानियो । यसरी दुबै पार्टीहरू एक भएपछि दुबै पार्टीका कार्यकर्ता एकजुट भए । राणा शासन विरोधी जनक्रान्ति गर्ने निधो गरे । त्यसका लागि वीपी कोइराला र अन्य नेताहरूको पहलमा बर्माबाट क्रान्तिका लागि हातहतियार ठूलो जुक्तिबुद्धिले भारत हुँदै नेपाल ल्याइएको थियो । पछि बेरगनिया सम्मेलनले मुलुकभित्रैबाट राणाशासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने निधो गरियो । दुवै पार्टीहरू एक भएपछि महानन्द सापकोटा र फत्तेहादुर बुढाथोकीले नेपालको नक्कलबन्दा नजिकै भारतको दार्जिलिङ जिल्लाको नक्सलवारीमा आफ्नो कार्यालय स्थापना गरे । त्यहीबाट नेपाल पुकार तत्कालीन पूर्वी पहाडी जिल्लाहरुको नाका सन्सरे बजारमा पठाउन थाले ।

यता झापाको सन्सरे बजारमा वि.स .२००५ मा प्राथमिक पाठशाला खोलेर बसेका शिवप्रसाद दाहाल पनि गोप्यरुपमा नेपाली कांग्रेसको कार्यालय खोलेर बसेका थिए । नक्सलबारी कार्यालयबाट ‘नेपाल पुकार’ नामक क्रान्त्रिकारी पत्रिका श्रीनारायण ओलीले सन्सरे अफिसमा गोप्यरुपमा ल्याउँथे । त्यहाँबाट सन्सरे बजार भर्न आउने ढाक्रेहरूको ढाकरमा हालेर इलाम, पाँचथर, ताप्लेजुङ्ग पठाउने काम गर्दथे । यसरी राणा सरकारका कर्मचारीका आँखा छलेर पूर्वी नेपालका विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरूको हातमा पर्ने गरी नेपाल पुकार पु¥याउने काम हुन्थ्यो । फत्तेबहादुर बुढाथोकीले त्यस क्षेत्रका राणा विरोधी व्यक्तिहरूका नाम लिष्ट बनाएर गोप्यरुपमा राखेका हुन्थे । तिनै व्यक्तिहरूका हातमा पुग्ने गरी शिवप्रसाद र श्रीनारायण ओलीले सन्सरेबाट पढाउँथे । त्यस काममा नरेन्द्रनाथ बाँस्तोलाको पनि प्रमुख संलग्नता रहन्थ्यो । यसरी महानन्द सापकोटा र फत्तेबहादुर बुढाथोकी भएर पूर्व लिम्बुवानमा नेपाली क्रान्तिकारी विचार पु¥याउने काम गर्दथे । त्यस्तै नेपाल पुकार पटनामा छापिएर नेपालका विभिन्न नाकाबाट मुलुकभित्र पढाउने काम नेपाली कांग्रेसका कार्यकर्ताहरूले गरिरहेका थिए । बेैरगनिया सम्मेलनले नेपालभित्रैबाट सशस्त्र क्रान्ति गर्ने निर्णय अनुसार वि.स. २००७ कार्तिक २५÷२६ मा जनमुक्ति सेनाको एक डरुपालेज वीरगञ्जमा आक्रमण गरेर वीरगञ्ज कब्जा ग¥यो । त्यसपछि जनमुक्ति सेनाले नेपालका विभिन्न स्थानमा आक्रमण शुरु ग¥यो । नेपालको पूर्वीनाका पशुपतिनगरदेखि, भद्रपुर, झापा, विराटनगर, सप्तरी, जनकपुर, वीरगञ्ज, कोइलाबासा कञ्चनपुर आदि दक्षिणका नाकाहरूबाट एकैचोटी नेपालको एकतान्त्रीय जहानिया शासन हुकुमी राणा शासनको विरूद्धमा सशस्त्र क्रान्ति छेडियो । पूर्व झापामा त्यतिबेला नेपाली कांग्रेसका नेताहरू नरेन्द्रनाथ बाँस्तोला, भैरवप्रसाद आचार्य, महान्नद सापकोटा, फत्तेबहादुर बुढाथोकी, धर्मप्रसाद ढकाल, भूपालमानसिंह कार्की आदि प्रमुख थिए । जनमुक्ति सेनाको कमाण्डर जि.वि. चेम्जुङ्ग र सह कमाण्डरहरू विक्रम लामा र फत्तेबहादुर बुढाथोकी थिए ।

वि.स.२००७ साल मंसीर १८ गतेका दिन वीपी कोइरालाले पट्नाबाट गोप्यरूपमा नेपाल सीमा नजिकै गलगलिया रेल्वे स्टेसनमा हातहतियार पठाए । ती हातहतियारहरू नरेन्द्रनाथ बाँस्तोला, जि.वि. चेम्जोङ्ग, फत्तेबहादुर बुढाथोकी अन्य क्रान्ति योद्धाहरूले बुझे । त्यसपछि ती हतियारहरू फत्तेबहादुर बुढाथोकीको कामत ढाकीबन्दमा राखियो । त्यसपछि त्यसको आवश्यकता अनुसार तिनको प्रयोग गरियो । फत्तेबहादुर क्रान्ति सह–कमाण्डर र नेपाली कांगे्रसका विश्वासी नेता भएकाले उनका जिम्मामा हातहतियार राखिएको थियो । तिनै हातहातियार प्रयोग गरेर झापाका विभिन्न ठाउँहरू मुक्तिसेनाले कब्जा ग¥यो । अन्त्यमा २००७ माघ ९ गते झापा ब्यारेकले पनि आत्मासर्मपण ग¥यो । माघ १० गते झापामा क्रान्तिकारीहरूको सामायिक सरकार गठन भयो । भैरवप्रसाद आचार्य गर्भनर बने भने नरेन्द्रनाथ सह–गर्भनर बने । अन्य मन्त्रीहरूमा धर्मप्रसाद ढकाल, महानन्द सापकोटा, जी देवीप्रसाद उप्रेती, फत्तेबहादुर बुढाथोकी लगायत आठ जना मन्त्री भए । जि.वि. चेम्जोङ्ग मुक्तिसेनाको कमाण्डर नै रहे । पछि समसामयिक सरकारले जनतामा शान्ति सुरक्षा कायम गर्नुपर्ने भयो । त्यो कामको निमित्त नेपाल प्रहरीको नीति अनुसार फत्तेबहादुर बुढाथोकीलाई पुलिसको आइजीपी (इन्सपेक्टर जनरल अफ पुलिस) बनाइयो । त्यो सामुहिक सरकारले झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमको पूर्वी भागमा छ महिनासम्म शान्ति सुरक्षा कायम ग¥यो र आफ्नो जिम्मेवारी पूरा भयो ।

उत्ता काठमाडौंमा राणा र कांग्रेसको मिलिजुली सरकार बनेपछि मुलुकमा आन्तिरिम शासन विधान अनुसार शासन चल्न थाल्यो । त्यसपछि स्थानीय सामुहिक सरकारको काम सबै केन्द्रीय सरकारले गर्न थाल्यो । नेपालमा प्रजातन्त्र आयो । १०४ बर्षसम्मको निरङ्कुस जहानिया राणा शासनको अन्त्य भयो । राजा त्रिभुवन वीरविक्रम शाहदेवले वि.स.२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको घोषणा गरे । नेपालमा प्रजातन्त्र आएपछि फत्तेबहादुर बुढाथोकी पार्टीको निर्देशन अनुसार झापामा बसेर काम गर्न थाले । नेपाली कांग्रेसको जिल्ला सभापति भएर झापा जिल्ला भरका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई एकत्रित गरेर नेपाली कांग्रेसको नीति निर्देशन दिन थाले । १०४ बर्ष राणाहरूले एकछत्र शासन गरेको मुलुकमा प्रजातान्त्रिक हकहरूको बारेमा जनतालाई सूचित गर्ने काम कठिन थियो । त्यही कठिन काम उनले गरे । फलस्वरुप २०१५ मा हुन गएको आम चुनावमा झापा जिल्लाबाट नेपाली कांग्रेसको उम्मेद्वार भएर उठे । उनले अत्यधिक मत ल्याएर जिते ।

दार्जेलिङ्गको कर्माकल होस्टलबाट शुरु भएको बुढाथोकीको राजनीति जीवन वि.स.२०१५ को नेपाल अधिराज्यमा भएको पहिलो आम चुनावमा झापा जिल्लाको नेपाली कांग्रेसको सांसदमा आइपुग्यो । त्यो चुनावमा नेपाली कांग्रेसले दुई–तीन दुईतिहाइ मत ल्याएर जित्यो । प्रधानमन्त्री वीपी कोइराला भए । चुनावी सरकारले राम्रै काम गर्दै थियो । तर, वि.स २०१७ पुस १ गते राजा महेन्द्रले संसद भङ्ग गरेर नेपाली कांग्रेसको नेताहरू लगायत अन्य राजनीति दलका नेताहरूलाई जेल हाल्ने काम भयो । प्रधानमन्त्री वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई थुनिए । धेरैजसो नेताहरू भारतमा पलाएन भएर गए । त्यो बेला सुर्वणशम्शेर भारतमा नै थिए । उनले फेरि राजा महेन्द्रले चलाएको अप्रजान्त्रिक कदमका विरुद्ध सशस्त्र जनक्रान्ति गर्ने निधो गरे । फत्तेबहादुर बुढाथोकीले पनि राजाको कालो कर्तुतका विरुद्ध सशस्त्र जनक्रान्ति गर्ने निधो गरे । फत्तेबहादुर बुढाथोकी पनि राजाको कालो कर्तुतका विरुद्धमा भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । उनी भारतमा निर्वासनमा रहेर फेरि प्रजातन्त्रको लागि लड्न गए ।

यता मुलुकभर नेपाली कांग्रेस र कम्युनिस्ट नेताहरूलाई राजाको कदमको समर्थन गर्न लगाइएको थियो । तर, फत्तेबहादुर बुढाथोकीले प्रजातन्त्रको हत्या गर्ने राजाको निरङ्कुश शासनको समर्थन गरेनन् उनी आठ बर्ष निर्वासनमा रहे । उनको अंश सर्वश्व गरेर तत्कालीन सरकारले लियो । प्रजातन्त्र पुनः प्राप्तिका लागि उनले आफ्नो अंश सर्वस्व भएको पनि खपे । तर, पञ्चायति सरकारको समर्थन गरेनन् । आठ वर्षपछि वीपी कोइराला लगायत नेपाली कांग्रेसका नेताहरू जेलमुक्त भए । अन्य नेताहरुलाई पनि आम माफी भयो । आठ बर्ष निवार्सनमा रहेका फत्तेबहादुर बुढाथोकी पनि झापा सन्सरेको घरमा आए । केही बर्ष सादा जीवन बिताएर प्रजातान्त्रिक आस्थामा अटल रहेर झापाको घरमा नै बसे । वीपी कोइराला जेलबाट छुटेपछि भारत गए । केही समय त्यहाँ बसेपछि फेरि सशस्त्र क्रान्ति गर्ने निधो गरे । त्यही सिलसिलामा धुलाबारी, सहरेडाँगी आदि झापाका विभिन्न ठाउँमा सशस्त्र क्रान्तिका लागि भारतबाट ल्याएर राखेका हातहतियार गोलीगठ्ठा सरकारले फेला पा¥यो । त्यसको दोष फत्तेबहादुर बुढाथोकी लगायत झापाका प्रजातन्त्रवादीहरूलाई लगाइयो । त्यो थाहा पाएर फेरि उनी भागेर भारतमा गए । त्यहाँ उनले चार वर्ष निर्वासित जीवन बिताए ।

यसरी फत्तेबहादुर बुढाथोकी (जसलाई सन्सरेमा आई.जि. साहेब भन्थे) विद्यार्थी जीवनदेखि नै धरणीधर कोइराला, महानन्द सापकोटा, आदिका प्रजातान्त्रिक विचारबाट प्रभावित भएर आजीवन नेपाली कांग्रेस पार्टीमा आबद्ध भए । प्रजातान्त्रिक मूल्य र मान्यताविरूद्ध कहिले पनि कसैसँग सम्झौता गरेनन् । उनले जीवनभर प्रजातन्त्रप्रतिको आस्था छोडेनन् । जस्तोसुकै आर्थिक संकटमा पनि उनी प्रजातन्त्रप्रति अटुट आस्था राख्ने झापाका अथक राजनीतिज्ञ थिए । वि.स. २०३६÷०३७ को जनमत संग्रहमा उनी बहुदलको पक्षमा खरो उत्रिए । ठूला–ठूला सभा, समारोह उनका घरमा नै हुन्थे । उनको विचार ज्यादै उदार थियो । उनी नेपाली कांग्रेसको नीति बाहिर कहिल्यै भएनन् । पञ्चायती सरकारले ठूलै प्रलोभन देखाउँदा पनि तिनलाई लत्याएर प्रजातन्त्र प्राप्तिका लागि वैचारिक लडाई लडिरहे । यस्ता सचेतनका अगुवा सुधारक, शिक्षाप्रेमी, नेपाली कांग्रेसका अथक योद्धा, सक्रिय नेता बुढाथोकीले बहुदलको पुनःस्थापना मुलुक देख्न पाएनन् ।

वि.स. २०४५ को विजय दशमीको महादशमी तिथिका दिन उनको आफ्नै निवास सन्सरेमा स्वर्गारोहण भयो । यस्ता अथक प्रजातन्त्र पे्रमी व्यक्तिको निधनमा सन्सरे बजार रोयो, यस क्षेत्रका तमाम प्रजातन्त्र पे्रमी जनताहरू रोए । नेपालको प्रजातान्त्रिक आन्दोलन रोयो । उनले प्रजातन्त्रभन्दा केही चाहेनन् । राणाशासनको जर्जर अवस्थाबाट नेपाली जनतालाई उन्मुक्ति दिलाउने नेताहरू मध्ये बुढाथोकी पनि अग्रपंक्तिमा उभिने व्यक्ति थिए । उनले मुलुकमा प्रजातन्त्र स्थापना गर्न गरेको त्याग र बलिदानपूर्ण संघर्ष अजर–अमर रहने छ । यस्ता कर्म, विचारका चिन्तक जनताका हकहितका लागि जीवनभर काम गर्ने व्यक्तिको निधनमा यो कलम पनि रोएको छ । हार्दिक श्रद्धाञ्जलि फत्तेबहादुर दाइ भन्न चाहन्छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here